काठमाडौं। साउन २७ गते काठमाडौंको माइतीघरमा एउटा र्याली निस्कियो। र्यालीमा चीनविरुद्ध चर्का नारा लगाइयो। प्लेकार्ड पनि चीन विरोधी थिए।
पोखरा विमानस्थल बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई)को हिस्सा होइन, चिनियाँ हस्तक्षेप रोक, चिनियाँ राजदूतले माफी माग लगायत नारा र्यालीमा लाग्यो।
र्यालीका सहभागीले पोखरा विमानस्थल निर्माणमा संलग्न भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको माग पनि गरे। अधिकारी पोखरा विमानस्थल निर्माणका बेला आयोजना प्रमुख थिए।
राष्ट्रिय एकता अभियानको नेतृत्वमा निस्किएको र्यालीलाई लिएर चिनियाँ दूतावास संशकित त भएको छ नै, यसलाई गम्भीरु रुपमा लिएको छ। ‘चीनविरुद्ध चर्का नारा लगाइनुका साथै राजदूतले माफी माग्नुपर्ने आवाज सडकमा ल्याउने काम भएको छ। यो अत्यन्तै गम्भीर विषय हो,’ स्रोतले भन्यो, ‘त्यसमा पनि कुनै आयोजनामा ऋण दिएर निर्माण भइसकेपछि विवादमा ल्याउन खोजिएको छ।’
स्रोतका अनुसार र्याली निकाल्ने संस्था र उसको झुकावलाई लिएर पनि प्रश्न उठेको हो।
अभियानका अध्यक्ष विनय यादव छन्। उनले भारतको राष्ट्रिय स्वयंसेवक दल (आरएसएस)सँग नजिक रहेर नेपालमा काम गरिरहेका छन्। २०७९ भदौ २७ गते चिनियाँ नेता आउँदा कालोझण्डा देखाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनले मधेशका जिल्लामा समेत चीनविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएका छन्।
यादव आरएसएसको ‘स्कुलिङ’बाट आएको स्वीकार्छन्। ‘राष्ट्र, राष्ट्रियता र आफ्नो धर्म संस्कृतिको रक्षा गर्न त्यो संस्थाले सिकाउँछ। त्यो संस्थाले भारत पक्षधर बन्न सिकाउने होइन,’ उनले भने, ‘मैले अहिले चीनको मिचाहा प्रवृतिविरुद्ध आवाज उठाएको हो। त्यो उठाउँदा मलाई दक्षिणपट्टि ढल्कियो भन्लान्। पछि अर्को देशको विरुद्धमा आवाज उठाउँदा अर्कोतिर भन्लान्।’
एक कुटनीतिज्ञका अनुसार कुनै देशनजिक रहेर अर्को देशविरुद्ध सडकमा आन्दोलन गर्नुलाई स्वाभाविक मान्न सकिंदैन। ‘कुनै देशनजिक रहेर अर्को देशको विरोध भइरहेको छ भने त्यसमा गम्भीर प्रश्न उब्जिन्छ। भारतको कुनै संस्थासँग नजिक भएर चीनको विरोध गर्ने काम भएको छ भने भारतीय दूतावास पनि यसमा गम्भीर बन्नुपर्छ,’ ती कुटनीतिज्ञले भने, ‘भारतीय दूतावासले यस्तो गतिविधिलाई बढावा दिएको अपजस खेप्नुपर्ने हुनसक्छ। त्यसैले राजदूत पनि गम्भीर बन्नुपर्छ। सँगै नेपालले पनि यस्ता गतिविधिमा सचेत भएर हेर्नुपर्छ।’
उनका अनुसार राजदूतले माफी माग्नुपर्ने आवाज सडकमा उठ्नु अत्यन्तै गम्भीर विषय हो। ‘हामी भूराजनीतिक हिसाबले अत्यन्तै संवेदनशील अवस्थामा छौं। सानो गल्तीले पनि ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ,’ ती कुटनीतिज्ञले भने।
‘विरोध जारी रहन्छ‘
अभियानका अध्यक्ष यादव भने पोखरा विमानस्थल उद्घाटनको समयमा चिनियाँ राजदूतले दिएको अभिव्यक्तिमा माफी नमागेसम्म विरोध जारी रहने बताउँछन्। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत भएको बताएका थिए।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुवात भएको हो। यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। चिनियाँ इन्जिनियरहरुबाट यो निर्माण भएको हो,’ उनले भनेका थिए, ‘हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौं। यो बीआरआई परियोजना अन्तर्गत हो।’
यादवले चिनियाँ राजदूतले २०७२ सालमा ऋण लिएको परियोजनालाई समेत बीआरआईसँग जोडेर विमानस्थललाई चल्न नदिने प्रपञ्च गरेको आरोप लगाउँदै माफी माग्नुपर्ने बताए। ‘हामीले चीनको एक्जिम बैंकबाट २०७२ सालमा ऋण लिएका हौं,’ उनले भने, ‘एकाएक विमानस्थल उद्घाटनका बेलामा बीआरआई जोडेर बदनाम गराउने काम भयो। यो कुटनीतिक मर्यादा विपरित हो। यसमा नेपाल सरकारले कुटनीतिक नोट पठाउनुपर्थ्यो। त्यो नभएपछि हामीले सडक आन्दोलन सुरु गरेका हौं।’
यादवले पोखरा विमानस्थल बनाउँदा ठूलो भ्रष्टाचार भएको जिकिर गर्दै त्यसमा संलग्न रहेका महानिर्देशक अधिकारीको पनि राजीनामा मागेको बताए।