सूर्यचौर (नुवाकोट)। काठमाडौं विमानस्थलबाट उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोट प्रवेश लगत्तै दुर्घटनामा परेको देखिएको छ। काठमाडौं जिल्लाको सीमामा रहेको सूर्यचौर नजिकै पुगेपछि हेलिकप्टर दुर्घटनामा परेको हो।
‘सेनाको चेकिङ क्याम्पबाट १० मिनेटजति हिँड्दा दुर्घटनास्थल पुगिन्छ। त्यसैले उद्धारमा सुरक्षाकर्मी छिटै पुगेको देखिन्छ,’ घटनास्थल पुगेका बिजमाण्डूका पत्रकार रविन खाकीले भने, ‘सूर्यचौर नजिकै हेलिकप्टर चार/पाँच कान्ला तलतिर झरेको देखिन्छ।’ घटनास्थलमा यतिखेर सुरक्षाकर्मी र स्थानीयको बाक्लो उपस्थिति छ।
दुर्घटना परेको हेलिकप्टर पूर्ण रुपमा जलेको छ। ‘हेलिकप्टर भन्ने चिन्न टेल (पुछर)मात्र देखिन्छ। बाँकी केही सद्धे देखिन्न। हेलिकप्टर नै हो भन्ने अरु कुनै संकेत बाँकी छैन,’ खाकीले भने।
हेलिकप्टर दुर्घटना भएसँगै आगो लागेको थियो। त्यहाँ पुगेका सुरक्षाकर्मीले माटो कोट्याउँदै आगो निभाउने प्रयास गरेका थिए। दुर्घटनास्थलमा यत्रतत्र हेलिकप्टरका अंशहरु भने टुक्राटुक्रा अवस्थामा देखिन्छ।
‘जमिनमा खसेर कान्लातिर झर्दा रुख र बुट्यानमा लछारिएको देखिन्छ,’ उनले भने, ‘केही लत्ताकपडा र दुर्घटनामा परेका मानिसको अंग पनि हाँगामा देखियो।’ घटनास्थल नजिकै ब्याट्री लगायतका इक्विपमेन्ट पनि छरपस्ट देखिएको छ।
बिजमाण्डू सहकर्मी समर्थ रञ्जितका अनुसार दुर्घटनास्थल नजिकै हेलिप्याडसमेत छ। गोसाइँकुण्डमा मेला लाग्दा सूर्यचौरको यही हेलिप्याडबाट निजी हेलिकप्टर कम्पनीहरुले तीर्थयात्रुलाई ओसारपसार गर्ने गर्छन्।
बुधबारको घटनामा घटनास्थलबाट शव संकलन भइसकेको छ। समुन्द्री सतहबाट झन्डै २ हजार मिटर उचाईमा रहेको सूर्यचौर नुवाकोट प्रवेशको हवाई रुट हो।लाङटाङ भ्याली, गोसाइकुण्डका अलावा चीनसँगको सीमा केरुङ नाका हेलिकप्टरमार्फत् चार्टर फ्लाइट हुने गर्छ।
घटनास्थल पुगेका बिजमाण्डू सहकर्मी रोजन श्रेष्ठका अनुसार दुर्घनास्थलमा छिनमै हुस्सु लाग्ने र छिनमै खुल्ने भइरहेको छ। दुर्घटना भएको करिब १५ मिनेटभित्रमा नै सुरक्षाकर्मी त्यहाँ पुगेको स्थानीयले उदृत गर्दै श्रेष्ठले बताए।
सुरक्षा निकाय र सडक यातायात पनि दुर्घटनास्थल नजिक भएकाले हेलिकप्टर दुर्घटनास्थल पहिचान गर्न सजिलो भएको थियो। काठमाडौंबाट करिब २२ किलोमिटर सडक दुरी भए पनि दुर्घटनास्थल त्रिभुवन विमानस्थलबाट १५ किलोमिटरभन्दा कम दुरीको एयर डिस्टेन्समा रहेको छ। नागार्जुन शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्घटना भएको देखिन्छ।
दुर्घटना भएको केही मिनेटमा नै शिवपुरी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष वीरबहादुर तामाङ घटनास्थल पुगेका थिए। उनी पुग्दा स्थानीय र प्रहरीले उद्धार सुरु गरिसकेका थिए। अध्यक्ष तामाङले हेलिकप्टरको नियमित रुटमा दुर्घटना हुनु अप्रत्यासित भएको बताए।
‘यो ठाउँ दुर्घटना हुने जोखिम भएको जस्तो लाग्दैन। सधैं हेलिकप्टरहरु तलबाट नै वारपार गर्दै आएका थिए,’ उनले भने।