BIZMANDU
www.bizmandu.com

ऋणको सुस्ततालाई अटो कर्जाले गर्ला त सपाेर्ट? बैंकहरु माग वृद्धिको लगाउँदैछन् हिसाब

२०८१ भदौ २४

ऋणको सुस्ततालाई अटो कर्जाले गर्ला त सपाेर्ट? बैंकहरु माग वृद्धिको लगाउँदैछन् हिसाब
ऋणको सुस्ततालाई अटो कर्जाले गर्ला त सपाेर्ट? बैंकहरु माग वृद्धिको लगाउँदैछन् हिसाब


काठमाडौं। दुई वर्षयता आर्थिक गतिविधि बढ्न नसक्दा कर्जा प्रवाह सुस्त देखिएको छ। पर्याप्त तरलता र केन्द्रीय बैंकले लिएको लचिलो नीतिका कारण चालु आर्थिक वर्षको सुरुदेखि कर्जा बढ्ने अपेक्षा गरिएको थियो। त्यसअनुसार कर्जा विस्तार भने हुन सकेको छैन।

Tata
GBIME
NLIC

बरु, राजनीतिक समीकरण फेरिएसँगै सेयरबजारमा केही उत्साह बढेको छ। सेयरबजारमा देखिएको उत्साहबीच अटो र होम लोनका लागि बैंकहरूले ल्याएको ७ प्रतिशत स्थिर ब्याजदरले कर्जा बढ्ने आकलन गर्न थालिएको छ।

भृकुटीमण्डपमा गत साता सम्पन्न नाडा अटो शोमा ४ हजारभन्दा बढी गाडी बुकिङ भएको छ। करिब १५ अर्बको गाडी बुकिङ हुँदा त्यसले कर्जाको माग बढाउने र अर्थतन्त्र चलायमान गर्न मद्दत पुग्ने आकलन गरिएको हो।

बैंकहरूले ७ प्रतिशतको स्थिर ब्याजदरमा अटो कर्जा ल्याउँदा समेत ऋणको माग उत्साहजनक छैन। नाडामा गाडी बुकिङ गरेका ग्राहक बल्ल बैंकमा ऋण लिने प्रक्रियामा जान थालेकाले उत्साहजनक नभएको हो। सस्तो ब्याजदरसहितको स्किम ल्याएका बैंकमा ग्राहक जान थालिसकेका छन्।

नाडा अटो शोमा ४/५ हजार गाडी बुकिङ भए भनेपनि कर्जा लिनेहरू नदेखिएका उनीहरूको भनाइ छ। १४/१५ अर्बको गाडी बुकिङ भयो भनिरहँदा अटाे कर्जाको माग केही भने बढ्न थालेकाे छ।

हाल वाणिज्य बैंकहरूमा सबैभन्दा कम ७‍.७७ प्रतिशत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले ७ वर्ष अवधिको अटो कर्जा दिइरहेको छ। यो अन्य बैंकका तुलनामा बजारमा ग्राहकका लागि आकर्षक योजना हो। सस्तो ब्याजदरको यो स्किमले अटो लाेनको माग बढ्न थालेकाे राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनाल बताउँछन्।

उनका अनुसार पर्याप्त तरलताका कारण स्थिर ब्याजरकाे स्किमले अटाे कर्जाका साथै हाेम लाेन र मार्जिन प्रकृतिको कर्जाको डिमान्ड बढ्न थालेको छ।

नबिल बैंकले ५ वर्ष र ७ वर्ष अवधिका लागि अटो लोनको स्किम ल्याएको छ। बैंकले ५ वर्ष अवधिको अटो लोन ८.२५ प्रतिशत र ७ वर्ष अवधिको कर्जा ८.४९ प्रतिशतमा दिइरहेको छ।

अटो लोनको स्किमले कर्जाको माग केही बढ्न थालेपनि अपेक्षाजनक भने नदेखिएको नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली बताउँछन्। उनका अनुसार बैंकहरूबीच एक अर्को कर्जा खोसाखोस प्रवृत्ति बढे पनि नयाँ कर्जाको माग भने बढ्न सकेको छैन।

‘साउन महिनामा वाणिज्य बैंकहरूबाट कुल २ अर्बले कर्जाको ग्रोथ भयो। भदौमा पहिलो सातातिर सेयर कर्जा बढी थियो,’ उनले भने, ‘अहिले होम लोन र अटो लोनको स्किमले कर्जाको माग केही बढेको देखिए पनि अपेक्षाजनक भने भइसकेको छैन।’

वाणिज्य बैंकहरूमध्ये अटो कर्जा प्रवाहमा नबिल बैंक दोस्रो नम्बरमा छ। २०८१ असार मसान्तसम्म बैंकले यस क्षेत्रमा १० अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सोही अवधिमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै १३ अर्ब ९७ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ। ग्लोबल आइएमई बैंकले नाडा अटो शोलक्षित गरी ७.९९ प्रतिशत ब्याजदरमा अटो लोन स्किम ल्याएको थियो।

ग्लोबल आइएमई बैंकका डेपुटी सीइओ सुमन पोखरेल नाडा अटो शोलाई लक्षित गरेर ल्याइएको स्किममा २/३ सय जनाले कर्जाको माग गरेको बताए। उनका अनुसार ती माग गरिएका कर्जा प्रक्रियामा छ।

‘नाडा अटो शोलाई मध्यनजर गर्दै अटो कर्जाको स्किम ल्याएका थियौँ। २/३ सय जनाले कर्जा लिने भनेर रजिष्ट्रेसन गरेका छन्,’ उनले भने, ‘त्यसमा पनि कर्जा कतिले लिन्छन्। रजिष्ट्रेसनलाई आधार मान्दा एक/डेढ अर्बको कर्जाको माग भएको देखिन्छ।’

माग गरेकोमा कति कर्जा गयो भनेर १०/१५ दिनपछि मात्रै यकिन हुने पोखरेलले बताए।