काठमाडौं । एक वर्षपछि भृकुटीमण्डप क्षेत्र फेरि तयार भएको छ देशकै ठूलो प्रदर्शनीका लागि। लाखौं खर्चेर प्रदर्शनीमा आउने दर्शकलाई तान्न स्टल बनाइएका छन्। करिब २० करोड स्टलमै मात्र खर्चिएको प्रदर्शनी हो नाडा अटो शो – २०२४।
सुरुमा नेपालमा आउने गाडीहरु शो-केश गर्न बनेको यो प्लेटफर्म पछि व्यापारिक थलोका रुपमा स्थापित हुँदै गयो। अहिले यो शोमा देशकै ठूलो आर्थिक कारोबार हुने गर्छ। हुन त अटो क्षेत्रले नेपाल नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा ठूलो योगदान पुर्याउँदै आएको छ। त्यसमा पनि नाडा अटो शोले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग गरेको छ।
अटो व्यवसायीहरुको ‘कुम्भ मेला’ का रुपमा रहेको यो शोमा १५ अर्बदेखि २० अर्बको कारोबार हुने अनुमान छ। व्यवसायीहरुले वर्षभर बिक्री गर्ने गाडीको ३५ देखि ४० प्रतिशत कारोबार यही नाडा अटो शोमा हुने गर्छ।
यो वर्षको मेला अवधिभर करिब ७० हजार दर्शकले प्रत्यक्षरुपमा अवलोकन गर्ने आयोजकको दाबी छ। यस्तै, स्टलको भाडाहरु पनि यो वर्ष १० प्रतिशतले बढाइएको छ। एउटै स्टलको लगभग १५ लाख रुपैयाँ तोकिएको छ। गाडी बिक्रेताहरुले गाडीको स्टल राम्रो बनाउन ५० लाखसम्म खर्च गरेका छन्।
मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिनसक्ने आधारमा पनि यो अटो शोलाई हेरिएको छ। गाडीको प्रदर्शनी भए पनि यसमा बैंक तथा वित्तीय संस्था पनि जोडिएका छन्। बीमा कम्पनीहरु पनि यस मेलाका हिस्सा बनेका छन्। सबै सरोकारवाला एकै छतमुनि भेला हुने यो मेलामा अटोमोबाइल कम्पनीहरुको सक्रियता लोभलाग्दो देखिन्छ। यसखाले सक्रियतालाई ‘क्यास’ गर्न सके यस क्षेत्रले केहि गति लिनसक्ने अपेक्षा गर्न सकिन्छ।
चाडपर्व नजिकिँदै गर्दा आयोजना हुन लागेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष-अप्रत्यक्षरुपमा संलग्न सबैलाई आजबाट जोड्नेछ।
बलियो अर्थतन्त्रको सूचक
कोभिड-१९ पछि नेपालमा सबैभन्दा ठूलो आर्थिक गतिविधि हुने अटो शो भएर पनि यसले अर्थतन्त्रलाई ‘भाइब्रेन्ट’ बनाउँछ।
पछिल्लो समय नेपालमा धेरै ब्राण्ड र मोडलका गाडीहरु बिक्रीका लागि आइरहेका छन्। त्यसमाथि विद्युतीय गाडीको उपस्थिति निकै बाक्लिएको छ। बैंकले समेत गाडी किन्न सस्तो ब्याजदर उपलब्ध गराउँदा इभी किन्ने जमात बढेको छ। हाल ८० प्रतिशतसम्म बैंक तथा वित्तिय संस्थाहरुले ‘फाइनान्स’ गरेको अवस्था छ।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ भन्छन, ‘अटो शोले आर्थिक रुपमा राम्रै ट्रयाक्सन गराउँछ। इभीको बिक्रीमा नर्मल समयमा पनि ट्रयाक्सन आइरहेको बेला अटो शोले झन ट्रयाक्सन ल्याउँछ।’
उनका अनुसार अहिले इभी गाडी प्रति मानिसको ‘इन्ट्रेस्ट’ बढिरहेको छ। त्यसैले यसपटकको नाडा अटो शोमा प्राय सबै चारपाङ्ग्रे गाडी इभी नै छन्। इन्धनमा मारुती सुजुकीको मात्रै स्टल छ। दुई पाङ्ग्रेमा मात्रै इन्धन सवारीको बाहुल्यता छ।
