BIZMANDU
www.bizmandu.com

पर्यटन बोर्डमा ७ महिनापछि नयाँ सीइओ, पुनः नियुक्त जोशीले गरे पदभार ग्रहण

२०८१ भदौ २३

पर्यटन बोर्डमा ७ महिनापछि नयाँ सीइओ, पुनः नियुक्त  जोशीले गरे पदभार ग्रहण
पर्यटन बोर्डमा ७ महिनापछि नयाँ सीइओ, पुनः नियुक्त जोशीले गरे पदभार ग्रहण


काठमाडौं। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त दीपकराज जोशीले आइतबार पदभार ग्रहण गरेका छन्।

Tata
GBIME
NLIC

पदभार ग्रहणपछि सीइओ जोशीले आपसी सहकार्यबाटै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बोर्ड सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकै कारण त्यसको उद्देश्यअनुसार काम गर्न आवश्यक रहेको उनले बताए।

‘पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो। अर्कोतर्फ पर्यटन बोर्ड पीपीपी मोडल हो। निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको छ,’ उनले भने, ‘त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडि लैजानु आजको आवश्यकता हो।’

आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृतिविकास जस्ता कार्य प्राथमिकतामा रहने उनले बताए।

बोर्डले सात महिनापछि नेतृत्व पाएको हो। यसअघिका सीइओ धनञ्जय रेग्मीको कार्यकाल गत माघ दोस्रो साता सकिएको थियो।

बोर्ड कर्मचारी युनियनका तर्फबाट स्वागत गर्दै अधिकृत सुदन सुवेदीले लामो समयदेखि रोकिएको कर्मचारीको वृतिविकास योजना अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।

बोर्ड कार्यकारी समितिको गत बिहीबारको ३७९ औं बैठकले जोशीलाई ४ वर्षका लागि कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो। जोशीले यसअघि २०७२ पुस पहिलो सातादेखि ४ वर्षसम्म पनि बोर्डको सीइओको रुपमा काम गरेका थिए।