BIZMANDU
www.bizmandu.com

दसैं तिहारका लागि सुरु भयो सरकारी सहुलियत पसल, ग्राहकलाई केमा कति छुट?

२०८१ असोज ३

दसैं तिहारका लागि सुरु भयो सरकारी सहुलियत पसल, ग्राहकलाई केमा कति छुट?
दसैं तिहारका लागि सुरु भयो सरकारी सहुलियत पसल, ग्राहकलाई केमा कति छुट?

काठमाडौं। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैं तिहार र छठ पर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालनमा ल्याएको छ।

Tata
GBIME

दाल चामल तेल गेडागुडी लगायत खाद्यन्नमा प्रति किलो ५ देखि ७ रुपैयाँ छुट दिने गरी सहुलियत पसल सञ्चालनमा ल्याइएको हो।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सहुलियत पसल उद्घाटन गरे। सुपथ मूल्य पसल फागु पूर्णिमासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

कम्पनीले देशभर ४२ जिल्लाका ६३ वटा बिक्री कक्षबाट ग्राहकलाई छुट उपलब्ध गराउनेछ। सहुलियत पसल शुभारम्भका अवसरमा कम्पनीले प्लस एफ (फाेर्टिफाइड) राइस प्लान्ट सञ्चालनमा ल्याएको छ।

कम्पनीले चामल, दालमा प्रति किलो ५ रुपैयाँ छुट दिने जनाएको छ। यस्तै उपभोक्ताले तेल लिटरमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रति किलो ७ रुपैयाँ छुट पाउनेछन्।

कर्णालीको सिमी/गेडागुडी, फापर, चिनो, कागुनोमा प्रति किलो ७ रुपैयाँ छुटको व्यवस्था मिलाएको कम्पनीले जनाएको छ।

दसैं तिहार लगायत पर्वका बेला व्यापारीले आफूखुशी मूल्य नबढाउन भनेर सरकारले उपभोक्तालाई राहत दिन विगतका वर्ष जस्तै यसपालि पनि सहुलियत पसल सञ्चालनमा ल्याएको हो।

उपभोक्तालाई सहुलियत दिनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ करोड रुपैयाँ छुट्याएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका साथै साल्ट ट्रेडिङले पनि सहुलियत पसल सञ्चालन गर्नेछ।

यस्तै दुग्ध विकास संस्थानका उत्पादन पनि छुटमा पाइनेछ। दुग्धजन्य पदार्थमा प्रति केजी ७ रुपैयाँसम्म छुट छ।

कम्पनीले दसैंमा खसीबोका र च्याङग्रा पनि बेच्नेछ। उपभोक्ताले खसीबोका र च्याङग्रामा प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन्। खसिबोका र च्याङग्रा घटस्थापनादेखि बिक्री गर्ने कम्पनीले जनाएको छ।