BIZMANDU
www.bizmandu.com

दसैंका लागि निजी क्षेत्रले २२ हजार खसीबोका र ५ हजार च्याङ्ग्रा ल्याउने

२०८१ भदौ २३

दसैंका लागि निजी क्षेत्रले २२ हजार खसीबोका र ५ हजार च्याङ्ग्रा ल्याउने
दसैंका लागि निजी क्षेत्रले २२ हजार खसीबोका र ५ हजार च्याङ्ग्रा ल्याउने

काठमाडौ। दसैंलाई लक्षित गर्दै निजी क्षेत्रले २२ हजार वटा खसीबोका उपत्यकाको बजारमा ल्याउने भएका छन्। हरेक वर्ष दसैंका लागि सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र निजी क्षेत्रले ठूलो संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गरि बिक्री गर्दै आएका छन्।

Tata
GBIME

यस पटक पनि गत वर्षकै हाराहारीमा खसीबोका ल्याउने निर्णय भएको चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष जनकराज खड्काले बताए। कारोबारको अवस्था भने उत्साहजनक नभएको उनको भनाइ छ।

‘अघिल्लो वर्षदेखि दसैंको समयमा खसीबोकाको बिक्री कम हुँदै गएको छ। गत वर्ष २० देखि २२ हजारको हाराहारीमा खसिबोका खरिद गरेर बिक्री गरिएको थियो,’ उनले भने, ‘यो दसैंलाई पनि सोही परिमाणमा ल्याएर बिक्री गर्ने निर्णय गरिएको छ।’

संघले गत वर्षदेखि खसीबोका बिक्रीको परिमाण कम गर्न थालेको हो। पहिले दसैंलक्षित गरी ३५ हजारदेखि ५० हजार वटा खसीबोका ल्याएर बिक्री गर्ने गरेको थियो।

यसपटक ५ हजार वटा च्याङ्ग्रा ल्याइने अध्यक्ष खड्काले बताए। च्याङ्ग्राको संख्या भने यो वर्ष वृद्धि भएको हो। ‘गत वर्ष ३ हजार भेडाच्याङ्ग्रा ल्याइएको थियो। दसैंमा च्याङग्राको भाउ घट्ने देखिएको छ,’ उनले भने।

यसपाली मनाङ, मुस्ताङका साथै रसुवा र तातोपानी नाकाबाट पनि च्याङ्ग्रा आउने भएकाले गत वर्षको भन्दा परिमाण बढाइएको उनले बताए। स्वदेशीसँगै तिब्बतका च्याङ्ग्रा आउने भएकाले उपभोक्ताले पोहोरको दसैंको भन्दा बढी मूल्य हालेर च्याङ्ग्रा खरिद गर्न नपर्ने उनको भनाइ छ।

खसीबोकाको मूल्य पनि हालको भन्दा माथि नजाने संघले जनाएको छ। यतिबेला चौपाया खरिद बिक्री संघमा जिउँदो खसीबोकाको मूल्य प्रति केजी ६६० रुपैयाँ छ। मौसम राम्रो र बाटो सहज भए भाउ नबढ्ने आकलन भइरहेको छ।

दसैंका लागि घटस्थापनादेखि मात्र विभिन्न जिल्लाबाट उपत्यकाको बजारमा खसीबोका आइपुग्ने भएको छ। स्वदेशी उत्पादनले बजारलाई पुग्ने देखिएकाले भारतबाट आयातित खसीबोका बजारमा आउने सम्भावना कम भएको अध्यक्ष खड्काले बताए।

उपत्यकामा दसैंका लागि खाद्य कम्पनीले पनि १५ सय वटा खसीबोका र ३ सय वटा च्याङग्रा खरिद गर्ने निर्णय गरेको छ। व्यापारी, सरकारी कम्पनीबाहेक पनि बजारमा किसानले आफैं पनि खसीबोका ल्याएर बिक्री गर्छन्।