BIZMANDU
www.bizmandu.com

चिनियाँ राजदूत दम्पतीलाई मनपर्ने गाडी अवतार, साइबरस्टर बिकेको सुन्दा सोङले भने: नेपाली धनी रहेछन्

२०८१ भदौ १३

चिनियाँ राजदूत दम्पतीलाई मनपर्ने गाडी अवतार, साइबरस्टर बिकेको सुन्दा सोङले भने: नेपाली धनी रहेछन्
चिनियाँ राजदूत दम्पतीलाई मनपर्ने गाडी अवतार, साइबरस्टर बिकेको सुन्दा सोङले भने: नेपाली धनी रहेछन्


काठमाडौं। भृकुटीमण्डपमा अहिले नाडा अटोको रमझम छ। चारपांग्रे विद्युतीय गाडी (इभी) को दबदबाबीच भइरहेको अटो शोमा बीवाइडी र डिपल, अवतार, एमजी, नामी जस्ता चिनियाँ ब्रान्डहरुमा दर्शकको नजर छ।

Tata
GBIME
NLIC

अटो शोको अवलोकन गर्न आज चिनियाँ राजदूत छन् सोङ आफ्नी श्रीमतीसहित भृकुटीमण्डपस्थित प्रदर्शनी हल पुगे। एक्स (पहिला ट्वीटर) मा चिनियाँ इभी ब्रान्डको खुलेर प्रचार गर्ने उनी प्रदर्शनीस्थल पुग्दा अधिकांश चिनियाँ ब्रान्डबारे चासो लिँदै सुनिरहेका थिए।

नाडाका पदाधिकारीहरुले हाल अटो शोमा ९० प्रतिशत गाडी इभी रहेको र त्यसमा पनि अधिकांश चिनियाँ इभी रहेको ब्रिफिङ गरेपछि उनी हौसिएका देखिन्थे।

बाइक र स्कुटरको स्टलबाट गाडीको स्टलमा प्रवेश गरेर अवलोकन गरिरहँदा सोङले चासोपूर्वक विभिन्न चिनियाँ ब्रान्डको नाम लिँदै स्टलहरु रहे नरहेको बारे प्रश्न गरेका थिए।

नेपालमा हालसालै भित्रिएको नामी गाडीको स्टल पुग्दा त्यही टाँसिएको स्लोगन ‘बीग ह्याच विथ पाँच स्टार लग्जरी’ लेखेको देखाउँदै सोङले भने, ‘ चिनियाँ गाडीमा क्लास छ। नामी इज इफिसियन्ट।’ केही दिनअघिमात्रै नेपाल भित्रिएको नामी अहिले अटो शोको ‘हट केक’ नै बनेको छ।

धेरै चिनियाँ गाडी हेर्दै अगाडि बढिरहँदा राजदूत सोङ अवतार वान-वान राखिएको स्टल पुगे। अरु समय धेरैजसो पछाडि बसिरहेकी सोङकी श्रीमती अवतारको स्टल आइपुग्दा ‘फ्रन्टलाइन’मा आइन्।

राजदूत सोङले अवतार देखाउँदै भने, ‘यो मेरो श्रीमतीलाई मन पर्ने कार हो।’

त्यसपछि राजदूत दम्पती अवतारभित्र बसे। स्टलका कर्मचारीले कारको बारेमा ब्रिफिङ दिए। बीवाइडी, स्काइवेल, डिपल, जीकर लगायत प्रिमियम ब्रान्डबारे उनले चासो राखेका थिए। अधिकांश ब्रान्डका गाडीमा राजदूत दम्पतीले चढेर ब्रिफिङ सुनेका थिए।

अटो शोमा उनले नेपालमा पछिल्लोपटक भित्रिएका महँगा र प्रिमियम चिनियाँ इभी ब्रान्डको बजारबारे सोङले व्यवसायीहरुसँग प्रश्न गरेका थिए।

त्यसक्रममा मोरिस ग्यारेज (एमजी) ब्रान्डको इलेक्ट्रिक स्पोर्ट्स कार ‘साइबरस्टर’ नेपाली बजारमा भित्रिएको र ‘सोल्डआउट’ भएको भनेर सुन्दा उनले ‘नेपालीहरु धनी रहेछन्’ भनेर प्रतिक्रिया दिएका थिए। सो गाडीको मूल्य १ करोड ६७ लाख ९९ हजार रुपैयाँ छ।

यससँगै नेपालमा चिनियाँ बजार बढ्नेमा आफू आश्वस्त रहेको बताएका थिए। राजदूत सोङले छोटो समयमा नै नेपालमा इभीको बजार बढेको भन्दै खुसी व्यक्त गर्दै आउने दिनमा यसको निरन्तरता रहनेमा विश्वास व्यक्त गरेका थिए।