BIZMANDU
www.bizmandu.com

दुई महिनामा २५५ मेगावाट बिजुली थपिंदै, खपत बढाउन के छ कुलमानको योजना?

२०८१ साउन १४

दुई महिनामा २५५ मेगावाट बिजुली थपिंदै, खपत बढाउन के छ कुलमानको योजना?
दुई महिनामा २५५ मेगावाट बिजुली थपिंदै, खपत बढाउन के छ कुलमानको योजना?


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत हुन नसकेर करिब ७०० मेगावाट विद्युत भारतमा निर्यात गरिरहेका बेला राष्ट्रिय प्रसारण लाइनमा अढाइ सय मेगावाट बिजुली थपिन लागेको छ।

Tata
GBIME

प्राधिकरणले नै निर्माण गरिरहेका तीन वटा आयोजनाबाट अबको दुई महिनामा अढाइ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिन लागेको हो। ती आयोजनाले उत्पादनको अन्तिम तयारी गरिरहेका छन्।

प्राधिकरणका अनुसार मध्य भोटेकोशी र रसुवागढी जलविद्युत आयोजनाकाे बिजुली दुई महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। मध्य भोटेकोशी १०२ मेगावाट र रसुवागढी १११ मेगावाट क्षमताका आयोजना हुन्।

यस्तै ४२‍.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनामा पनि निर्माणको काम सम्पन्न भइसकेको छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल डंगोलले आयोजनामा निर्माणको सबै काम पूरा भएपनि प्रसारण लाइन नभएका कारण बिजुली उत्दादन नगरेको बताए। ‘प्रसारण लाइनको काम पूरा हुनासाथ हाम्रो आयोजनाले बिज‍ुली उत्पादन सुरु गर्छ,’ उनले भने।

मध्य भोटेकोसी जलविद्युत आयोजना जेनेरेसनको अन्तिम तयारीमा छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटीले आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न दुई महिनाभित्र सबै तयारी पूरा हुने बताए। ‘आयोजना टेस्ट गर्दा टनेलमा लिकेज भएको थियो। अहिले त्यसको रेक्टिफिकेसनको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘सेप्टेम्बरमा जेनेसेरन गर्ने गरी काम भइरहेको छ।’

आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्रसारण लाइनको पनि काम भइरहेको छ। प्रसारण लाइन अन्तर्गत ६ वटा टावरमा तार तान्ने काम बाँकी छ। यो काम दुई महिनाभित्र सकिइसक्नेछ।

रसुवागढी जलविद्युत आयोजना गत वैशाखमै व्यावसायिक उत्पादनका लागि तयार भएको थियो। तर, प्रसारण लाइनको काम नसकिएका कारण व्यावसायिक उत्पादन नगरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत छविलाल गैरेले बताए। ‘प्रसारण लाइनको काम सम्पन्न नभएकाले हामी विद्युत उत्पादन गर्न रोकिएका छौं,’ उनले भने।

प्रसारण लाइन नभएका कारण आयोजनाले बिजुलीको परीक्षण गर्न पाएको छैन। ‘आयोजनाको बिजुली टेस्टिङ गर्न १३२ केभी प्रसारण लाइन चाहिन्छ। प्रसारण लाइनको काम अहिले धमाधम भइरहेको छ,’ गैरेले भने, ‘एक महिनाभित्र काम सम्पन्न भइसक्ने जानकारी आएको छ। निर्माण सकिनासाथ आयोजनाले व्यावसायिक उत्पादन थाल्छ।’

आयोजनाको बिजुली चिलिमे र त्रिशुली हवको २२० केभी प्रसारण लाइनबाट राष्ट्रिय प्रणालीमा जडान हुनेछ।

खपत बढाउन के छ योजना?

प्राधिकरणले अहिले देशभित्र खपत हुन नसकेर विभिन्न १६ आयोजनाको ६९० मेगावाट विद्युत भारतमा निर्यात गरिरहेको छ। आन्तरिक बजारमा माग बढ्न नसकेको अवस्थामा थपिन लागेको अढाइ सय मेगावाट विद्युत खपतका लागि प्राधिकरणको योजना के छ त? प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भारतमा निर्यात बढाउने तयारी रहेको बताए।

‘हाम्रो मुख्य जोड देशभित्रै खपत गराउनमा हुनेछ। तर, यहाँ माग बढ्न नसकेको अवस्थामा हामी भारतमा निर्यात बढाउँछौं। हामीले भारतको विद्युत व्यापार निगम एनभीभीएनसँग थप ५०० मेगावाट निर्यातका लागि स्वीकृति मागेका छौं। त्यसमध्ये ४०० मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा छ। भारतले स्वीकृति दिनासाथ निर्यात बढ्छ। हामीलाई बजारको समस्या हुँदैन,’ घिसिङले बिजमाण्डूसँग भने।

प्राधिकरणले गत आर्थिक वर्ष भारतमा १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँको विद्युत निर्यात गरेको थियो। प्रति युनिट औसत ८.७२ रुपैयाँमा १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् निर्यात गरेको हो। २०७५ जेठमा लोडसेडिङ अन्त्य गरेको प्राधिकरण आयातभन्दा निर्यात धेरै गरेर विद्युतको खुद निर्यातकर्ता बनेको छ। प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको थियो।