इभी र आइस इन्जिन गाडीको मार्केट आ-आफ्नै छ। तर सरकारको नीति जति इभीका लागि ‘फेभरेबल’ छ त्यति नै आइस इन्जिनको लागि ‘फेभरेबल’ भइसकेको छैन।
३५–४० प्रतिशत यही बेला बिक्री हुने
नाडा अटो शोमा गाडी बिक्रेताहरुले वर्षभरी बिक्री गर्ने कुल मार्केट सेयरको करिब ४० प्रतिशत व्यापार गर्छन्। श्रेष्ठका अनुसार अटो शोमा वर्षको ३५-४० प्रतिशतको व्यापार हुने गर्छ।
गत वर्षको प्यासेन्जर र लाइट कमर्सियल गाडीको बिजनेस ११ हजार ७०० युनिट थियो। त्यसको ३५-४० प्रतिशत बिजनेस सबै नाडा अटो शोमा भएको थियो। यो पटक पनि त्यही हिसाबले गाडी बुकिङ हुने अनुमान छ।
श्रेष्ठका अनुसार यो अटो शोमा १५ अर्बदेखि २० अर्बको कारोबार हुने प्रक्षेपण गरिएको छ। कारोबारको हिसाबले गाडीहरुको बुकिङ सेल्समा कति कन्भर्ट हुन्छन् भन्ने कुरामा धेरै निर्भर हुन्छ।
मार्केट बढ्ने अपेक्षा
नाडा अटो शोका कारण यो पटक बजार बढ्ने अपेक्षा लिइएको छ। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती भन्छन्, ‘यो पटक मार्केट बढ्छ भन्ने हाम्रो अपेक्षा छ।’
टाटाले गत वर्ष ६० प्रतिशत बुकिङ सेल्समा कन्भर्ट गरेको थियो। अन्य ब्रान्डको बुकिङ पनि यस्तै ‘रेसियो’मा छ। बुकिङ भएका ६० प्रतिशत गाडीहरु सेल्समा कन्भर्ट हुने अटो व्यवसायीहरु बताउँछन्।
व्यवसायीहरुका अनुसार गाडी बुकिङ लिँदा ग्राहकहरुसँग गत वर्ष २ हजारदेखि ५ हजार रुपैयाँ लिइएको थियो। बुकिङ अनुसार गाडी बिक्री हुन गाह्रो भएको थियो। त्यसैले यो पटक बुकिङ लिँदा रकम बढाउने ‘मुड’मा व्यापारी छन्। करिब २५ हजारभन्दा माथि रकम बुकिङका लागि लिने अपेक्षा छ यो पटक।
‘त्यही अनुसार बुकिङ लिएर कारोबार गर्दा मार्केट बढ्ने अपेक्षा छ,’ उप्रेतीले भने।
अटो शोमा विभिन्न ब्रान्डले अफर ल्याउने गर्छन्। जसकारण पनि ग्राहकहरु शोप्रति आकर्षित हुँदै गएको व्यापारीहरु बताउँछन्। त्यसमाथि दसैंअघि अटो शो हुने हुँदा गाडी खरिद गर्न चाहनेका लागि आजबाट भृकुटीमण्डप ‘बेस्ट डेस्टिनेसन’ बन्ने पक्का छ।
यस्तै, उप्रेती हाल सेयर बजारमा उछाल आएकाले पनि अटो शोमा गाडीहरु खरिद गर्नेको जमात बढ्न विश्वास रहेको बताउँछन्।
स्टल भाडाबाटै ३ करोड आम्दानी
स्टलबाटमात्रै यसपटक नाडाले ३ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने अनुमान छ। नाडा अटो शोका संयोजक अनुपकुमार बरालका अनुसार यसपटक स्टल भाडा शुल्क गत वर्षको भन्दा १० प्रतिशत बढाइएको छ।
नाडा अटो शोमा एउटै स्टलले १५ लाख रुपैयाँसम्म भाडा तिरेका छन्। आयोजकका अनुसार ब्लक ‘ए प्रिमियम’का ४ वटा स्टलले १४ लाख ९८ हजार ३८० रुपैयाँका दरले भाडा तिरेका छन्। गत वर्ष ‘ए प्रिमियम’ का स्टलको भाडा १३ लाख ५८ हजार ६२५ रुपैयाँ थियो।
