काठमाडौं। विद्युतीय सवारीसाधनको बजार बढेसँगै गाडीका शोरुम धमाधम थपिन थालेका छन्। अहिले अटो व्यवसायीहरुलाई नाडा अटो शोको मात्रै चटारो छैन, नयाँ ब्रान्डका गाडी राख्न शोरुम सक्दो चाँडो बनाउनुपर्ने दबाब छ।
नाडा अटो शोमा गाडी किनबेच हुँदैन, बुक मात्रै हुने हो। अटो शो सकिएपछि ग्राहक गाडीका लागि सम्बन्धित शोरुम पुग्छन्। त्यही कारण पनि बिक्रेताहरु नाडा अटो शोसम्म शोरुम निर्माण गरिसक्नुपर्ने दबाबमा परेका हुन्।
अहिले थापाथली र नक्साल क्षेत्रमा नयाँ नयाँ स्ट्रक्चर निर्माण भइरहेको देखिन्छ। गाडी तथा बाइकहरुको शोरुमका लागि नयाँ स्ट्रक्चर निर्माण भइरहेको हो। एक वर्षको अन्तरालमा थापाथली र नक्सालमा एक दर्जनभन्दा धेरै गाडीका शोरुम निर्माण भएका छन्। केहि शोरुम निर्माणको चरणमा छन्।

थापाथलीमा केही समय अगाडि निर्माण सम्पन्न भएको भवन एक महिनामै गाडीको शोरुमको हब बनेको छ। पूरै भवन चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले आफ्नो नयाँ गाडीहरुको शोरुम राख्न भाडामा लिएको छ।
आयोन ब्रान्डको गाडीको शोरुम खुला भइसकेको छ। अहिले एक्सपेङ, अवतार र स्मार्ट ब्रान्डका गाडीका लागि तीन वटा शोरुम तयार पारिंदै छ।

सीजी मोटर्सले ल्याएको यी तीन वटै ब्रान्डले नाडा अटो शोदेखि नेपाली बजारमा इन्ट्री गर्दै छन्। नाडा अटो शो भदौ ११ गते सुरु हुन लागेका कारण कम्पनीले शोरुम तयार पार्ने कामलाई तीब्रता दिएको छ।
जिकर ब्रान्डका लागि पनि थापाथलीमा नयाँ शोरुम निर्माण गर्ने काम भइरहेको छ। जिकर ब्रान्डको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नेपाली बजारमा नाडा अटो शोबाटै नयाँ गाडी भित्र्याउन लागेको छ। त्यही भएर कम्पनी नाडा अटो शो अगावै शोरुम निर्माण सम्पन्न गर्न कस्सिएको छ।
स्ट्रक्चर पुरानो भएकाले रेनोभेसनका लागि कम्पनीले अहिलेसम्म ३० रुपैयाँ खर्च गरिसकेको छ। तयार हुँदासम्म खर्च अझै बढ्नेछ। यो कम्पनीले चालु वर्षको बजेट सार्वजनिक हुनु अगाडि ओमोडा गाडीको शोरुम नारायणहिटी संग्रहालयको उत्तरढोकामा सञ्चालनमा ल्याएको थियो।

केही समय अगाडि नेपाली बजारमा भित्रिएको काइवी ब्रान्डको गाडीका लागि थापाथलीमा नयाँ शोरुम बनिरहेको छ। फोर्ड गाडीको शोरुमको साइडमा जीओ अटोमोबाइल्सले नयाँ शोरुम बनाइरहेको हो। नाडा अटो शोसम्म शोरुम तयार हुने कम्पनीले जनाएको छ।
काइवी गाडीको नक्साल स्थित शोरुम भने लक्ष्मी इमोबिलिटीले तयार पारेको हो। जीओ अटोमोबाइल्स र लक्ष्मी इमोबिलिटी दुवै काइवी गाडीका आधिकारिक बिक्रेता हुन्।

