पश्चिम बंगालमा स्कुलबाट साइकल लिएर हिँडिरहेका गाउँका छात्राहरू सडकमा देखिन्छन्। भारतको सबैभन्दा गरिब राज्य बिहार निवासी निभा कुमारी १५ वर्षको हुँदा साइकलले उनको जीवन कसरी परिवर्तन गर्यो भनेर सम्झन्छिन्।
दुई वर्षसम्म हप्ताको ६ दिन उनले राज्य सरकारले उपलब्ध गराएको साइकल प्रयोग गरेर घरदेखि स्कुलसम्म जाने आउने गरिन्। दिनको दुई घण्टा कोचिङ क्लाससम्म पनि साइकलमै पुगिन्।
अहिले २७ वर्ष पुगेकी निभा भन्छिन्, ‘मसँग साइकल नभएको भए हाईस्कुल पूरा गर्न सकिन्थ्यो जस्तो लाग्दैन। यसले मेरो जीवन परिवर्तन गर्यो।’
बेगुसराय जिल्लाकी एक किसानकी छोरी निभालाई नजिकैको प्राथमिक विद्यालयमा पढ्नका लागि १० किलोमिटर टाढा उनकी काकीसँग बस्न पठाइयो। केटीहरूका लागि यात्रा चुनौतीपूर्ण थियो र सार्वजनिक यातायात अविश्वसनीय थियो। निभा स्कुलबाट घर फर्केपछि पढाइलाई निरन्तरता दिन गाउँका कच्ची बाटो भएर साइकल चढेर निस्किन्थिन्।
बेगुसरायकी स्वास्थ्यकर्मी भुवनेश्वरी कुमारी भन्छिन्, ‘विद्यालय जान र कोचिङ क्लास साइकल चलाएर आउजाउ गर्न थालेपछि केटीहरूको आत्मविश्वास निकै बढेको छ। अहिले धेरैले सित्तैमा साइकल पाएका छन्, स्कुल जान थालेका छन्।’
भारतका धेरै राज्यहरूले विद्यालय जाने छात्राहरूलाई नि:शुल्क साइकल दिइरहेका छन्। बालिका शिक्षालाई प्रवर्धन गर्न यो कार्यक्रम चलाइएको हो।
साइकलमा उनीहरूलाई पढ्न जान सजिलो होस् भन्ने यसको उद्देश्य हो। साइन्स डाइरेक्ट जर्नलमा प्रकाशित समीक्षात्मक अध्ययनले ग्रामीण भारतमा स्कुल जाने बालबालिका र साइकल चलाउनेबारे उल्लेखनीय जानकारी दिइएको छ।
सृष्टि अग्रवाल, आदित सेठ र राहुल गोयलद्वारा गरिएको उक्त अध्ययनले भारतमा साइकल चलाउनेहरूमध्ये ग्रामीण क्षेत्रका बालिकाहरूको संख्या निकै वृद्धि भएको देखाएको छ। जुन २००७ देखि ४.५ प्रतिशतबाट दोब्बरभन्दा बढीले बढेर २०१७ मा ११ प्रतिशत पुग्यो।
‘यो एक साइलेन्ट रिभोलुसन (मौन क्रान्ति) हो,’ अग्रवाल भन्छिन्, ‘हामी यसलाई क्रान्ति भन्छौं किनभने केटीहरूबीच साइकल चलाउने स्तर बढेको छ जुन देशमा सामान्यतया घर बाहिर महिलाहरूको गतिशीलतामा लैंगिक असमानता र विशेष गरी साइकल चलाउने धेरै उच्च छ।’
सन् २००४ देखि भारतका राज्यले छात्राहरूलाई लक्षित गरेर निःशुल्क साइकल वितरण कार्यक्रम संचालन गरेका छन्। जसमा घरायसी काम र लामो पैदल यात्राका कारण छात्रहरूको तुलनामा छात्राहरुले विद्यालय छाड्ने दर उच्च थियो।
यो दृष्टिकोण भारतमा मात्र सीमित छैन। कोलम्बिया, केन्या, मलावी र जिम्बाब्वे जस्ता अन्य देशहरूका प्रमाणहरूले पनि साइकलले छात्राहरूको विद्यालय भर्नालाई प्रभावकारी रूपमा बढाउने देखाउँछ। तर यहाँ यसको स्केल बेजोड छ।
