BIZMANDU
www.bizmandu.com

विश्वकप लिग-२ सिरिजको तयारीका लागि नेपाली क्रिकेट टोली बेङ्ग्लोरतर्फ, २ हप्ता ट्रेनिङ गर्ने

२०८१ साउन २८

विश्वकप लिग-२ सिरिजको तयारीका लागि नेपाली क्रिकेट टोली बेङ्ग्लोरतर्फ, २ हप्ता ट्रेनिङ गर्ने
विश्वकप लिग-२ सिरिजको तयारीका लागि नेपाली क्रिकेट टोली बेङ्ग्लोरतर्फ, २ हप्ता ट्रेनिङ गर्ने

काठमाडौं। नेपाली क्रिकेट टोली आज भारतको बेङ्ग्लोर प्रस्थान गरेको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो।

Tata
GBIME
Zonsen

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले नेपाल क्रिकेट संघले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)सँग समन्वय गरेर गराएको यो पहिलो अभ्यास भएको दाबी गरे।

‘नेपाल क्रिकेट संघले पहिलो पटक बीसीसीआईसँग अफिसियल समन्वय गरेर अभ्यास गर्न गइरहेको हो,’ उनले भने।

प्रवक्ता लामाका अनुसार नेपाली क्रिकेट टोलीले बेङ्ग्लोरको नेसनल क्रिकेट एकेडेमीमा दुई हप्ता ट्रेनिङ गर्नेछ।

क्रिकेट विश्वकप लिग-२ का लागि अघिल्लो साता २२ सदस्यीय प्रारम्भिक टोली क्यानले घोषणा गरेको थियो।

‘अभ्यास म्याचका लागि पनि छलफल गरिरहेका छौँ। अहिले दुई हप्ता अभ्यास गर्ने चाहिँ पक्का भएर गएको हो,’ प्रवक्ता छुम्बी लामाले भने।

क्यानको क्यालेन्डर अनुसार सेप्टेम्बर महिनामा नेपाल, क्यानडा र ओमनबीच लिग-२ को ओडीआई सिरिजसँगै टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि हुनेछ।

नेपालको प्रारम्भिक टोलीमा टी-२० विश्वकप खेलमा देब्रे हाते प्रतिश जिसी र अभिनास बोहोरा छैनन्। त्यस्तै, नेपाल ‘ए’ बाट उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका बसीर अहमद, पेसर रिजन ढकाल, सिमर कमलसिंह ऐरी, युवा खेलाडी आकाश चन्द, यु-१९ कप्तान देव खनाललगायतले स्थान बनाएका छन्।

लिग-२ मा दवाब कम गर्ने अवसर

क्रिकेट विश्वकप लिग-२ नेपाल लगायतका शीर्ष एसोसिएट टोलीका लागि एकदिवसीय विश्वकप पुग्ने एउटै बाटो हो। साथै एकदिवसीय मान्यता जोगाउने पनि अवसर हो। यो तीन वर्षे लिगमा ८ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।

हाल अंकतालिकामा ७ खेलबाट ९ अंक जोड्दै स्कटल्यान्ड शीर्षस्थानमा छ। दोस्रो स्थानमा ५ खेलबाट ८ अंक जोडेको क्यानडा, तेस्रो स्थानमा ८ खेलबाट ८ अंक बनाएको नामिबिया तथा चौथो स्थानमा ५ खेलबाट ६ अंक जोडेको नेदरल्यान्ड्स छ।

तालिकाको पाँचौँ स्थानमा ४ खेलबाट ३ अंक बनाएको ओमन रहँदा समान ४ खेल खेलेको नेपालको खातामा २ अंक छ। तीन खेल खेलेको यूएई अंकविहीन छ भने अमेरिकाले लिग-२ मा आफ्नो पहिलो सिरिज खेल्नै बाँकी छ।

टी-२० विश्वकपपछि नेपाली क्रिकेट टोलीले अर्को खेल खेलेको छैन। नेपालका केही खेलाडीले बाहिर फ्रेन्चाइज लिग खेले पनि अब टी-२० फर्म्याटबाट एकदिवसीय फर्म्याटमा स्वीच गर्ने चुनौती नेपाली टोलीलाई हुनेछ।

नेपाली प्रारम्भिक टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसीर अहमद, आकाश चन्द, सागर ढकाल, सुन्दीप जोरा