नामी गाडीका लागि नक्साल क्षेत्रमा शोरुम निर्माण गर्ने काम भइरहेको छ। एमएडब्लू वृद्धि अटोकर्पले बिहिबार मात्र यो गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ।
दुई पाङ्ग्रेको शोरुम पनि धमाधम थपिंदै
दुई पाङ्ग्रे सवारी साधनका लागि पनि नक्साल क्षेत्रमा धमाधम नयाँ शोरम बनिरहेका छन्। बजाजको ट्राइम्फदेखि ताइवानी ब्रान्ड गोगोरोको बाइक सम्मका लागि शोरुम निर्माण भइरहेका हुन्।
ट्राइम्फको शोरुम पहिले रेनोको शोरुम भएको स्थानमा बन्दै छ। गोगोरोको बीएमडब्लू बाइकको शोरुम भएको स्थानमा बन्दै छ। यस्तै अल्ट्राभोइलेटीको शोरुम एमजीको शोरुम नजिकै निर्माण भइरहेको छ।

एक वर्ष अगाडि रोयल इन्फिल्डले नक्सालमा नयाँ शोरुम बनाएर नेपालमा एसेम्बल भएका बाइक बिक्री गर्न थालेको थियो।
यस्तै भारतीय इलेक्ट्रिक ब्रान्ड एथरको शोरुम गत नोभेम्बरबाट मात्रै सञ्चालनमा आएको हो। यामाहा, टीभीएस, टेल्जी, केटीएम लगायत दुई पाङ्ग्रे सवारीका शोरुममा नक्सालमै छन्।
हिरोको पुरानो बिक्रेता एनजीएमले पनि यो पटक नयाँ दुई पाङ्ग्रे इभी नाडा अटो शोमा राख्दै छ। कम्पनीले यसअघि हिरोका बाइक राखेको कान्तिपथस्थित ज्योति भवनमा नै शोरुम राख्ने तयारी गरिरहेको छ।

ग्लोबल स्ट्यान्डर्ड अनुसार बनाउनु पर्ने बाध्यता
गाडी बिक्रेताले शोरुम आफ्नो चाहना अनुसार बनाउन पाउँदैनन्। उत्पादक कम्पनीले भने अनुसारको स्ट्यान्डर्डमा बनाउनु पर्ने हुन्छ। उत्पादक कम्पनीले भनेको नमाने ब्रान्ड नै खोसिन्छ।
अहिले सञ्चालनमा रहेका सबैजसो शोरुम बिक्रेता कम्पनीले ‘स्टेट अफ दि आर्ट’ को मान्यता अनुसार बनाएका हुन्। एडभान्स डिजाइन तथा प्रविधिको सुविधा भएको शोरुमलाई ‘स्टेट अफ दि आर्ट’को मान्यता दिइन्छ।

कम्पनीहरुले सकेसम्म इको फ्रेन्डली शोरुम बनाउन प्रयास गरेका छन्। प्लास्टिकको सट्टा फाइबरका सामग्री प्रयोग गर्न थालिएको छ। कम्पनीहरुले इन्टेरियर एम्बियन्सलाई खुला र ताजा महशुस गराउने गरी डिजाइन र सजावट गर्ने गरेका छन्। व्यवसायीहरुका अनुसार नयाँ शोरुम निर्माण गर्न ५० लाखदेखि १ करोडसम्म खर्च हुन्छ।









पुराना हुन्डाई, टाटा, बीवाइडी, महिन्द्रा जस्ता ब्रान्डले ग्राहकको सुविधालाई विशेष ध्यानमा राख्दै वेटिङ लाउन्ज, वेलकम – रिसेप्सन एरिया, गाडी प्रदर्शन कक्षसहितको अत्याधुनिक शोरुममा विकास गरेका छन्। अहिले सञ्चालनमा रहेका नयाँ शोरुम २५ सय वर्ग फिटदेखि ४ हजार वर्ग फिटसम्मका छन्।






