BIZMANDU
www.bizmandu.com

स्वास्थ्य बीमाको दायरा ५ लाख बनाउने स्वास्थ्य मन्त्रीको रणनीति, नसर्ने रोग हेर्ने छुट्टै इकाई

२०८१ साउन २७

स्वास्थ्य बीमाको दायरा ५ लाख बनाउने स्वास्थ्य मन्त्रीको रणनीति, नसर्ने रोग हेर्ने छुट्टै इकाई
काठमाडौँ, २७ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तय गर्नुभएको स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकताहरू आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै। तस्बिरः हरिराम भेटुवाल÷रासस


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवा सुधार गर्नका लागि आवश्यक रणनीति ल्याउने बताएका छन्।

Tata
GBIME
NLIC

आज मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्दै उनले स्वास्थ्य बीमाको रकम बढाउनेबारे पनि छलफल भइरहेको बताएका हुन्।

उनले भने, ‘स्वास्थ्य बीमाको हालको दायरा कम्तीमा पाँच लाख बनाउने गरि फराकिलो बनाउने, सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आबद्धतालाई द्रुत गतिमा बढाउन र स्वास्थ्य बीमाको नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ’

सो अवसरमा उनले राजधानीमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यथाशिघ्र केन्द्र स्थापनाका लागि पहल गर्ने उनले बताए।

बागमती बाहेकका अन्य ६ प्रदेशमा सहिद गंगालाल हृदय केन्द्रको समन्वयमा मुटु रोग उपचारको सेवा विस्तार, सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गर्ने योजना पनि उनले सुनाए। साथै, वैदेशिक रोजगारीमा जाने र गएका नेपाली नागरिकको मृत्युदर घटाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको सहकार्यमा वैदेशिक रोजगारीमा जाने नागरिकको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाइने योजना रहेको पनि जानकारी दिए।

यस्तै, नसर्ने रोगको भार बढेको भन्दै उनले नसर्ने रोग र मानसिक स्वास्थ्य हेर्ने छुट्टै इकाई स्थापना गरिने पनि उनले बताए। उनले आयुर्वेद र वैकल्पिक चिकित्सा, उपचारात्मक सेवा विस्तार र विकास, औषधि, गुणस्तर र नियमन, पोषण, स्वास्थ्य जनशक्तिको व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य सेवा ऐनको तर्जुमा गरिनेलगायतका विषयमा आफ्ना कार्ययोजनाहरु प्रस्तुत गरेका थिए।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफलपछि प्राथमिकता छुट्याएको भन्दै उनले यी विषयलाई कार्यान्वयनको प्रतिबद्धता जनाएका छन्।