BIZMANDU
www.bizmandu.com

सेयर बजारमा निरन्तरको गिरावटले अर्थमन्त्री तनावमा, ‘३ हजारबाट किन २५०० मा आयाे? जवाफ चाहियो’

२०८१ असोज २

सेयर बजारमा निरन्तरको गिरावटले अर्थमन्त्री तनावमा, ‘३ हजारबाट किन २५०० मा आयाे? जवाफ चाहियो’
सेयर बजारमा निरन्तरको गिरावटले अर्थमन्त्री तनावमा, ‘३ हजारबाट किन २५०० मा आयाे? जवाफ चाहियो’

काठमाडौं। सेयर बजारमा आएको निरन्तरको गिरावटलाई लिएर सरकार चिन्तित देखिएको छ। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेपछि डेढ महिनामै ५० प्रतिशत बढेको नेप्से भदौ लागेपछि निरन्तर घटिरहेका कारण सरकार चिन्तित देखिएको हो।

Tata
GBIME

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा डेढ महिनामा भएको उछाललाई नयाँ सरकारप्रतिको भरोसाका रुपमा चित्रण गर्दै आएकामा पछिल्लो एक महिनामा नेप्सेले ४०० अंकभन्दा धेरै गुमाएपछि पौडेलले गिरावटको कारणबारे नियामकसँगै प्रश्न गरेका छन्।

उनले बुधबार नेपाल स्टक एक्सचेन्जमा पुगेर ‘नेप्से ३ हजारबाट किन २५०० मा आयाे?’भनी प्रश्न गरे। राजस्व सचिव दिनेश घिमिरे र नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यबाहक अध्यक्ष महेश बरालसहित नेप्सेमा पुगेका अर्थमन्त्री पौडेलले प्रश्न गर्दै भने, ‘नेप्से ३ हजारबाट किन २५०० मा आयाे? म जवाफ खाेज्न आएकाे हुँ।’

अर्थमन्त्री विष्णु पौडेल नेप्सेमा

असार १७ पछि नेप्से ९४७ अंकले बढेर साउन ३१ गते ३००० विन्दु पुगेको थियो। यस्तै साउन महिनामा सबै कारोबार दिन १० अर्बभन्दा माथिको कारोबार भएको थियो। साउन ३१ गते अहिलेसम्मकै सर्वाधिक २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो। तर, भदौ लागेपछि एकातिर नेप्सेमा निरन्तर गिरावट आइरहेको छ भने अर्कातिर कारोबार रकम साढे ५ अर्बमा झरेको छ।

अर्थमन्त्री पौडेलले नेप्से सूचकसँगै कारोबार रकममा आएको गिरावटबारे पनि जवाफ मागेका छन्।

‘३० अर्ब हाराहारीमा पुगेकाे काराेबार ५ अर्बमा आयाे। नेप्से २०४० विन्दुबाट ३००० पुगेकामा अहिले अहिले २५०० मा आएकाे छ। नेप्सेमा किन भाेलाटायल भयाे? याे प्रश्नकाे जवाफ खाेज्न आएकाे हुँ। याे जवाफ नपाएसम्म साेधिरहन्छु,’ उनले भने, ‘याे प्रश्नको जवाफ म आफैंसँग खाेज्छु। सचिवसँग खाेज्छु। नेप्सेका कर्मचारीसँग खाेज्छु।’

अर्थमन्त्री पौडेलले सरकार पुँजी बजारकाे दिगाे र विश्वसनीय विकासकाे पक्षमा रहेको भन्दै आवश्यक कदम चाल्नका लागि ढिलाइ गर्न नहुने बताए।

‘सरकार पुँजी बजारकाे दिगाे र विश्वसनीय विकासकाे पक्षमा छ। दिगाे, भरपर्दाे र विश्वसनीय कसरी हुने भन्ने प्रश्न हाम्रासामु छ,’ उनले भने, ‘नेप्सेका काम कारबाहीबारे जान्नका लागि आउने चाहना थियाे। पुँजी बजारमा अहिले जस्ताे ट्रेन्ड देखियाे यसले चाल्नुपर्ने कदमबारे ढिलाे गर्नुहुन्न भन्ने लागेर साथीहरू लिएर आएँ।’

उनले इन्साइडर ट्रेडिङ र कर्नरिङबारे पनि नेप्सेका अधिकारीसामु प्रश्न गरे। ‘इन्साइडर ट्रेडिङकाे विषय, कर्नरिङकाे विषय र सामाजिक सञ्जालमा बजारलाई घटाउने प्रवृत्तिले कति काम गरेकाे छ?,’ उनले प्रश्न गरे।

त्यसअघि नेपाल स्टक एक्सचेन्जका अध्यक्ष शोभाकान्त पाैडेलले बजारमा निगरानी बढाउन आवश्यक भएको बताएका थिए भने सेबोनका कार्यबाहक अध्यक्ष बरालले फ्रन्ट रेगुलेटरका नाताले नेप्सेले नै निगरानी गर्नुपर्ने धारणा राखे।

‘बजारकाे निगरानी जुन निकायले गरे पनि हुन्छ। तर, सेबाेनभन्दा पहिले नेप्से आएकाले उसले निगरानी गर्दा हुन्छ,’ उनले भने, ‘बजारमा हुने बद्‍मासी निगरानी गर्ने प्रविधि नेप्सेले बनाउनु पर्छ। साथै सरकारले नेप्सेकाे पुनर्संरचना गर्नुपर्छ।’

राजस्व सचिव घिमिरेले बजारमा सुधारका लागि सरकारले आवश्यक कदम चाल्ने बताए। ‘बजारमा सुधारका लागि गर्नुपर्ने काममा सरकार अघि बढ्छ,’ उनले भने।