BIZMANDU
www.bizmandu.com

समन्वयको रटानबीच भासिँदै काठमाडौंका सडक, समाधानका लागि चाहिन्छ माटो सुहाउँदो इन्जिनियरिङ


समन्वयको रटानबीच भासिँदै काठमाडौंका सडक, समाधानका लागि चाहिन्छ माटो सुहाउँदो इन्जिनियरिङ
समन्वयको रटानबीच भासिँदै काठमाडौंका सडक, समाधानका लागि चाहिन्छ माटो सुहाउँदो इन्जिनियरिङ


काठमाडौं। कतै सडक भासिएको त कतै भ्वाङ। अधिकतर सडकमा खाल्डाखुल्डी। राजधानीमा सायदै यस्तो कुनै भेग छ जहाँका सडक खाल्डाखुल्डीरहित होस्। काठमाडौं उपत्यकाका बासिन्दालाई यस्तै परिदृश्यमा यात्रा गर्दै जीजीविषा चलाउन बानी परिसकेको छ।

Tata
GBIME
NLIC

असारयता काठमाडौंका व्यस्त सडकहरु नै भासिने क्रम बढ्यो। सोह्रखुट्टेबाट बालाजु जाने सडकमा भ्वाङमा मोटरसाइकल खस्यो। इमाडोल, महाराजगंज चोक, शंखमुल क्षेत्रका सडकमा भ्वाङ पर्‍यो। टुकुचामाथि बनेको सडक भासिने क्रम अझै रोकिएको छैन। साना र भित्री सडकमा पर्ने भ्वाङको त गणना नै छैन। यस्ता घटनाको सूची लामै छ।

यसले सम्बद्ध निकायहरुमा बर्सेनि टालटुले बजेट बढेको छ। तर काम भने दीर्घकालीन समाधान दिने हुन सकेको छैन।

किन भासिन्छ सडक ?

विज्ञका अनुसार काठमाडौंको माटो सडकमैत्री छैन। त्यसमाथि माटो र जमिनमुनिको संरचनाको अध्ययनविना खानेपानी, ढल, विद्युत, पानी निकास लगायतको पाइप बिछ्याइएका छन्। सडकमुनि र आसपासका यस्तै प्रकृतिका संरचनाका कारण सडक असुरक्षित बनेको छ।

सडक डिभिजन काठमाडौंमा निमित्त प्रमुख एवम् प्रवक्ता महानन्द जोशी यी सबै कारणसँगै मनुसनमा अत्यधिक वर्षासँगै सडक भासिने क्रम बढेको बताउँछन्।

‘विभिन्न निकायले निर्माण गरेका पाइपलाइन र खानेपानीको पाइपबाट हुने लिकेजले सडकलाई धेरै असर गरेको छ। सडकलाई अहिले धेरै बिगरेको लिकेजको कारण नै हो,’ उनले भने।

टुकुचा खोलामाथिको भासिएको सडक
टुकुचा खोलाको बहावका लागि बनाइएको पर्खाल नै भत्किएको छ।

काठमाडौंमा सडक जथाभावी खनिँदा र निर्माण लगत्तै नटालिँदा पानी पस्दै गर्दा भ्वाङ पर्ने क्रम बढेको देखिन्छ। जस्तै, खानेपानीका पाइपबाट पानी लिकेज हुँदा त्यसले माटोलाई बगाएर मुनिको ‘बेस’ कमजोर बनाउने र वर्षासँगै विस्तारै सडक भासिने उनी बताउँछन्।

‘यो आज पानी परेर मात्रै भएको हैन। यो लङ टर्ममा हुने कुरा हो,’ उनले भने, ‘कन्स्ट्रक्सन डिफेक्ट छ भने पनि सडक बिग्रिन्छ। तर अहिलेको परिस्थिति पानीकै कारणले भएको देखिन्छ।’

यस्तै, काठमाडौंका सडकलाई ‘म्यानहोल’ (मंगाल) र पटहोल  (खाल्डाखुल्डी) ले पनि असर गरिरहेको छ। यीसँगै काठमाडौं मुनिका पुराना संरचना कमजोर हुँदा पनि त्यसको असरस्वरुप सडक भासिरहेको बताउँछन् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल
सडक डिभिजन काठमाडौंमा निमित्त प्रमुख एवम् प्रवक्ता महानन्द जोशी

