BIZMANDU
www.bizmandu.com

कीर्तिपुरको क्रिकेट रंगशाला स्तरोन्नती गर्दै क्यान, इन्डोर र आउट फिल्डको संरचना पनि सुधारिँदै

२०८१ असोज ४

कीर्तिपुरको क्रिकेट रंगशाला स्तरोन्नती गर्दै क्यान, इन्डोर र आउट फिल्डको संरचना पनि सुधारिँदै
कीर्तिपुरको क्रिकेट रंगशाला स्तरोन्नती गर्दै क्यान, इन्डोर र आउट फिल्डको संरचना पनि सुधारिँदै


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको स्तरोन्नती गरिरहेको छ। नेपाली क्रिकेटको ‘होम’ मानिने यो मैदानमा अहिले पिचदेखि बाउन्ड्रीलगायतका विभिन्न संरचनाहरुमा काम भइरहेको छ।

Tata
GBIME
NLIC

पछिल्लोपटक सरकार र क्यानको नेतृत्व क्रिकेट मैदान स्तरोन्नतीका लागि तीव्र गतिले काम गरिरहेका छन्।

‘नेपाल क्रिकेट संघ (क्यान)ले बर्खाको समय पारेर निर्माण कार्यहरु गरिरहेका छौं,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘टीयु क्रिकेट मैदानमा आगामी सिजनका लागि पुरानो पिचलाई नयाँ माटोहरु राखेर नयाँ क्युरेटरहरु राखेर नयाँ बनाएका छौं। अर्को महिनासम्म यो पिच खेल्न योग्य हुन्छ।’

यसक्रममा पुरानो पिचको पाँच इन्ची माटोलाई हटाएर नयाँ माटो थपेर त्यसलाई तयार गरिएको छ। त्यस्तै आउट फिल्डको उभडखावड क्षेत्रमा बालुवा थपेर लेभलिङ गर्ने काम पनि धमाधम चलिरहेको छ।

त्यस्तै बाउन्ड्रीलाइनलाई यसपाला बढाएर पछाडी धकेलिएको छ।

‘अब यहाँको बाउन्ड्री पनि ठूलो हुनेछ। दर्शक दीर्घामा पनि केही सेगमेन्टहरु तारबार गरेका छौं। जसले गर्दा भीड हुँदा सुरक्षामा सहज हुन्छ भन्ने अपेक्षा राखेका छौं। साइड स्क्रिनले ठूलो स्पेस खाइरहेको छ। यसलाई पछाडि लगेर व्यवस्थित गर्ने गरि काम गरेका छौं,’ प्रवक्ता लामाले भने।

त्यसबाहेक मैदान बाहिर नेटमा अभ्यास गर्ने स्थान र इन्डोरमा पनि स्तरोन्नती चलिरहेको छ।

‘नियमित अभ्यास गरिरहेको नेटमा त्यो पर्याप्त नभएर पाँचवटा टर्फ विकेट निर्माण कार्य अन्तिममा पुगेको छ। त्यसमा पनि अझ दुईवटा थप्ने कुरा भइरहेको छ,’ लामाले भने, ‘हामीसँग एउटामात्र रहेको इन्डोरलाई पनि व्यवस्थित गरेर लाइटिङलगायत थपेर व्यवस्थित गर्दैछौँ। पहिला पनि यहाँ अभ्यास भइरहेको थियो। अझ बढीभन्दा बढी खेलाडीले अभ्यास गर्न सक्नेछन्।’

त्यस्तै, राष्ट्रिय खेलकुद परिषदले पनि डिजिटल स्कोरबोर्ड भनेर टेन्डर आह्वान गरेकोमा निर्माणको अन्तिम चरणमा पुगेको छ। त्यसको तीनतले बिल्डिङमा चाँडै नै डिजिटल स्कोर बोर्ड लाग्ने बताइएको छ।

‘त्यसबाहेक राष्ट्रिय टोलीको अभ्यास गर्दै आएको जिमलाई पनि एक्सपाण्ड गरेर सावरहरु लगायत सबैलाई निर्माण गरिरहेको छ। यो महिनाभित्र पूर्ण हुनेछ,’ लामाले भने, ‘त्यसपछी संघको क्यालेन्डर अनुसार खेल खेल्नेछौं।’

यसबीचमा क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले सिरिजको तयारी भारतमा गरेको थियो। भारतको बेङ्ग्लोरस्थित नेशनल क्रिकेट एकेडेमीमा तीन हप्ता ट्रेनिङ गरेको नेपालले श्रीलंकामा एउटा अभ्यास खेल पनि खेलेको थियो।

नेपाली टोली हाल क्यानडा पुगिसकेको छ। क्यानडामा नेपाली टोलीले ओमन र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्नेछ।

त्यसपछि लगत्तै नेपाली टोलीले यिनै टोलीसँग त्रिपक्षिय टी-२० सिरिज खेलेर अमेरिका प्रस्थान गर्ने तालिका छ। त्यसपछि भने टीयू क्रिकेट मैदान व्यस्त रहने छ।

लिग-२ का घरेलु खेलसँगसँगै इलाइट कप र नेपाल प्रिमियर लिग पनि नजिकिँदै गर्दा यहाँको मैदान व्यस्त रहनेछ।