इलोन मस्कको सोसल मिडिया कम्पनी एक्स (ट्विटर)ले ठूला कम्पनीहरूको एक समूहविरुद्ध मुद्दा हाल्ने भएको छ। उक्त समूहले गैरकानूनी रूपमा एक्सलाई बहिष्कार गर्ने षड्यन्त्र गरेको आरोप कम्पनीले लगाएको छ।
एक्सले खाद्य कम्पनी युनिलिभर र मार्स तथा निजी स्वास्थ्य सेवा कम्पनी सीभीएस हेल्थ र नवीकरणीय ऊर्जा कम्पनी ओर्सटेडका साथै वर्ल्ड फेडेरेसन अफ एडभर्टाइजर्स (डब्लुएफए) नामक ट्रेड एसोसिएसनविरुद्ध कम्पनीलाई ‘अर्बौ डलर’ बराबरको विज्ञापनबाट वञ्चित गरेको आरोप लगाएको छ।
उक्त मुद्दा २०२२ को अवधिसँग सम्बन्धित छ जतिबेला मस्कले ट्विटर कम्पनी किनेका थिए। मस्कले कम्पनी किनेपछि विज्ञापनदाताहरूले प्लेटफर्मलाई बेवास्ता गर्दा एक्सको विज्ञापन आम्दानी आधाभन्दा बढीले घटेको थियो।
नयाँ मालिकले वेबसाइटबाट हानिकारक अनलाइन सामग्री हटाउनका लागि गम्भीर नभएको चिन्ता व्यक्त गर्दै केही कम्पनीहरूले एक्समा विज्ञापन गर्न छाडेका थिए।
एक्सकी प्रमुख कार्यकारी लिन्डा याकारिनोले भनेकी छिन्, ‘विचारको बजार संकुचित हुँदा मानिसहरु दुखित भएका छन्। कुनै पनि एउटा सानो समूहले बजारमा एकाधिकार राख्नु हुँदैन।’
मस्कले ट्वीट गरेका छन्, ‘हामीले २ वर्षसम्म असल व्यवहार देखायौं। तर खाली शब्दहरू बाहेक केही पाएनौं। अब युद्ध सुरु भएको छ।’
डब्लुएफए र आरोपित कम्पनीहरूले यसबारे कुनै पनि प्रतिक्रिया दिएनन्।