‘धेरै पहिले बनाइएका मंगाल तथा रिटेनिङ वालको पनि आयुहरु सकिएका कारण पनि यस्तो भइरहेको छ। माथिबाट पानी लिकेज हुने र जमिनमा पानीको मात्रा बढ्दै गएपछि माटोले आफ्नो बहन क्षमता गुमाउँदै जान्छ र भ्वाङ पर्न सुरु हुन्छ‚’ उनले भने।

यससँगै काठमाडौंको सडक भासिनुको अर्को कारण हो सडकको भार क्षमताभन्दा बढी सवारीसाधन चल्नु। सबै सडकमा सबैखाले गाडी गुड्दा पनि सडक असुरक्षित बन्दै गएको हो। माटोको अवस्था र त्यसको भार क्षमता अध्ययन नहुँदा यो समस्या देखिएको बताउँछन् इन्जिनियरिङ भूगर्भविद् डा. रञ्जनकुमार दाहाल।

‘गहिराइअनुसार कति गाडीहरुको एक्सेल लोड पर्छ त्यो सबैको हिसाब गरेर इन्जिनियरहरुले डिजाइन गर्ने हो। तर, तलको जमिनमा के कुराले असर गर्छ, माटो के छ भन्ने कुराको राम्रो अध्ययन नगरी काम गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ,’ उनले भने।

विष्णुमति करिडोरको सडकखण्ड

पछिल्लो समय दरबारमार्गबाट टुकुचा खोलाको माथिको बाटो हुँदै कमलपोखरी बनाउने सडकखण्ड ‘वान वे’ गरियो। त्यो सडकको भार क्षमता आकलन नगरी सबै गाडी उक्त खण्डबाट गुडाउदा हाल सडक भासिनुमा सहयोग पुगेको जानकार बताउँछन्। 

रटान समन्वयकै

काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी हुनु र त्यसकारण भ्वाङ पर्दै सडक भासिनुको प्रमुख कारण हो अन्तर निकाय समन्वय नहुनु। कुनै पनि निकायले सडक खन्दा सडक विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ। स्वीकृति लिँदा सडक पहिलाको जस्तै निर्माण गर्ने भनेर लिखित सहमति नै गर्नुपर्ने हुन्छ। तर, ती सहमति कागजमै सीमित हुँदा ज्यान नै जोखिममा राखेर यात्रा गर्न नागरिक बाध्य भइरहेका छन्।

सोह्रखुट्टेबाट बालाजु जाने सडक। यही गत असारमा मोटरसाइकल भ्वाङमा खसेको थियो।

उदाहरणका लागि सोह्रखुट्टे-बालाजु सडकलाई हेरौं। यो सडकमा सयौं खाल्डाखुल्डी छन् अहिले। असार १९ गते त अविरल वर्षासँगै सडक जलमग्न हुँदा मोटरसाइकल भ्वाङमा खस्यो। बाइकमा सवार दुई जनाले ज्यान जोगाए। पछि सडक डिभिजन कार्यालयले करिब ५ टिपर रोडाले भ्वाङ छोप्यो। डेढ महिनाभन्दा बढी बित्दासमेत त्यो रोडाले छोपिएको भ्वाङ जस्ताको तस्तै छ। बरु सडक वरिपरि थपिएका छन् खाल्डैखाल्डो।

‘वर्षौं भयो यो बाटो पिच नगरेको। अहिले त खाल्डैखाल्डो भइक्यो। त्यत्रो घटना हुँदा पनि सरोकारवाला निकायमा चेत आएको छैन,’ स्थानीय श्याम मानन्धरले भने।

उनका अनुसार यो बाटो भएर सयौं गाडी आवतजावत हुन्छ। बालाजुभन्दा माथिल्लो भेगसहित स्वयम्भू, वनस्थली, गोंगबु लगायत क्षेत्र जान यही बाटो भएर जानुपर्छ। दैनिक पोखरा जाने ठूला गाडी पनि यही बाटो हुँइकिन्छन्। त्यसमाथि फोहोर बोकेका ठूला ट्रकको रफ्तारको डरले सडकसँगै घरहरु असुरक्षित हुने त होइन भन्ने चिन्ता छ उनलाई।

सो सडक खण्डमा खानेपानीका पाइपको लिकेज नटालिँदा आफूहरुले काम गर्न नपाएको सडक डिभिजन काठमाडौंको स्पष्टीकरण छ।

