BIZMANDU
www.bizmandu.com

कांग्रेस र एमालेसँग सहकार्य गर्न दाहाल इच्छुक, संसद्‍मा भने- सबैसँग मिलेर जान तयार छु

२०८१ साउन ३०

कांग्रेस र एमालेसँग सहकार्य गर्न दाहाल इच्छुक, संसद्‍मा भने- सबैसँग मिलेर जान तयार छु
काठमाडौँ, ३० साउनः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा टिआरसी विधेयकबारे बोल्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्न चाहेको अभिव्यक्ति दिएका छन्।

Tata
GBIME

उनले बुधबार प्रतिनिधि सभाको बैठकमा एक अर्काप्रति निषेध होइन सबैसँग मिलेर जान आफू तयार रहेको बताए। उनले यसो भनिरहँदा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा पनि थिए।

‘संविधानको रक्षा, जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान म तयार छु,’ उनले भने, ‘चुनौतिको सामना गर्न एकता बाहेक अर्को हतियार छैन।’

कांग्रेस र एमालेले समीकरण बनाएर नयाँ सरकार गठन गरेपछि माओवादी केन्द्र ९ वर्षपछि अहिले प्रतिपक्षमा छ।

दाहालले हालैको बंगलादेशको घटनाले दलहरुबीच सहकार्य र एकताको आवश्यकता बढाएको बताए। अहिले समाजमा अराजकता फैलाउने, सामाजिक, मूल्य मान्यता र संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको भन्दै दलहरुले मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए।

‘यसलाई प्रतिवाद गर्न यो परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु, सबै संघसंस्थाहरु लोकतन्त्रप्रति विश्वास गर्ने, साँचो अर्थमा विश्वास गर्नेहरु समझदारीकासाथ अघि बढ्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘हाम्रो वरिपरी, हाम्रो छिमेकतिर, हाम्रो दक्षिण एशियामा राजनीतिक घटनाक्रमहरु जसरी अघि बढेका छन्, ती सबैले हामी सबैलाई गम्भीर हुन, एक अर्काप्रति निषेधको होइन, एक अर्कासँग हातेमालो गरेर यो प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने आवश्यकता झन् बढेको छ।’