BIZMANDU
www.bizmandu.com

डेडिकेटेड लाइनको महसुल विवादमा ओलीलाई कांग्रेसले भन्यो- सरकार बक्यौता बिलमा अल्मलिने होइन

२०८१ भदौ ११

डेडिकेटेड लाइनको महसुल विवादमा ओलीलाई कांग्रेसले भन्यो- सरकार बक्यौता बिलमा अल्मलिने होइन
डेडिकेटेड लाइनको महसुल विवादमा ओलीलाई कांग्रेसले भन्यो- सरकार बक्यौता बिलमा अल्मलिने होइन

काठमाडौं। प्रमुख सत्तारुढ नेपाली कांग्रेसले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिने स्पष्ट सन्देश दिएको छ।

Tata
GBIME
Nepal Life

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीमाथि उद्योगीको पक्षमा लागेर नेपाल विद्युत प्राधिकरणलाई कमजोर बनाउन लागेको आरोप लगाएकामा कांग्रेसबाट पनि त्यही आशयको अभिव्यक्ति आएको छ।

महसुल बक्यौता विवादमा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सार्वजनिक लेखा समितिबाट कारबाही गर्न निर्देशन दिन लगाउने ओलीको योजनामा साथ नदिएको कांग्रेसले संसद् बैठकबाटै बक्यौता विवादमा हात हालेर सरकारले गलत गरेको बताएको हो।

प्रचण्डपछि विशेष समय लिएर बोलेका कांग्रेस सांसद एनपी साउदले सरकार विद्युत बक्यौता बिलमा अल्मलिएको बताए। उनले महसुल उठाउने काम प्राधिकरणको भएको र प्राधिकरणले काटेको बिल चित्त नबुझे उद्योगीहरु न्यायका लागि अदालत जान पाउने भन्दै यस विषयमा सरकारले हात हाल्नु सही नभएको बताए।

‘विद्युत बक्यौताका बिलहरुको कुरामा सरकार अल्मलिएको, सरकार फसिरहेको देखिन्छ,’ उनले भने, ‘वास्तवमा गर्ने के हो भने विद्युत प्राधिकरण कसरी सञ्चालन गर्ने भनेर नियम, कानुन नीति बनाइदिने कुरामा सरकार लाग्ने हो।’

साउद नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। ‘कति शुल्क भयो? शुल्कको अवस्था के छ भन्नेबारे यदि प्रश्न उठाउनु छ, अन्याय भएको छ भने उद्योगीले अदालत जानुपर्छ,’ उनले भने, ‘यसमा सरकार संलग्न हुनु हुँदैन। आर्थिक कुरामा क्याबिनेटको तागत प्रयोग गर्नु हुँदैन।’