काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा. डा. शिवराज अधिकारीलाई नियुक्त गरेका छन्।
आयोगमा प्रधानमन्त्री अध्यक्ष हुन्छन्। पुष्पकमल दाहालको सरकारका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा गरेपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपाध्यक्ष बनाएको हो। उनी यसअघि आयोगमा सदस्य थिए।
त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक अधिकारीले थाइल्याण्डको चुलालोंगकोर्न विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्। उनी त्रिवि केन्द्रीय अर्थशास्त्र विभागका पूर्वप्रमुख पनि हुन्।
उनी अन्तर्राष्ट्रिय स्वास्थ्य अर्थशास्त्र संघ लगायत थुप्रै व्यावसायिक संस्थाहरूको सदस्य छन्। साथै नेपाल वातावरण तथा स्वास्थ्य प्रणाली विकास संस्थाका अध्यक्ष पनि छन्।
उनी स्वास्थ्य नीति र स्वास्थ्य सेवा वित्तीयकरणसँग सम्बन्धित विभिन्न मुद्दाहरूको अध्ययन गर्ने उच्च-प्रोफाइल अनुसन्धान परियोजनाहरूमा संलग्न छन्।
मन्त्रिपरिषद् बैठकले आयोगमा ६ जना सदस्य पनि नियुक्त गरेको छ। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार महोत्तरीका डा. आरपी बिच्छा, धनुषाका डा. रमेश प्रसाद सिंह, अर्घाखाँचीका डा. प्रकाशकुमार श्रेष्ठ, झापाकी गीताकुमारी पौडेल अधिकारी, अर्घाखाँचीका डा. जयबहादुर टण्डन र दार्चुलाका गंगादत्त अवस्थी आयोगको सदस्य नियुक्त भएका हुन्।
सदस्य नियुक्त भएकामध्ये सिंह अवकाशप्राप्त सचिव हुन्। बिच्छा यसअघि पनि नेपाली कांग्रेसको भागमा आयोगको सदस्य भएका थिए। उनी पनि अवकाशप्राप्त कर्मचारी हुन्। यस्तै श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्।