BIZMANDU
www.bizmandu.com

नेप्से ३००० विन्दु पुगेपछि सेयर बजारमा किन भइरहेको छ तिव्र उतारचढाव ?

२०८१ भदौ २१

नेप्से ३००० विन्दु पुगेपछि सेयर बजारमा किन भइरहेको छ तिव्र उतारचढाव ?
नेप्से ३००० विन्दु पुगेपछि सेयर बजारमा किन भइरहेको छ तिव्र उतारचढाव ?

काठमाडौं। नेप्सेले असार १७ गतेपछि साउन ३१ गतेसम्म बुलिस ट्रेन्ड समात्यो। डेढ महिनामै नेप्से परिसूचक २०५३ बाट ४६ प्रतिशत अर्थात ९४७ अंकले उकालो लागेर ३००० ‍विन्दुमा पुग्यो। ३३ कारोबार दिनमा ७ दिन बाहेक बजार बढ्यो।

Tata
GBIME

कारोबार र बुलिस रफ्तारले बजार पुँजीकरण झण्डै १५ खर्ब रुपैयाँले बढ्यो। कारोबार रकममा एकै महिना ५ पटक रेकर्ड ब्रेक भयो।

साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँ सेयर किनबेचसहित कारोबार रकमले ऐतिहासिक उचाई लियो। सेयर बजारमा डेढ महिनासम्म देखिएको कारोबार र सूचकको प्रवृत्ति अहिले फेरिएको छ।

त्यसयता बजारमा निरन्तर उतारचढाव देखिएको छ। साउन अन्तिममा तीन वर्षयताकै उच्च विन्दुमा पुगेको नेप्से दुई सातामै २७२ अंकले घटेर भदौ २० गते २७२७ अंकमा झरेको छ।

भदौमा १२ दिन सेयर कारोबार हुँदा ७ दिन घटेको छ। यो साता नेप्से आइतबार ५३.६३ अंकले घट्दा सोमबार १२७ अंकले बढ्यो। मंगलबार ६.९४ अंकले उकालो लाग्दा बुधबार फेरि ९०.७३ अंकले ओरालो लाग्यो। बिहीबार नेप्से १२.१९ अंकले घट्दा कारोबार रकम ९ अर्ब ६४ करोड रुपैयाँमा सीमित भयो।

साउन २ यता दैनिक १० अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएकामा बिहीबार डेढ महिनायताकै कम कारोबार भएको हो।

गत महिना तीन वर्षअघिको उचाई नजिक पुगेको नेप्सेमा पछिल्लो साता किन व्यापक उचारचढाव देखिएको हो? बजारका जानकारहरु यसलाई सेयर कारोबारसँग जोडेर हेर्नुपर्ने धारणा राख्छन्।

‘बजारको मुभमेन्टको आधारमा लगानीकर्ता सक्रिय भएको देखिन्छ,’ भिजन सेक्युरिटीका राजकुमार तिमिल्सिनाले भने, ‘अनलाइन टीएमएसबाटै लगानी गर्न सकिने भएका कारण खरिद/बिक्रीकर्ताले आफैं अर्डर हालिरहेका हुन्छन्। जसका कारण बजार ठूलो अन्तरमा तलमाथि भइरहेको छ।’

लगानीकर्ता नाफा बुक गर्नतिर लागेका कारण पनि पछिल्लो दुई साता बजारले स्थिर वृद्धि गर्न नसकेको जानकारहरु बताउँछन्। ‘लगानीकर्ता नाफा बुक गर्नतिर लागेका छन्। त्यसले सेलिङ प्रेसर बढाएको छ। तर, कारोबार रकम भने घट्दै गएको छ। बजारबाट केही पैसा बाहिर गएको संकेत पनि हो,’ एक मर्चेन्ट बैंकरले भने।

असार १७ गते संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता समीकरणको सहमति गरेपछि सेयर बजारमा उत्साह देखिएको थियो। त्यो उत्साहलाई बल पुग्ने गरी साउन दोस्रो साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्यायो। मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा लगाइएको १५ करोड रुपैयाँको सीमा हटाइयो।

यिनै कारण निरन्तर उचाइ लिएर तीन वर्षअघिको विन्दुमा पुगेको नेप्सेमा भदौ लागेपछि भने उतारचढाव देखिएको छ। नेप्सेले २०७८ भदौ २ गते लिएको ३१९९ विन्दुको उचाई यसपालि ब्रेक गर्ने दाबी कतिपयले गरिरहँदा पछिल्लो ओरालो यात्राले निर्धक्क हुने अवस्था छैन।

हुन त अहिले वित्तीय सूचकहरु बजारलाई टेवा पुग्ने खालका छन्। बैंकको ब्याजदर ओरालो लाग्दा कर्जाकै ऋण एकल अंकमा आएको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ।

‘वित्तीय सूचक, सत्ता परिवर्तनसँगै बजारमैत्री अर्थमन्त्रीको आगमन, ब्याजदर लगायत सूचकले बजार एक्कासी उकालो लाग्यो,’ एक विश्लेषकले भने, ‘करेक्सन नआई बढेको बजार दिगो हुँदैन। अहिले त्यही करेक्सन देखिएको हो। आत्तिनुपर्ने केही छैन। अब भनेको बजार उकालो लाग्ने नै हो।’