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, दिल्ली र नर्सी मोन्जी इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडीज, मुम्बईका तीन शोधकर्ताहरूले राष्ट्रव्यापी शिक्षा सर्वेक्षणबाट ५ देखि १७ वर्षका बालबालिकाहरूका लागि निःशुल्क साइकल उपलब्ध गराउने राज्यहरूको अध्ययन गरेका छन्। ती इन्स्टिच्युटहरूले सुरुवाती परियोजनाहरूको प्रभावकारितालाई र साइकल चलाउने दरहरूमा तिनीहरूको प्रभाव परीक्षण गरेका छन्।
तमिलनाडु विद्यालय जाने छात्रालाई साइकल उपलब्ध गराउने पहिलो राज्य थियो। रिपोर्टअनुसार राष्ट्रिय रूपमा साइकल चलाएर विद्यालय जाने विद्यार्थीको संख्या सन् २००७ मा ६.६ प्रतिशत थियो, सन् २०१७ मा बढेर ११.२ प्रतिशतसम्म पुगेको छ।
ग्रामीण क्षेत्रमा साइकल चढेर विद्यालय जानेहरूको संख्या दशकमा दोब्बर भएको छ भने सहरी क्षेत्रमा भने स्थिर छ। भारतीय सहरहरूमा सडकहरू अत्यन्त असुरक्षित छन्। सहरी क्षेत्रहरूमा कम मानिसहरू साइकल चलाएर विद्यालय जान्छन्। ट्राफिक सुरक्षा बिग्रिनुका साथै सडकहरूमा कारहरूको संख्या बढ्दै गएको छ।
साइकल क्रान्ति प्रायः गाउँहरूमा
भारतमा साइकल क्रान्ति प्रायः गाउँहरूमा देखिन्छ। जसमा बिहार, पश्चिम बंगाल, असम र छत्तीसगढ अगाडि छन्। यी राज्यहरूको जनसंख्या युरोपका केही ठूला देशहरूकै बराबर छ। अध्ययनले सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बालबालिकाहरूले लामो दूरीसम्म साइकल चलाउने गरेको देखाएको छ।
भारतले पहिलो पटक सन् २०११ को पछिल्लो जनगणनामा साइकल चलाउनेहरूको व्यवहार रिपोर्ट गर्न थालेको थियो। कामका लागि घरबाट बाहिर निस्केका २० प्रतिशतले मात्र साइकललाई आफ्नो यातायातको मुख्य माध्यम मानेका छन्। तर गाउँका बासिन्दा २१ प्रतिशत र सहरका १७ प्रतिशतभन्दा बढी साइकल चलाउँछन्।
त्यसैगरी, त्यहाँ काम गर्ने पुरुषहरू (२१.७ प्रतिशत) उनीहरूको महिला समकक्षीहरू (४.७ प्रतिशत) भन्दा बढी छन्, जसले काम गर्न साइकल चलाउँछन्।
‘अन्तर्राष्ट्रिय अवस्थाको तुलनामा साइक्लिङमा लिङ्ग अन्तरको यो स्तर संसारमा सबैभन्दा उच्च छ,’ अग्रवाल भन्छिन्।
सन् २००७ मा ग्रामीण बिहारमा साइकल चढेर विद्यालय पुग्ने छात्राहरूको संख्या लगभग शून्य थियो। एक दशकमा उक्त संख्या १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
अमेरिकी मताधिकारवादी सुसान बी एन्थोनीले प्रसिद्ध रूपमा भनेकी छन्, ‘साइकलले विश्वका अरू कुनै कुरामा भन्दा महिलाहरूको मुक्तिका लागि धेरै काम गरेको छ। यसले महिलाहरूलाई स्वतन्त्र र आत्मनिर्भर महसुस गराउँछ।’
महिलाहरूले उमेर बढ्दै जाँदा रोजगारीका अवसरहरू घट्दा तथा काम छोड्नु पर्दा साइकल चलाउन कम गर्छन्। निभाले पनि बिहेपछि साइकल चलाउन छाडिन्।
शिक्षिका बन्ने तालिम लिएर घरबाहिर निस्कने भए पनि उनको यात्राको बारेमा सोध्दा उनी सहजै भन्छिन्, ‘मलाई अब साइकल चाहिँदैन।’