काठमाडौं । पछिल्लो केही वर्षयता अटो बजार इन्धनबाट विद्युतीय ऊर्जा तर्फ ‘सिफ्ट’ भइरहेको छ। नेपालमा पनि पछिल्लो दुई वर्षयता विद्युतीय गाडी (इभी)ले बजारमा पकड जमाउन सफल भएको छ। त्यसैको उपज होला – यस वर्ष नाडा अटो शोमा अधिंकाश गाडी इभी नै छ। इन्धनको गाडी एउटामात्रै।
पहिला नाडा अटो शोमा इन्धनको सवारीतर्फ आकर्षित हुने जमात धेरै हुन्थ्यो। अहिले त्यही जमात इभीतर्फ ‘ड्राइभ’ भएको छ। त्यसमाथि दशैं आउन लाग्न हुने भएकोले पनि ग्राहकहरुको आकर्षण बढेको देखिन्छ। तर, यसरी आकर्षण बढेको धेरै पनि भएको छैन।
नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठ भन्छन्, ‘हामीले पहिले देखेको र आयोजना गरेको अटो शो भन्दा अहिलेको अटो शो धेरै फरक छ। अहिले हामीले अटो शोलाई एउटा मूख्य आर्थिक गतिविधिको पाटोका रुपमा लिएका छौं। यस अघि त्यसरी अटो शोले हाइट पाउन सकेको थिएन।’
श्रेष्ठका अनुसार पहिला इन्धनको गाडीको दबदबा हुने शोमा यसपटक इभी गाडीको वर्चश्व छ। यस्तै स्टलहरु पनि पहिला भन्दा निकै पृथकलाई ‘आइक्याचिङ’ बन्दै गइरहेको छ।
‘अहिले लगानी नै स्टलमा छ। पहिला त्यो हुँदैन थियो। अटो शोमा आउने ग्राहकहरु स्टल कस्तो छ भन्नेबाट पनि आकर्षित हुन्छ। ब्रान्डको सवाल छ। त्यसैले स्टल निर्माण गर्ने काम पनि पहिलेको भन्दा फरक र थप प्रिमियम बन्दै गएको छ,’ एक व्यवसायीले भने।
यसपटकको अटो शोमा भारतबाट अटो ज्यान्ट कम्पनीको जम्बो टोली पनि नेपाल आउँदैछ। भारतीय बजारमा नपुगेको चिनियाँ इभी ब्रान्डको शो-केस हेर्न उनीहरु आउन लागेका हुन्। चीनबाट पनि यो अटो शोमा सहभागिता हुँदैछ। यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमै नेपाललाई चिनाउन सकिने व्यवसायी बताउँछन्।
यस्तो छ इतिहास
तत्कालीन समयमा राणा शासकहरूले आफ्नो सोखका लागि नेपालमा पहिलोपटक गाडी भित्र्याएका थिए। त्यहीबाट नेपालमा सवारीको इतिहास सुरु भएको देखिन्छ। त्यसपछि बाटोको विस्तार र मानिसको आयस्तर बढेसँगै सवारी आयात बढ्न थालेको जानकारहरु बताउँछन्।
सवारी आयात बढेसँगै विभिन्न गाडी बिक्रेताहरुले गाडी ल्याएर नेपालमा बिक्री गर्ने वातावरण बनाए। यसरी सवारी बिक्री गर्ने बिक्रेताहरूले पछि संस्था स्थापना भयो। जसको नाम अटोमोबाइल एसोसिएस अफ नेपाल रहन गयो। वि सं २०३२ साल स्थापना भएको यो संस्थाको नाम २०६१/६२ सालमा फेरियो र नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) भयो।
नाडा अटो शो भने सन् १९९८ देखि सुरु भएको थियो, त्यो वर्ष २६ प्रदर्शकहरू सहभागी भएका थिए। त्यसपछि दुई वर्षमा एकपटक अटो शो हुँदै आएको थियो। त्यसबेला देखि नै अटोमोबाइल व्यवसाय प्रवर्धन थप टेवा पुगोस् र उपभोक्ताले एकै ठाउँमा धेरै सवारीबारे जानकारी पाउन् भन्ने उद्देश्यले अटो शो आयोजना गरिँदै आएको नाडाले जनाएको छ।
२०७२ मा उक्त संस्थाको नाम पुनः परिवर्तन गरि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल भयो। पछिल्लो केही वर्षयता नाडाले हरेक वर्ष अटो शो आयोजना गर्दै आएको छ।
पहिला नाडा अटो शो एउटा निश्चित वर्गका लागि आकर्षणको केन्द्र थियो। अहिले सबैका लागि सेन्टर अफ एट्रयाक्सन बन्दै गएको छ। हरेक वर्ष अर्बौंको कारोबार हुने हुँदा पनि यसको महत्व बढ्दै गएको हो।