यस्तै, ब्लक ‘ए सेमी प्रिमियम’का स्टल ९ लाख ८५ हजार ३६० रुपैयाँका दरले भाडामा दिइएको नाडाले जनाएको छ। ब्लक ‘बी सेमी प्रिमियमका स्टल १३ लाख ७६ हजार ३४० रुपैयाँ, ब्लक ‘एच स्ट्यान्डर्ड’का स्टल १० लाख ३१ हजार १२५ रुपैयाँमा र ब्लक ‘सी सेमी प्रिमियम’ का स्टल ७ लाख ४४ हजार ६७० रुपैयाँका दरले भाडामा दिइएको छ।
ब्लक ए, बी, सी लगायत ८ वटा ब्लकका स्टलहरु चार पाङ्ग्रे गाडीका लागि छुट्याइएको छ। ब्लक डी र ईका ४६ वटा स्टल काउन्सिलिङ र बैंक तथा वित्तीय संस्थाका लागि छुट्याइएको। जसको भाडादर ५८ हजार ७६० रुपैयाँ छ।
दुई पाङ्ग्रे सवारी र कम्पोनेन्ट्सका लागि प्रति स्टल ५२ हजारदेखि ४ लाख ८ हजार रुपैयाँसम्मका स्टल भाडामा दिइएको छ।
५५ वटा ब्रान्ड सहभागी
यस प्रदर्शनीमा ठूला तथा साना गरि करिब ८७ वटा स्टल र ब्लक रहने छन्। प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता हुनेछ।
यसपटकको मेलामा चारपांग्रे २३, दुईपांग्रे १८ र हल्का व्यावसायिक सवारी साधनका १४ गरि ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिनेछन्। गाडी बिक्रेताबाहेक लुब्रिकेन्ट, टायर, ब्याट्री र ग्यारेज उपकरणका स्टल पनि राखिनेछन् । ६ वटा बैंक तथा वित्तीय संस्थाले पनि सहभागिता जनाउने नाडाले जनाएको छ।
प्रदर्शनीलाई बढी जानकारी, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी वित्तीय सेवा, बिक्रीपछिका सेवा लगायतका सेवासुविधाका अलग स्टल रहनेछन्। नाडा अटो शोमा प्रवेश टिकटको मूल्य २०० रुपैयाँ तय भएको छ। विद्यार्थीहरुका लागि भने प्रवेश शुल्क १५० रुपैयाँ कायम गरिएको छ।
यसपटक पार्किङ प्रदर्शनीस्थल भन्दा बाहिर गर्ने व्यवस्था मिलाइएको छ। प्रदर्शनीस्थलमा सजिलै आवागमनका लागि काठमाडौं भ्यू टावरमा पार्किङ रहने आयोजकले जनाएको छ।
१९ लाखदेखि करोडौंका कार
अटो शोमा यसपटक सबैभन्दा सस्तो १९ लाखको गाडी शो-केश हुँदैछ। डीएफएसकेको मिनी इभीको मूल्य १८ लाख ९९ हजार रहेको छ।
चिनियाँ कम्पनी बीएडब्लुको २३ लाख मूल्य तोकिएको छ। यस्तै काइवीको २३ लाख ९६ हजार मूल्य तोकिएको छ। यो सिटी स्मार्ट कार हो।
यस्तै, नामी पनि पहिलोपटक गाडी लिन चाहने वा इभीमा उक्लिन चाहनेको नजरमा पर्नेछ। अहिलेको ‘हट केक’मा रुपमा पनि यो ब्रान्डलाई हेरिएको छ। यसको मूल्य ३० लाखदेखि ३५ लाख रुपैयाँ तोकेर अटो शोमा राखिएको छ। यस्तै, टाटाको बहुप्रतिक्षित पन्च इभी पनि यस पटकको शोमा हुनेछ।
मिडियम रेन्जतर्फ एमजीको एमजी, महिन्द्रा, बीवाइडी, सेरेस, सुजुकी, हुन्डाई, ओमोडा जेको, सिट्रोन, रिडारा, आयोन, नेटा, टाटालगायत धेरै ब्रान्डले नयाँ मोडल नेपाली गाडी पारखीका बीचमा ल्याएका छन्। यी ब्रान्डहरुले ४० लाखदेखि ७० लाखसम्म पर्ने गाडीहरु अटो शोमा राखेका छन्।
त्यसैगरी प्रिमियम सेग्मेन्टमा पनि आजदेखि हुने अटो शोमा धेरै ब्रान्ड देखिने छ। बीवाइडी, स्काइवेल, किया, एक्सपेङ, जिकर, लिपमोटर, एमजी, अवतार लगायतका धेरै नयाँ मोडल आजको अटो शोमा देखिँदैछ। यी गाडीहरु ८० लाखदेखि एक करोडभन्दा माथि मूल्यका लक्जरी सेगमेन्टमा पर्छन्।