काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक अन्तिक सातादेखि दैनिक १० घण्टा बन्द गर्नुपर्ने भएपछि यस विषयमा वायु सेवा प्रदायक कम्पनीलाई बोलाएर छलफल गरेको छ।
क्यानले बुधबार आन्तरिक र बाह्य उडान गर्दै आएका कम्पनीका प्रतिनिधिलाई बोलाएर विमानस्थल धावनमार्ग, ट्याक्सी वे, पार्किङ बेलगायत बिस्तारका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गर्नु पर्ने भएकाले सोही अनुसार उडान तालिका मिलाउन आग्रह गरेको छ। क्यानले वायु सेवा प्रदायक कम्पनीहरुलाई यसबारेमा एक महिनाअघि नै जानकारी गराइसकेको थियो।
विस्तारको काम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ देखि चैत १८ सम्म दैनिक १० घण्टा बन्द हुनेछ। क्यानले बोलाएको छलफलमा सहभागी वायु सेवा प्रदायक कम्पनीहरुले सकेसम्म उडान कटौती नहुने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
उनीहरुले पर्यटकीय सिजनमा उडान धेरै कटौती हुँदा त्यबाट आफूहरु मर्कामा पर्ने भन्दै यसतर्फ क्यान गम्भीर हुनुपर्ने बताए।
कटौती गर्नै परेको अवस्थामा पनि कसैलाई पनि अन्याय नहुने वातावरण बनाउन आग्रह गरेको वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिए। ‘हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीमाथि भेद्भाव नहोस भनेका छौं,’ कार्कीले भने, ‘अब पर्यटकीय सिजन सुरु हुँदैछ। सिजनमै धेरै उडान कटौती भए हामीलाई अप्ठेरो पर्छ। त्यसैले उडान धेरै कटौती नहुने व्यवस्था मिलाउन आग्रह गरेका छौं।’
त्रिभुवन विमानस्थलमा अहिले बिहान ६ बजेदेखि राति २ बजेसम्म उडान हुने गरेको छ। आन्तरिकतर्फ २७४ र अन्तर्राष्ट्रियतर्फ १०० वटा उडान अवतरण हुने गरेको छ।