BIZMANDU
www.bizmandu.com

सुन बजारलाई लागेन तीज, अफर ल्याउँदा पनि ग्राहक नपाएपछि नयाँ गहना बनाउनै बन्द

२०८१ भदौ १८

सुन बजारलाई लागेन तीज, अफर ल्याउँदा पनि ग्राहक नपाएपछि नयाँ गहना बनाउनै बन्द
सुन बजारलाई लागेन तीज, अफर ल्याउँदा पनि ग्राहक नपाएपछि नयाँ गहना बनाउनै बन्द


काठमाडौं। तीज आउन अब ३ दिन मात्रै बाँकी छ। तीजमा थरी-थरीका तयारी गहना किन्ने र रुचि अनुसारका डिजाइनमा गहना बनाउने होड नै चल्छ।

Tata
GBIME

यसकारण पनि तीजताका सुनको माग बढ्छ। हरेक वर्ष सुनचाँदी व्यवसायीहरू तीजका लागि नयाँ-नयाँ डिजाइनका गहना बनाएर बिक्रीका लागि राख्छन्। तर बितेका वर्षजस्तो सुनचाँदी पसलमा यसपटक भने रौनक देखिएको छैन।

सुनको भाउ व्यवसायी र ग्राहकको अनुमानभन्दा उच्च भएको छ। त्यसको सोझो असर बजारमा परेको छ। सुन अत्यधिक महँगो भएकाले व्यवसायीहरू कारोबारमा लगानी बढाउन उत्साहित छैनन्।

पसलहरूमा सुन किनेर गहना बनाउन दिने र तयारी गहना खरिद गर्नेको चाप पनि छैन। त्यसैले सुनचाँदी व्यवसायीहरू बैंकसँग सुन खरिद र नयाँ डिजाइनका धेरै गहना बनाएर बिक्रीका लागि राख्न हच्किएका छन्।

बजारमा ग्राहकको क्रय क्षमता र व्यवहार बुझेकाले अघिल्ला वर्षको जस्तो तीजलक्षित विशेष तयारी नगरेको व्यवसायी बताउँछन्। सुनको कारोबार मूल्य मंगलबार प्रति तोला १ लाख ५२ हजार रुपैयाँ छ।

गत साता भाउ तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँसम्म पुगेको थियो। गत वर्ष यही समयमा सुन तोलाको १ लाख १२ हजार ५०० रुपैयाँ आसपास थियो।

चालु वर्षमा सुनको मूल्य उच्च हुँदै जाँदा कारोबार नै घटेको व्यवसायीहरूले बताएका छन्। नयाँ सुन किनेर गहना बनाउने ग्राहक घट्दा सुनचाँदी व्यवसायी कारोबारमा लगानी बढाउन उचित समय पर्खिरहेका देखिन्छन्।

व्यवसायीले खरिदमा हतार नगर्दा बैंकले आयात गरेको सुन स्टकमा बसिरहेको छ। नेपाल बैंकर्स संघका अनुसार अहिले बैंकहरूसँग १४६ केजी सुन स्टक छ।

साउन अन्तिममा १६३ केजी सुन स्टकमा थियो। एक सातामा १७ केजी मात्र सुन बैंकबाट उठ्यो।

व्यवसायीका अनुसार विगतका वर्ष चाडपर्वको समयमा दैनिक २० किलोभन्दा बढी सुन खपत हुने गरेको थियो। तर अहिले सुनको मूल्य छोइनसक्नु भएकाले किन्ने ग्राहक नपाउँदा व्यवसायीले खरिद गरेर स्टक राख्न छाडेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्य सुनको कारोबार सामान्य रहेको बताउँछन्। ‘तीज आउँदै गर्दा हामी व्यवसायीको केही तयारी त हुन्छ, तर पोहोर परारको जस्तो तीजकै लागि सुन खरिद गरेर नयाँ-नयाँ डिजाइनमा गहना बनाएर राख्नेहरू यसपटक धेरै छैनन्,’ उनले भने।

उनले सुनको कारोबार मूल्य उच्च भएकाले कारोबार धेरै नरहेको बताए। ‘बजारलाई मन्दी लागेको छ,’ उनले भने।

न्युरोडको जेजे ज्वेलर्सका संचालक पवन सोमानिया तीजका लागि यस पटक ठूलो तयारी नगरेको बताउँछन्। ‘सुन सर्वसाधारणको अनुमानभन्दा पनि महँगो भइदियो, त्यसैले केही महिनायता खपत निकै कम छ,’ उनले भने, ‘तैपनि तीजमा कारोबार बढाउन अफरको व्यवस्था गरेका छौं। तर ग्राहक सोचे अनुसार आएका छैनन्।’

उनका अनुसार अहिले गहना बनाउने शुल्क १० प्रतिशत छ। तीजलक्षित अफरमा उक्त शुल्क ७ प्रतिशत राखिएको उनले जानकारी दिए।

पहिले तीज आउन तीन साता अघिदेखि सुनचाँदी पसलहरूमा ग्राहकको चहलपहल हुन्थ्यो। यसपटक चहलपहल निकै कम छ।

पसलमा पुग्ने कतिपय ग्राहक पुराना गहना गालेर नयाँ डिजाइन अर्डर गरिरहेका भेटिन्छन्। यसले गर्दा व्यवसायीहरूसँग भएको सुन बिक्री निकै कम भएको सोमानियाको भनाइ छ।

तीजमा तिलहरी बढी बिक्री हुने गर्छ। ग्राहकले अर्डर दिएर बनाउनुको साटो रेडिमेड गहना खरिद गरिरहेका छन्।

सोमानियाका अनुसार अहिले सस्तो मूल्यमा पाइने पाते सुनको माग छ, जुन १० हजारदेखि १५ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ।

काठमाडौं अर्नामेन्ट्स् तथा सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले तीजका लागि गत वर्षको जस्तो तयारी नभएको बताए। ‘गहना बनाउने अर्डर नगण्य मात्रामा आइरहेको छ। भाउ बढ्दै जाँदा सुनको कारोबारमा असर परिरहेको छ,’ उनले भने।

पहिले जस्तो ग्राहकले चाडपर्वका लागि सुन बनाउन छाडेको उनी बताउँछन्। उनले पनि तीजका लागि ठूलो परिमाणमा नयाँ डिजाइनका गहना बनाएर राखेका छैनन्।

चालु वर्षको बजेटयता नेपाली बजारमा भारतमा भन्दा सुनको भाउ महँगो छ। अहिले नेपालमा भन्दा भारतमा सुनको मूल्य तोलामा करिब १५ हजार सस्तो छ। त्यसको असर पनि नेपाली बजारमा परेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उपत्यका बाहिर जिल्लाका ग्राहकले भारततर्फ गएर सुन खरिद गर्न थालेका छन्। भारतबाट अवैध रुपमा नेपालतर्फ सुन आउँदा बैंकको सुन बिक्री नभएको एक थरी व्यवसायी बताउँछन्।