BIZMANDU
www.bizmandu.com

बेचन झा माथिको अनुसन्धान सकियो, हाइप्रोफाइल कनेक्सनको प्रमाण नै भेटिएन

२०८१ साउन २९

बेचन झा माथिको अनुसन्धान सकियो, हाइप्रोफाइल कनेक्सनको प्रमाण नै भेटिएन
बेचन झा माथिको अनुसन्धान सकियो, हाइप्रोफाइल कनेक्सनको प्रमाण नै भेटिएन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा माथिको अनुसन्धान सकिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि करिब डेढ महिना लामो अनुसन्धान गरे पछि राय सहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

Tata
GBIME
Zonsen

सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर मंगलबार नै मुद्दा दायर गर्ने तयारी गरेको छ। झालाई प्रतिवादी बनाएर पुरक अभियोगपत्र दायर गर्न लागिएको हो।

‘मंगलबार नै मुद्दा जान्छ होला। नभ्याएको खण्डमा बुधबार अदालतमा दर्ता गर्छौं,’ सरकारी वकिल कार्यालयका एक कर्मचारीले भने।

असार १४ गते झालाई नेपाल प्रहरीको विशेष ब्यूरोको टोलीले भारतबाट झिकाएर कञ्चन्पुर हुँदै काठमाडौं ल्याएको थियो। झा पक्राउ परेसँगै राजनितिक वृत्तदेखि प्रहरी प्रशासनमा समेत हलचल मच्चिएको थियो। झा पक्राउपछि नै सरकार समीकरण फेरिएको नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आरोप समेत लगाएका थिए।

शरणार्थी प्रकरणमा २०८० जेठ १० गते जिल्ला अदालत काठमाडौंमा संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखित किर्तेमा ३० जना प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। तर, अहिलेसम्म अन्तिम सुनुवाइ भएको छैन।

यसरी दायर भएको मुद्दामा बेचन झालाई भने प्रतिवादी बनाइएको थिएन। त्यसबेला उनको नाम र वतन लगायत नुखेलेका कारण उनलाई प्रतिवादी बनाइएको थिएन। यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन सचिव लगायत हाइप्रोफाइल नेता पक्राउ परेका थिए। केही धरौटीमा छुटे पनि रायमाझी, पूर्वसचिव लगायत केही अझै कारागारमा छन्।

झा पक्राउ परेपछि थप राजनितिक ‘कनेक्सन’ रहेका व्यक्तिहरुको संलग्नता खुल्ने भनिएको थियो। तर, प्रहरीको डेढ महिनासम्मको अनुसन्धानमा हाइप्रोफाइलको कुनै संलग्नता खुल्ने प्रमाण भेटिएन। प्रहरीले बुझाएको प्रतिवेदनमा राजनितिक कनेक्सन देखिने र बाहिर हल्ला गरिएको जस्तो व्यक्तिका संलग्नता भएको नखुलेको एक अनुसन्धान अधिकृतले बताए।

‘बाहिर हल्ला चलेको जस्तो केही प्रमाण भेटिएन। उसलाई पनि कारागारमा नै राखेर मुद्दा अगाडी बढ्ने जतिको पनि प्रमाण छैन,’ ती अनुसन्धान अधिकृतले सुनाए।

झाले केही समयता बिरामी भएको भन्दै बयान समेत दिएनन्। केही समयपछि बयान दिए पनि उनले इन्कारी बयान दिएका थिए।

यस प्रकरणमा पक्राउ परेका आरोपीले बयान र अनुसन्धानले संकेत गरेपछि प्रहरी झाको खोजीमा थियो। तर अनुसन्धान सुरु भएको केही समयमा नै पक्राउ पर्ने डरले उनी नेपाल छाडेर भागेका थिए।

२०७८ असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकमा भुटानी शरणार्थी प्रकरणमा बिचौलियालाई काम लाग्ने निर्णय गराउने भूमिकामा झा देखिएको बयान यसअघि पक्राउ परेका व्यक्तिले दिएका थिए।

अभियुक्त रामशरण केसीले भनेका थिए, ‘मन्त्रिपरिषद्को बैठकमा शरणार्थीसम्बन्धी हामीलाई केही काम लाग्ने निर्णयहरू हुन लागेका छन्, निर्णय गराउन बेचन झाले केही रकम मागेका छन्, उनलाई चेक काटी दिनु भनि सानु भण्डारीले भनेपछि मैले दिएको हुँ।’

केसीले हिमालयन बैंकमा रहेको खाताबाट २ करोड रुपैयाँ झाको नाममा चेक काटेर २०७८ मंसिर ८ गते राति बानेश्वरको ह्वाइट हाउस सडक छेउमा चेक दिएको दाबी गरेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई वैशाख २५ मा पक्राउ गरेको थियो। दोस्रो चरणको पूरक अनुसन्धानमा झा केन्द्रमा रहेका थिए।