‘हामीले धेरैपटक पत्र पठायौं तर उहाँहरुले गर्नु भएन। त्यहाँ मेलम्चीको पुरानो र नयाँ पाइप रहेछ। पुरानो मर्मत गर्न बजेट छैन भन्ने कुरा रहेछ। अब पनि गरेनन् भने हामी आफै‌ बनाउँछौं,’ यही बाटो भएर दैनिक आवतजावत गर्ने डिभिजनका प्रवक्ता जोशी भन्छन्।

नक्साल-नारायणहिति सडकखण्ड। फुटपाथ यसरी खुला छोड्दा पनि सडक मुनि पानी पसेर असर गर्छ।

अन्तर-निकाय समन्वयको अभाव देखिने यो त एउटा सडकखण्डको उदाहरणमात्रै हो। कतै विद्युत प्राधिकरण त कतै नेपाल टेलिकम। कतै महानगर न कतै अन्य निकाय। कोहीसँग कसैको समन्वय नै देखिँदैन।

‘सडक जथाभावी खनिँदा त्यसले पनि सडकमा भ्वाङ पार्न सहयोग गरिरहेको छ। स्वीकृति लिँदा राम्रो कुरा गर्नुहुन्छ। पछि त्यस्तो हुँदैन,‘ जोशी भन्छन्।

सरकारी निकायमा ‘समन्वय’ शब्दको उच्चारण भएको पंचायतकालदेखि नै हो। तर भएको छैन त्यही – समन्वय। सरोकारवाला निकायका अधिकारीहरु नै सडक निर्माणमा खोजिएको समन्वय फलदायी नभएको स्वीकार्छन्।

‘समन्वय गर्ने काममा हामीले ताकेता गरिरहेका छौं। तर त्यो फलदायी भएको छैन। निकायहरुको कार्यक्रम आआफ्नो हुन्छ। त्यसलाई एउटै भाँडोमा राखेर नहेरेसम्म त्यो समाधान हुँदैन। तर अहिले विद्युत प्राधिकरण, खानेपानी लगायतले सहजीकरण गरिरहनु भएको छ। तथापि भए गरेका काम सन्तोषजनक भएका छैनन्,‘ सहसचिव सुशीलबाबु ढकालले भने।

प्राकृतिक रुपमा हुने कुनै घटनाभन्दा पृथक देखिन्छ काठमाडौंका सडकका खाल्डाखुल्डी र भ्वाङ। तर, सरकारी निकाय नै संलग्न हुने हुँदा कारबाहीको डर ठेकेदारलाई छैन।

गत माघमा बानेश्वरमा सडक भासिदा अड्किएको बस

‘हामीले सक्ने भनेको पत्र पठाउने हो। तर ठेक्का दिने निकाय अरु नै हुन्छ। हामीले बारम्बार भन्छौं। तर त्यो भइरहेको हुँदैन,’ जोशी भन्छन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अधिकारीहरु भने आफूहरुले समन्वयमा काम गरिरहेको बताउँछन्। एकदुई ठाउँमा कमजोरी भए पनि सबै ठाउँमा नभएको केयुकेएल पीआईडीका प्रोजेक्ट निर्देशक राजेन्द्र सापकोटाले बताए।

‘एकदुई ठाउँमा हो। तर सबै ठाउँमा पाइपको कारण होइन। नयाँ पाइपबाट छैन। केयुकेएलको पुरानो नेटवर्कले भएको देखिन्छ। बानेश्वरमा मेलम्चीको पानीले भन्नु भयो पछि ढलले गर्दा भएको देखिएको हो। कुनै ठाउँमा कमीकमजोरी भएको हो,’ सापकोटाले भने।

यता, केही ठेकेदार कम्पनी भने जति सडक बनाए पनि भत्किरहने भन्दै सडकमा थप लगानी गर्न नसक्ने बताउँछन्। विज्ञहरु भने सरकारी निकायलाई जवाफदेही बनाएर ठेकेदारलाई कारबाही नगरेसम्म यस्तो दृश्य नघट्ने बताउँछन्।

‘माटो सुहाउँदो सडकको डिजाइन भएन’

सरकारी अधिकारीहरु पुरानो संरचनासँगै समन्वयको अभावको कारणलाई देखाउँदै सडक भासिने र भ्वाङ पर्ने क्रम बढेको बताइरहँदा विज्ञ भने काठमाडौंको सडकको डिजाइन यहाँको माटोमैत्री नभएको बताइरहेका छन्।

