BIZMANDU
www.bizmandu.com

डेढ वर्षपछि चयन हुँदै संयुक्त समिति सभापति, सुनुवाइ र राज्यका निर्देशकमा को बन्दैछन् उम्मेदवार?

२०८१ साउन २९

डेढ वर्षपछि चयन हुँदै संयुक्त समिति सभापति, सुनुवाइ र राज्यका निर्देशकमा को बन्दैछन् उम्मेदवार?
डेढ वर्षपछि चयन हुँदै संयुक्त समिति सभापति, सुनुवाइ र राज्यका निर्देशकमा को बन्दैछन् उम्मेदवार?


काठमाडौं। संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापति चयनका लागि साउन ३१ गते निर्वाचन हुने भएको छ। निर्वाचनको डेढ वर्षपछि केही दिनअघि मात्र समिति गठन भएको थियो। समिति गठनलगत्तै सभापति चयनको प्रक्रिया अघि बढाइएको हो।

Tata
GBIME

यस्तै ज्येष्ठ सदस्यले सञ्चालन गरिरहेको संसदीय सुनुवाइ समितिको पनि बिहीबार नै सभापति चयन हुनेछ। दुबै समितिको नेतृत्व चयनका लागि बुधबार मनोनयन हुँदैछ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले साउन ३१ गते सभापति चयनका लागि कार्यतालिका प्रकाशन गरेका छन्। साउन ३० गते सभापतिका लागि मनोनयन हुनेछ।

संघीय संसदका दुई संयुक्तमध्ये एक समिति २०८० वैशाखमै गठन भएको थियो। संसदीय सुनुवाइ समिति गठन भए पनि सभापति चयन भएको छैन। राज्यका निर्देशक समितिमा भने गठनलगत्तै सभापति चयन हुन लागेको हो।

राजनीतिक दलहरुबीच राज्यका निर्देशक समिति नेकपा एमालेलाई र संसदीय सुनुवाइ नेपाली कांग्रेसलाई नेतृत्व दिने सहमति भइसकेको छ। सोही अनुसार एमालेले राज्यका निर्देशक समितिमा मनोनयन गर्नेछ। संसदीय सुनुवाइमा कांग्रेसले मनोनयन गर्नेछ।

एमाले स्रोतका अनुसार राज्यका निर्देशक समितिमा एमालेका एलपी सावा लिम्बुालाई सभापतिको उम्मेद्वार बनाउने तयारी छ। सोही अनुरुप लिम्बुलाई मंगलबारको प्रतिनिधि सभाको बैठकले उक्त समिति सदस्यमा मनोनयन समेत गरेको छ। हेमराज राईलाई स्थानान्तरण गरेर लिम्बुलाई सदस्य मनोनयन गरिएको हो।

यस्तै समिति सभापतिमा सुरुवातदेखि नै एमालेकै ठाकुर गैरेले पनि दाबी गर्दै आएका छन्।

संसदीय सुनुवाइ भने अहिले पनि ज्येष्ठ सदस्यकै अध्यक्षतामा चलिरहेको छ। कांग्रेसले समिति सभापतिमा ईश्वरी न्यौपानेलाई अघि बढाउने तयारी छ।