BIZMANDU
www.bizmandu.com

चक्रपथको दोस्रो खण्ड विस्तारको काम ६ महिनाभित्र सुरु हुने, तीन स्थानमा अन्डरपास

२०८१ भदौ २५

चक्रपथको दोस्रो खण्ड विस्तारको काम ६ महिनाभित्र सुरु हुने, तीन स्थानमा अन्डरपास
चक्रपथको दोस्रो खण्ड विस्तारको काम ६ महिनाभित्र सुरु हुने, तीन स्थानमा अन्डरपास


काठमाडौं। चिनियाँ अनुदान सहयोगमा चक्रपथको दोस्रो खण्ड कलंकीदेखि बसुन्धारा पुलसम्म साढे ८ किलोमिटर सडक विस्तारको काम ६ महिनाभित्र सुरु हुने भएको छ।

Tata
GBIME
NLIC

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँगको भेटवार्तामा नेपालका लागि चिनियाँ राजदुत छन् सोङले ६ महिनाभित्र सडक विस्तारको काम अगाडि बढाउने बताएका हुन्।

‘मन्त्रीज्यूसामु राजदूतले ६ महिनाभित्र कन्स्ट्रक्सनको फेजमा जाने योजना रहेको बताउनुभएको छ,’ मन्त्रालय स्रोतले भन्यो।

मन्त्री दाहालले गत बिहिबार राजदूतलाई मन्त्रालयमा बोलाएर चक्रपथको दोस्रो खण्ड विस्तारको काम सक्दो चाँडो अगाडि बढाउन आग्रह गरेका थिए।

मन्त्रालयका एक सहसचिवका अनुसार राजदूत सोङले मन्त्री दाहाललाई अबको ६ महिनामा काम सुरु गर्ने योजना अनुरुप निर्माण कम्पनीका प्राविधिकहरु चाँडै नेपाल आउने बताएका छन्। चिनियाँ टोली दसैं अगाडि नै आउने भनिएको छ। सडक विस्तारको काम चिनियाँ सरकारी कम्पनीले गर्नेछ।

नेपाल र चीनबीच चक्रपथको दोस्रो खण्ड विस्तार गर्ने विषयमा भदौ ६ गते सम्झौता भइसकेको छ। नेपालका तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनका तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले सम्हझौतामा स्ताक्षर गरेका हुन्।

दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म विस्तार गर्ने भनिएपनि महाराजगञ्ज चोकका घर सरकारले भत्काउन नसकेपछि बसुन्धारा पुलसम्म मात्र विस्तार गरिने भएको हो।

चीनले चक्रपथको कोटेश्वर-कलंकी खण्ड यसअघि नै विस्तार गरिसकेको छ। साढे १० किलोमिटर यो खण्डमा २०६९ मा सुरु गरिएको काम २०७५ मा सम्पन्न भएको थियो।

माइतीघर-सूर्यविनायक जस्तै सडक बन्ने

सडक पहिलो खण्डजस्तै ८ लेनको हुनेछ। बीचमा ३ मिटरको मेडियन हुनेछ। यसअघिको विस्तारमा मेडियन थिएन। जसले गर्दा कतिपय स्थानमा मानिसलाई क्रस गर्न समस्या हुने गरेको छ। यस्तै ओभरहेड ब्रिज पनि कम छन्।

पहिलो खण्डमा देखिएका कमजोरी नदोहोरिने गरी सडक विस्तार गरिने मन्त्रालयका प्रवक्ता शुशीलबाबु ढकालले बताए। ‘पहिलो खण्डमा भएका गल्ती अब दोहोरिने छैन,’ उनले भने, ‘दोस्रो खण्ड माइतीघरदेखि सूर्यविनायकसम्मको सडक जस्तै हुने छ। हामीले पठाएको डिजाइन अनुसार नै सम्झौता भएको छ।’

यस्तै ड्रेन र बस स्टप पनि हुने छन्। यसअगाडि विस्तार गरिएको पहिलो खण्डमा बस स्टपका लागि स्टेसन छैन।

यस्तै ३ वटा अन्डरपास निर्माण गर्ने योजना रहेको ढकालले जानकारी दिए। उनका अनुसार बनस्थली, बालाजु र बसुन्धारामा अन्डरपास निर्माण गरिनेछ।