इन्जिनियरिङ भूगर्भविद् डा रञ्जनकुमार दाहाल काठमाडौंको माटो सडक बनाउन त्यति ‘फ्रेन्डली’ नभएको बताउँछन्। त्यसैले निर्माण सडक बनाउँदा माटो अनुसारको इन्जिनियरिङ डिजाइनमा उनको जोड छ।

इन्जिनियरिङ भूगर्भविद् डा रञ्जनकुमार दाहाल

‘काठमाडौंको जमिन त आफैं भासिदैछ। किन भने यो त पुरानो लेक सेडमेन्ट हो। प्राकृतिक रुपमा जिओलोजिकल्ली विस्तारै भासिन्छ। थिचिँदै जाने जमिन भएको हुनाले त्यस्तो ठाउँमा सडक बनाउँदा तलको जमिनले मान्दैन। नमानि सकेपछि त्यस्तो समस्या आउँछ,’ दाहालले भने, ‘त्यसैले सडकको परम्परागत डिजाइन जुन छ त्यसमा सडकको सर्फेसहरु बनाउनेदेखि तलको बेसमेन्टबाट भिन्दै तरिकाले सोच्नुपर्ने बाध्यात्मक परिस्थिति छ काठमाडौंको केसमा।‘

उनका अनुसार सडक निर्माण गर्दा नै सडक मुनिको माटो, सडकले वहन सक्ने भार क्षमता, गाडीको क्यापासिटी, सडकको मुनिसम्म लोड कति धान्न सक्छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ। अनि मुख्य भनेको पानी कसरी डिस्चार्ज गर्ने भन्ने विषयमा पनि सडकको भविष्य निर्भर हुन्छ। काठमाडौंका धेरै ठाउँमा सडक जति बनाए पनि भासिएपछि ढलान नै गर्ने गरेको उदाहरण दिए उनले।

‘धेरै ठाउँमा जमिन भासिएर केही नलागेर हामी ढलान गर्छौं। काठमाडौंमा धेरै त्यस्तो ठाउँ छन्। त्यस्तो ठाउँहरुमा सडकको डिजाइन धेरै फरक तरिकाले बनाउनुपर्छ,’ उनले चिनियाँ कम्पनीले निर्माण गरेको कलंकीदेखि कोटेश्वरसम्मको सडकखण्डको उदाहरण दिँदै भने,‘ त्यहाँ धेरै भासिने जमिन थियो। त्यसैले तलको जमिन बनाउन धेरै मिहिनेत गरेका छन् चिनियाँहरुले।’

नेपालमा भने सरोकारवाला निकायसँगै ठेकेदारहरुले सडक खन्ने ‘फन्डामेन्टल’ नियमसमेत पालना नगरेकाले अहिलेको समस्या आएको उनी बताउँछन्।

‘सडक खनेर पाइप बिछ्याइन्छ। कति दिन सम्म त्यतिकै खुला राखिन्छ। त्यतिमात्रै होइन पेबमेन्ट पनि नबनाइ त्यतिकै छोडिन्छ। त्यहाँबाट पानी छिरेर कति असर पार्छ होला। एकदम कल्पना नै नगरिएको समस्या आउन सक्छ पछिका दिनमा,’ उनले भने, ‘निर्माण व्यवसायी इमान्दार भएर यो कुरा मैले छोड्नुहुन्न तालेर वर्षामा पानी नजाने बनाइदिन्छु भन्या भए राम्रो हुन्थ्यो होला। तर यो कहिल्यै भएन।’

त्यसैले उनी काठमाडौंका अन्य सडकको डिजाइन गर्दा पनि माटो कस्तो छ भन्ने अध्ययन गरेर गर्दा राम्रो हुने सुझाव दिन्छन्।

‘काठमाडौंको भौगर्भिक संरचनालाई आधारमा कुरा गर्ने हो अहिले गरिरहेको परम्परागत डिजाइनलाई परिवर्तन गर्नुपर्छ। माटो कस्तो हाल्ने भन्ने कुराको निर्णय राम्रो हुन पर्छ। त्यहाँ बढी लिकेज नहुने गरि स्ट्रक्चर र सोइलबीचको सम्बन्ध छुट्याउन पर्छ,’ उनले भने।