BIZMANDU
www.bizmandu.com

मलङ्गवाको यातायात कार्यालयले उठायो ६ करोड बढी राजस्व, सवारी करबाटै साढे चार करोड

२०८१ साउन २९

मलङ्गवाको यातायात कार्यालयले उठायो ६ करोड बढी राजस्व, सवारी करबाटै साढे चार करोड
मलङ्गवाको यातायात कार्यालयले उठायो ६ करोड बढी राजस्व, सवारी करबाटै साढे चार करोड

काठमाडौं । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड बढी राजस्व संकलन गरेको छ।

Tata
GBIME

गत आर्थिक वर्ष यस कार्यालयले ६ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व संकलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए।

उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत १४ लाख १५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट दुई लाख ९२ हजार ८४०, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत एक करोड ४६ लाख ३८ हजार ३१५ रुपैयाँ संकलन भएको कार्यालय प्रमुख यादवले बताए।

यस्तै, सवारीसाधन करबाट चार करोड ७३ लाख ११ हजार ४३६ राजस्व संकलन भएको कार्यालयले जनाएको हो।

कार्यालयले गत आर्थिक वर्षको चैत मसान्तको एक दिनमा ७० लाख बढी राजस्व संकलन गरेको थियो। समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो। जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलङ्गवा कार्यालयमा भीड लागेको थियो। उक्त दिन ७० लाख बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख यादवले बताए।

‘हामीले चैत मसान्तमा एकै दिन ७० लाखसम्म राजस्व संकलन गरेका थियौं। राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौं। जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षा (ट्रायल)समेत सुरु गरेका छौं। यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छ भने राजस्व संकलन दायरा फराकिलो भएको छ,’ उनले भने।

वि सं २०८० साल मंसिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो। हरिवन नगरपालिका–३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिइन्। यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो।