काठमाडौं। खेतान समूहले गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इण्डियामा रहेको सेयर बेचेको छ। खेतान समूहसँग गोर्खा ब्रुअरीमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४३ प्रतिशत तथा कार्ल्सबर्ग इन्डियामा ३३.३३ प्रतिशत सेयर स्वामित्व थियो। यो सबै सेयर खेतान समूहले एक खर्ब रुपैयाँमा बिक्री गर्न डेनमार्कको कार्ल्सबर्ग समूहसँग सम्झौता गरेको हो।
कार्ल्सबर्गले आफ्नो साझेदार सीएसएपीएल (सिंगापुर) होल्डिङ्स प्रालिबाट कार्ल्सबर्ग साउथ एसिया प्रालि (सीएसएपीएल) मा बाँकी रहेको ३३.३३ प्रतिशत सेयर किन्ने सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौता अनुसार कार्ल्सबर्गले ७७ करोड ४० लाख अमेरिकी डलर (१ खर्ब ३ अर्ब रुपैयाँ)मा उक्त सेयर किन्ने भएको हो।
कार्ल्सबर्ग समूहका प्रमुख कार्यकारी अधिकृत जेकब आरुप एन्डरसनले दुई महत्वपूर्ण एसियाली व्यवसायको हिस्सा प्राप्त गर्न पाउँदा आफू खुसी बनेको प्रतिक्रिया दिएका छन्। ‘अब हामी यी दुवै बियर बजारमा दीर्घकालीन अवसर हेरेर लगानीलाई तीव्र बनाउन सक्छौं,’ उनले भने।
खेतान समूहले गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियामा रहेको उक्त स्वामित्व बिक्रीका लागि २०७९ माघमा प्रस्ताव गरेको थियो।
काल्सबर्गले खरिद गर्नुअघि गोर्खा ब्रुअरीमा चारजना सेयरधनी छन्। एक अर्ब ३९ करोड ८९ लाख ७५ हजार चुक्ता पुँजी भएको गोर्खा ब्रुअरीको सिंगापुरमा रहेको कम्पनी काल्सबर्ग साउथ एसियामा ९० प्रतिशत अर्थात एक अर्ब २५ करोड ९० लाख ७७ हजार पाँच सय रुपैयाँको सेयर छ।
त्यसैगरी कम्पनीमा तीन जना व्यक्तिगत सेयरधनी छन्। जसमध्ये राजेन्द्र कुमार खेतानसँग १३ करोड ९१ लाख पाँच हजार पाँच सय रुपैयाँको सेयर छ भने दिव्यमणि राजभण्डारीसँग ७ लाख २० हजार रुपैयाँ र कमल विक्रम सिंहसँग ७२ हजार रुपैयाँको सेयर छ। कार्ल्सबर्गले यसमध्ये हालका लागि खेतानसँग भएको सेयर खरिद गर्ने टुंगो लगाएको हो।
सम्बन्धित समाचार : खेतान समूहले गोर्खा ब्रुअरीको सेयर बेच्दै, एक खर्ब रुपैयाँमा बेच्न प्रस्ताव
डिल सन् २०२४ को अन्तिम त्रैमासभित्रै सम्पन्न हुने बुझिएको छ। सेयर खरिद बिक्रीका विषयमा नेपाल सरकारबाट स्वीकृति लगायत काम गरिने कार्ल्सबर्गले जनाएको छ।