BIZMANDU
www.bizmandu.com

बुलले उकासेको क्षणिक मनोबल : सेयरको रेकर्डले ढाकेको आर्थिक संकट चिर्न कहाँ छन् अर्थमन्त्री?

२०८१ साउन १७

बुलले उकासेको क्षणिक मनोबल : सेयरको रेकर्डले ढाकेको आर्थिक संकट चिर्न कहाँ छन् अर्थमन्त्री?
बुलले उकासेको क्षणिक मनोबल : सेयरको रेकर्डले ढाकेको आर्थिक संकट चिर्न कहाँ छन् अर्थमन्त्री?


काठमाडौं। एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै नेपालको आर्थिक परिदृश्यमा नयाँ तरंग देखा परेको छ। सेयर बजारमा निरन्तर वृद्धि, दैनिक कारोबारीहरूको उत्साह र औद्योगिक, निर्माण तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढ्ने आशा जागेको छ। 

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई पनि लचिलो बनाएर यस उत्साहलाई थप बल दिएको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु वर्षका लागि जारी गरेको मौद्रिक नीतिमा केही महत्त्वपूर्ण परिवर्तन गरेका छन् :

– सेयर धितो कर्जामा संस्थागत लगानीकर्ताको सीमा खारेज।

– चालु पुँजी कर्जाको व्यवस्थामा लचकता।

– ऋणको माग बढाउन नियामकीय सहजीकरण।

– अनिवार्य तरलता अनुपात (सीआरआर) यथावत।

– ब्याजदर करिडोरको माथिल्लो सीमामा कटौती।

– बैंकहरूको पुँजी कोषमा सहजीकरण।

यी कदमले अर्थतन्त्रलाई गति दिने आशा जगाएका छन्। तर, के यो वास्तविक आर्थिक सुधारको संकेत हो वा केवल क्षणिक उत्साह?

अब अर्थतन्त्र सुधारको पहल लिने जिम्मेवारी अर्थमन्त्री पौडेलमाथि आएको छ। व्यवसायी, सेयर खेलाडी, बैंकरलगायतलाई मन्त्रालयमा परेड खेलाएर मात्र अर्थतन्त्र सुधार हुँदैन। उनले केही ठोस कदमहरू चाल्नै पर्छ।

बाह्य क्षेत्र र मूल्य स्थिरताको सबलतालाई आधार बनाएर अर्थमन्त्री पौडेलले ठोस काम गर्नुपर्ने आवश्यकता छ। ‘सरकार मनोबल बढाउन प्रयत्नशील छ’ भन्ने बयानबाजीले मात्र वास्तविक मनोबल उच्च हुँदैन।

दसैं नजिकिँदै गर्दा, जसले अर्थतन्त्रमा माग सृजना गर्छ, अर्थमन्त्रीले नीतिगत र प्रतिक्रियात्मक कदमहरू चाल्नुपर्छ। सेयर बजारको वृद्धिलाई मात्र आधार मानेर मख्ख पर्न थालियो भने पछिल्लो समयमा बढेको बजारले ‘नोज डाइभ’ मार्न सक्ने जोखिम रहन्छ। ‘विष्णु पौडेल आएपछि सेयर बजार हरियो हुन्छ’ भन्ने धारणाले अहिलेसम्म कमाएको साख डुब्न सक्छ।

अर्थमन्त्रीले तत्काल केही महत्त्वपूर्ण कदमहरू चाल्नुपर्छ :

– आयकरगत सुधार गरी बजारको माग बढाउने।

– खर्च बढाउन पहल लिने।

– बक्यौता दायित्वहरूको भुक्तानी सुनिश्चित गर्ने।

– निर्माण क्षेत्रलाई ऋणपत्र बिक्री गरी तरलता प्रदान गर्ने।

– वर्तमान बजेटलाई संशोधन गरी केही खास परियोजनाहरूमा प्राथमिकीकरण गर्ने।

– सार्वजनिक वित्तमा सुधार ल्याउने।

– आन्तरिक समष्टिगत माग बढाउने रणनीति अपनाउने।

यी कदमले सिमेन्ट, डन्डी उद्योग मात्र नभई समग्र अर्थतन्त्रमा ‘चेन इफेक्ट’ सिर्जना गर्न सक्छन्। हालसम्म पौडेलको छवि लोकप्रियतावादी अर्थमन्त्रीका रूपमा बनेको छ। तर, सस्तो लोकप्रियता दीर्घकालीन हुँदैन। केन्द्रीय बैंकबाट प्राप्त सकारात्मक सहयोग र अनुकूल सूचकांकहरूले अर्थमन्त्रीसँग ठोस कामको माग गरिरहेका छन्।

कर्मचारीको खाजा खर्च घटाउने, नयाँ गाडी नकिन्ने, विदेश भ्रमण नजाने भन्ने जस्ता लोकप्रियतावादी निर्णयले केही पनि नतिजा दिँदैन। चार पटक अर्थमन्त्री भइसकेको व्यक्तिबाट अब थप परिपक्वता र दूरदर्शिताको अपेक्षा गरिन्छ। 

प्रख्यात अर्थशास्त्री पाउल क्रुगम्यानले भनेका छन्, ‘आर्थिक नीति निर्माण केवल सही काम गर्ने कुरा मात्र होइन, यो कम्तीमा पनि गलत समयमा गलत काम नगर्ने कुरा पनि हो।’

नेपालको अर्थतन्त्र अहिले एक निर्णायक मोडमा छ। अर्थमन्त्री पौडेलले राजनीतिक चतुर्‍याइँलाई आर्थिक दूरदर्शितासँग जोड्न सके मात्र देशले दीर्घकालीन आर्थिक स्थिरता हासिल गर्न सक्नेछ। अन्यथा, छोटो अवधिको लोकप्रियताको भ्रममा फसेर देशको आर्थिक भविष्य धमिलो हुन सक्छ।

प्रधानमन्त्री केपी ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पौडेलले गर्ने सही कामले मात्र वास्तविकतामा उतार्न सक्छ। आउने दिनहरूमा अर्थमन्त्री पौडेलका कदमले नै निर्धारण गर्नेछ- नेपालको अर्थतन्त्र वास्तविक सुधारको बाटोमा अघि बढ्छ वा लोकप्रियताको भ्रममा अल्झिरहनेछ।