BIZMANDU
www.bizmandu.com

मेन्टिनेन्स किटको असन्तुलनले सौर्यको जहाज खसेको प्रारम्भिक अनुसन्धानको निष्कर्ष

२०८१ साउन २७

मेन्टिनेन्स किटको असन्तुलनले सौर्यको जहाज खसेको प्रारम्भिक अनुसन्धानको निष्कर्ष
मेन्टिनेन्स किटको असन्तुलनले सौर्यको जहाज खसेको प्रारम्भिक अनुसन्धानको निष्कर्ष


काठमाडौं। मर्मत सम्भारका लागि राखिएको सामान (मेन्टिनेन्स किट) बाँधेर नराख्दा असन्तुलन भइ सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

Tata
GBIME

उच्च स्रोतका अनुसार टेकअफ गर्ने क्रममा किट सर्दा असन्तुलन भएर जहाज तल झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।

‘पहिलो कुरा त जहाजको क्षमताभन्दा निकै कम संख्यामा यात्रु राख्दा सेन्टर अफ ग्राभिटी (सीजी) असन्तुलन हुने सम्भावना धेरै हुन्छ। अर्कातर्फ जहाज मर्मतका लगिएको उपकरण नै नबाँधिएकाले त्यो सरेर एकातर्फ लोड बढी भएको अनुसन्धानबाट देखिएको छ,’ स्रोतले भन्यो ,’जहाजभित्र कम यात्रु त्यसमा पनि यस्ता विषयलाई ध्यान नदिंदा धेरै दुर्घटना भएका उदाहरण छन्।’

सौर्य एयरलाइन्सको जहाज साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो।

जहाजको यात्रु बस्ने अघिल्लोदेखि पछिल्लो र दायाँबायाँ वजन सन्तुलन नमिलाउँदाको अवस्थामा प्रिम्याच्योर ‘टेक अफ’को सम्भावना धेरै हुने एक हवाई विज्ञले बताए। नियमित व्यावसायिक उडानमा चालक दलले नै यात्रुको सिट व्यवस्थापन गर्छ। तर, मर्मत सम्भारका लागि पोखरा उडान गरिएको सौर्य एयरलाइन्सको जहाजमा सबैजसो यात्रु कम्पनीका दक्ष प्राविधिक थिए। जसलाई ‘फेरि फ्लाइट’ भनिन्छ।

५० सिट क्षमताको जहाजमा १९ जना थिए। त्यसमा पनि सबैजना एक आपसमा निकट भएकाले लोड व्यवस्थापनमा समस्या भएको हुनसक्ने अनुमान गरिएको छ।

‘जहाजमा फिजिक्स झन् संवेदनशील छ। जहाज टेकअफ लगत्तै एकातिर धेरै ढल्किएको देख्दा सेन्टर अफ ग्राभिटीकै जोखिम अत्यधिक छ,’ स्रोत भन्छ, ‘पाइलटले उडान अघि प्रेस दिएर लिफ्ट दिँदा स्पिड हुनु अगाडि नै प्रिम्याच्योर टेक अफ भएको देखिन्छ।’

सरकारले दुर्घटनालगत्तै साउन ९ गते छानबिनका लागि जाँचबुझ आयोग गठन गरिसकेको छ। आयोगलाई ४५ दिनको समय दिइएको छ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठित आयोगमा दिपु ज्वारचन, सञ्जय अधिकारी, सुदीप भट्टराई र मुकेश डंगोल सदस्य छन्।

ज्वारचन नेपाल वायु सेवा निगमका क्याप्टेन हुन्। अधिकारी पनि निगमकै कर्मचारी हुन्। भट्टराई पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाउँछन् भने डंगोल क्यानका एयर ट्राफिक कन्ट्रोलर हुन्।

साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा जहाज मेन्टिनेन्सका लागि उडान गर्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो। दुर्घटनामा क्याप्टेन मनीषरत्न शाक्य बाँच्न सफल भएका थिए। जाँचबुझ आयोगले क्याप्टेन शाक्यसँग दुई पटक भेटेर दुर्घटनाबारेमा जानकारी लिएको छ।

उड्डयन क्षेत्रमा सेन्टर अफ ग्राभिटी भनेको के हो?

उड्डयन क्षेत्रमा सेन्टर अफ ग्राभिटी (सीजी)लाई आधारभूत सिद्धान्तका रुपमा लिइन्छ। यसमा जहाजको वजन सन्तुलित बनाउनुपर्ने हुन्छ।

जहाज उडानको प्रमुख मेरुदण्ड नै सेन्टर अफ ग्राभिटीलाई मानिएको हुन्छ। जहाजभित्र यात्रुलाई गन्तव्य, उडान उचाइ, मौसम लगायत आधारमा वजन व्यवस्थापन गरिएको हुन्छ।

सेन्टर अफ ग्राभिटीले नै हवाईजहाजको उडान सहज र  सुरक्षित कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। जानकारहरुका अनुसार सीजी व्यवस्थापन नभएको अवस्थामा जहाज नियन्त्रण बाहिर गएर दुर्घटना हुने सम्भावना अत्यधिक हुन्छ।

इन्धन खपत, कार्गो व्यवस्थापन, यात्रुको  बसाइ लगायत कुरामा सीजी निर्भर हुने गर्दछ। यसको व्यवस्थापन जहाज उत्पादक कम्पनीले तयार गरेको निर्देशिका अनुसार पालना गरिन्छ।