काठमाडौं। सेयर बजारमा आइतबार तीन वटा रेकर्ड बन्यो। नेप्से ९४.४६ अंकले बढ्दा कीर्तिमानी कारोबार भयो। २५ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भयो। यो एकैदिन भएको अहिलेसम्मकै उच्च कारोबार हो।
कारोबार रकमले बजारमा यो महिनामा मात्र तेस्रो पटक रेकर्ड ब्रेक गरेको हो।
२०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको सेयर किनबेचसहित बजारले रेकर्ड बनाएको थियो। त्यसलाई उछिन्ने गरी साउन १६ गते २१ अर्ब ९१ करोडको कारोबार भयो। उच्च कारोबारको त्यो रेकर्ड केही दिनमै तोडियो।
साउन २२ गते नेप्से १४५ अंकले घट्दा २३ अर्ब ७१ करोड रुपैयाँको सेयर किनबेचसहित बजारले कारोबारमा उचाइ लियो। बजारले आइतबार त्यसलाई तोडेको छ। पछिल्लो सात दिनमा ६ दिन २० अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
आइतबार सेयर भोलुममा पनि रेकर्ड बन्यो। ६ करोड २ लाख कित्ता सेयर किनबेच भयो।
सेयर कारोबार र नेप्सेको ग्राफ उकालो लाग्न सुरु भएको भने एक महिनाभन्दा धेरै भएको छ। असार १७ गते संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालले सत्ता समीकरणको सहमति गरेयता सेयर बजारमा उत्साह छाएको छ।
दुई दलको गठबन्धनले छाएको उत्साहमा मौद्रिक नीतिले पनि साथ दियो। नेपाल राष्ट्र बैंक साउन ११ गते चालु वर्षको मौद्रिक नीतिमार्फत सेयर बजार मैत्री बन्यो। उसले बजारलाई फेबर हुने गरी नीतिगत लचकता लियो।
यिनै कारण असार १७ गते २०५३ अंकमा रहेको नेप्से आइतबार २८६०.८४ विन्दुमा पुगेको छ। नेप्सेले लिएको यो उचाइ २०७८ माघपछिकै धेरै हो। एक महिनामा नेप्से ३९.३४ प्रतिशतले उकालो लागेको छ। यो बीचमा लगानीकर्ताको सम्पत्ति १२ खर्ब ८४ अर्ब रुपैयाँले वृद्धि भएको छ।
असार १७ गते ३२ खर्ब ५६ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण आइतबार ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। बजार पुँजीकरणमा पनि यो कीर्तिमान हो। यसअघि २०७८ भदौ २ गते नेप्से ३१९८ विन्दुमा हुँदा बजार पुँजीकरण ४४ खर्ब रुपैयाँ थियो। त्यो नै बजार पुँजीकरणको रेकर्ड थियो।
एक महिनायता बजारको उकालो ट्रेन्डले कारोबार भोलुम र नेप्से सूचक बढाएको त छ नै, केही कम्पनीहरूको सेयर मूल्य आधारभूत वित्तीय सूचकसँग तालमेल नै नमिल्ने गरी उचालिएको छ।
आइतबार सकारात्मक सर्किट लागेका १७ कम्पनीको सूचीमा अधिकांश वित्तीय विवरण कमजोर भएका कम्पनी छन्।
सेयर भोलुम थोरै भएका कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा बढाउन क्लबहाउस लगायत समाजिक सञ्जालमा विभिन्न ग्रुप सक्रिय छन्।
खराब वित्तीय अवस्था भएका कम्पनीको अस्वाभाविक मूल्य वृद्धिले सेयर बजारमा भइरहेको कारोबारमाथि सार्वजनिकरुपमै प्रश्न उठिरहेको छ।
पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत कम्पनीको वित्तीय अवस्थामा फेरबदल नआइ सेयर मूल्य दिन दिनै सर्किट लागेर बढ्नुलाई स्वाभाविक मान्दैनन्।
‘सेयर बजार बढ्नु नराम्रो होइन। तर कतिपय खराब वित्तीय अवस्था भएकै कम्पनीको मूल्य लगातार उच्च दरमा बढिरहेको छ। जुन स्वाभाविक छैन,’ उनले बिजमाण्डूसँग भने, ‘यसो हुँदा आमसर्वसाधारण लगानीकर्ताको सम्पत्ति जोखिममा पर्छ। बजारमा हुने चलखेललाई नियमनकारी निकायहरूले हेर्नुपर्छ।’
अर्थतन्त्रका सूचक एक महिनाअघि जस्तो थिए आज पनि त्यस्तै छन्। कुनै फेरबदल भएको छैन। कम्पनीको वित्तीय अवस्थामा कुनै सुधार नआइ सेयर मूल्य भने उकालो लागिरहेको छ।
चैतसम्म प्रति सेयर आम्दानी ०.३७ रुपैयाँ र प्रति सेयर नेटवर्थ १०१.३३ रुपैयाँ रहेको नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य आइतबार सर्किट लागेर प्रति कित्ता २२२ रुपैयाँ पुगेको छ। कम्पनीको एक वर्षको न्यूनतम १२६ रुपैयाँ हो।
यस्तै, खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा पनि आइतबार सकारात्मक सर्किट लाग्यो। सेयर भाउ प्रति कित्ता ३०५ रुपैयाँ पुगेको यो कम्पनीको प्रति सेयर आम्दानी १.०३ रुपैयाँ ऋणात्मक छ भने प्रति सेयर नेटवर्थ ८५.०१ रुपैयाँ मात्र छ।
शुभम पावरको सेयर मूल्य आइतबार प्रति कित्ता ८२ रुपैयाँ बढेर ९०२ रुपैयाँ पुग्यो। गत चैतसम्म यो कम्पनीको प्रति सेयर आम्दानी ४.७० रुपैयाँ ऋणात्मक र प्रति सेयर नेटवर्थ ८७.२२३ रुपैयाँ छ। यसले कम्पनीको खराब स्थितिलाई जनाउँछ।
प्रति सेयर आम्दानी ३.५८ र प्रति सेयर नेटवर्थ १०२ रुपैयाँ मात्र रहेको मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रति कित्ता ९५९ रुपैयाँ पुगेको छ।
एक वर्षमै २४७ रुपैयाँबाट नेपाल फाइनान्सको सेयर मूल्य लगातार उकालो लागेर अहिलेसम्मै उच्च २२४१ रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय सूचक कमजोर रहेपनि सेयर मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन।
कम्पनीको सेयर मूल्य बजारमा माग र आपूर्तिले निर्धारण गर्ने भए पनि खेलाडीहरूले खासगरी भोलुम कम भएका कम्पनीको भाउ विभिन्न माध्यमबाट माग सिर्जना गराएर बढाउने जानकारहरू बताउँछन्। उनीहरू वित्तीय अवस्था खराब भएका कम्पनीको भाउ अहिले लगातार उकालो लाग्नुलाई चलखेलको नतिजा भन्छन्।
‘कम्पनीको सेयर मूल्य वित्तीय अवस्थाभन्दा बजारमा माग र आपूर्तिले निर्धारण गरेको पाइन्छ। त्यो डिमान्ड क्रियट गरेपछि कम्पनीको मूल्य बढिहरेको हुन्छ। त्यो जुनसुकै वेबाट पनि हुन सक्छ,’ एक मर्चेन्ट बैंकरले भने, ‘तर खराब वित्तीय अवस्था भएका कम्पनीमा लगानी गर्दा लगानीकर्ताको सम्पत्ति जोखिममा त पर्छ।’
ती मर्चेन्ट बैंकरले वित्तीय अवस्था खराब भएको जान्दा जान्दै भोलुम कम भएको कम्पनीमा मुनाफा धेरै हुने लोभमा लगानीकर्ता झुम्मिएको बताए।