BIZMANDU
www.bizmandu.com

रेडियो नेपालको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट, सञ्चार मन्त्रालयले माग्यो दरखास्त

२०८१ साउन २३

रेडियो नेपालको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट, सञ्चार मन्त्रालयले माग्यो दरखास्त
रेडियो नेपालको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट, सञ्चार मन्त्रालयले माग्यो दरखास्त


काठमाडौं। सरकारले रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)मा कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट नियुक्त गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सूचना जारी गर्दै योग्यता पुग्ने इच्छुकसँग दरखास्त आह्वान गरेको छ।

Tata
GBIME
NLIC

दरखास्त दिने व्यक्ति ३० वर्ष पुरा भइ ६५ ननाघेको हुनुपर्ने छ। शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने तोलिएको छ।

कानून बमोजिम दर्ता भएको सञ्चारमाध्यमको प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा काम गरेको वा आमसञ्चार सम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा रही काम गरेको वा पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनु पर्नेछ।

कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान प्राधिकरण बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको सेवामा रहेको वा सेवाबाट अवकाशप्राप्त दुवै व्यक्तिको हकमा कम्तीमा अधिकृत स्तरको पदमा काम गरेको, पत्रकार आचारसंहिता उल्लंघनअन्तर्गत सजाय नपाएको, प्रचलित नेपाल कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्ने सूचनामा छ।

इच्छुक व्यक्तिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष दरखास्त पेस गर्नुपर्ने जनाइएको छ। दरखास्तसँगै योग्यता तथा अनुभव समेत खुल्ने व्यक्तिगत विवरण,  नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि, अनुभव खुल्ने प्रमाण पत्रको प्रतिलिपि र नेपाली भाषामा तयार गरिएको बढीमा ५ हजार शब्दको व्यावसायिक कार्य योजना पनि पेस गर्नु पर्नेछ।

उम्मेदवारले पेस गरेको व्यावसायिक कार्य योजना, सोको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा नियुक्तिका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ।