BIZMANDU
www.bizmandu.com

उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विहार इन्डस्ट्रिज एसोसिएसन पटनाबीच भगिनी सम्बन्ध कायम

२०८१ भदौ ७

उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विहार इन्डस्ट्रिज एसोसिएसन पटनाबीच भगिनी सम्बन्ध कायम
उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विहार इन्डस्ट्रिज एसोसिएसन पटनाबीच भगिनी सम्बन्ध कायम


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भारतको विहार राज्यस्थित विहार इन्डस्ट्रिज एसोसिएसन पटनासँग भगिनी सम्बन्ध कायम गरेको छ।

Tata
GBIME
NLIC

महासंघका अध्यक्ष राजेन्द्र राउत र एसोसिएसनका अध्यक्ष श्री के.पी.एस.केसरीबिच पटनामा भएको कार्यक्रममा भगिनी सम्बन्ध स्थापित भएको हो।

कार्यक्रममा अध्यक्ष राउतले महासंघ निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल सहितको व्यावसायिक संस्था भएको बताए।
साथै उनले महासंघ कोशीले प्रदेशको आर्थिक विकासमा विविध योगदान, उद्योग व्यवसायमैत्री वातावरण निर्माणको लागि नीतिगत तहमा पैरवी र कृषि क्षेत्रको रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जानकारी दिएका थिए।

सो कार्यक्रममा उनले दुवै संस्थाको सम्बन्धबाट द्विपक्षीय व्यापार अभिवृद्धि हुने र लगानी प्रवर्धन हुने विश्वास व्यक्त गरे।

एसोसिएसनका अध्यक्ष केसरीले महासंघ कोशीले भदौ २७ देखि ३० सम्म गर्ने कृषि एक्स्पोमा एसोसिएसनका पदाधिकारी तथा सदस्यको उल्लेखनीय सहभागिता रहने बताए। उनले नेपालको कोशी प्रदेश र विहारबिच प्रशस्त व्यावसायिक सम्भावना भए पनि ती सम्भावनाको उपयोग थोरै मात्र भएको बताएका थिए।

कार्यक्रममा नेउवा महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा र महासंघ कोशीका कोषाध्यक्ष सुवास आचार्यले द्विपक्षीय सम्बन्ध र व्यापारका विषयमा आआफ्नो धारणा व्यक्त गरेको महासंघ कोशीका कार्यकारी निर्देशक राधारमण (साम) भण्डारीले जानकारी दिए।