BIZMANDU
www.bizmandu.com

चिनियाँ कम्पनी चेरीले बेलायतमा कार निर्माण गर्ने, अन्तिम निर्णयका लागि उचित समय कुर्दै

२०८१ भदौ २४

चिनियाँ कम्पनी चेरीले बेलायतमा कार निर्माण गर्ने, अन्तिम निर्णयका लागि उचित समय कुर्दै
चिनियाँ कम्पनी चेरीले बेलायतमा कार निर्माण गर्ने, अन्तिम निर्णयका लागि उचित समय कुर्दै


चिनियाँ कार कम्पनी चेरीले बेलायतमा कार निर्माण गर्ने सम्भावनालाई नियालिरहेको छ। कम्पनीका एक वरिष्ठ कार्यकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीका बेलायत प्रमुख भिक्टर झाङले अन्तिम निर्णय गर्नका लागि कम्पनीले समय पर्खिरहेको बताए।

स्पेनमा कार निर्माण गर्ने तयारी गरिरहेको चेरीले युरोपेली बजारमा स्थानीयकृत उत्पादनलाई बढावा दिन चाहिरहेको उनले बताए। झाङले कम्पनीको निर्यातलाई अनुचित अनुदानबाट फाइदा भएको भन्‍ने कुरालाई अस्वीकार गरे।

युरोपमा बिक्रीका लागि ल्याइने कारहरू हाल पूर्वी चीनको वुहुमा रहेको चेरीको मुख्य कारखानामा निर्माण गरिन्छन्। तर छिट्टै यो अवस्था परिवर्तन हुने अपेक्षा गरिएको छ।

स्पेनमा कार निर्माण गर्नका लागि चेरीले इभी मोटर्ससँग सम्झौता गरिसकेको छ। जसअन्तर्गत बार्सिलोनास्थित यसअघिको निसान फ्याक्ट्रीमा चरीका ओमोडा र जाइको निर्माण हुनेछन्।

यससँगै चेरीले अन्य स्थानमा पनि कारखाना खोल्ने योजना अघि सारेको हो। यस वर्षको सुरुमा कम्पनीले बेलायत पनि कारखाना खोल्नका लागि विकल्प हुन सक्ने बताएको थियो। सोही विकल्पलाई कम्पनीले आत्मसाथ गर्ने भएको छ।

‘बार्सिलोनाका लागि हामी कटिबद्ध भइसकेका छौँ,’ झाङले भने, ‘बेलायतका लागि पनि हामीले अध्ययन गरिरहेका छौँ। साच्चै भन्ने हो भने हामी सबै विकल्प र अवसरहरूका लागि खुला छौँ।’

सन् १९९७ मा स्थापना भएको चेरी चीनको सबैभन्दा ठूला कार कम्पनीमध्येको एक हो। चेरी चीनको सबैभन्दा ठूलो सवारी साधन निर्यातकर्ता हो। उसले यसलाई अझ विस्तार गर्ने महत्वाकांक्षी योजनाहरू अघि सारेको छ।

उक्न योजनालाई अगाडि बढाउन चरीले अन्तर्राष्ट्रिय बजारमा पूर्ण रूपमा केन्द्रित दुई नयाँ ब्रान्डहरू ओमोडा र जाइको स्थापना गरेको छ।

गत महिना ओमोडा आधिकारिक रूपमा बेलायतमा सार्वजनिक गरिएको थियो। कम्पनीले मुख्य एसयूभीको रुपमा रहेको ओमोडा ५ लाई इलेक्ट्रिक र पेट्रोलबाट चल्ने दुवै संस्करणमा बेच्न थालेको छ।

कम्पनीले बेलायतमा ६० डिलरसिपहरूको नेटवर्क निर्माण गरेको छ भने वर्षको अन्त्यसम्म १०० भन्दा बढी पुग्ने आशा राखेको छ।

विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माताको उपाधिका लागि टेस्लासँग प्रतिस्पर्धा गरिरहेको बीवाइडीले पनि बेलायत दर्जनौँ डिलरसिपहरू खोलेको छ।

साइक पनि यसअघि नै बेलायतमा स्थापित कम्पनी हो, जसले क्लासिक ब्रिटिश एमजी मार्क अन्तर्गत कारहरू बिक्री गर्दै आइरहेको छ।