BIZMANDU
www.bizmandu.com

गम्भीर लापरबाहीमा आँखा चिम्लिन दिइन्छ राजनीतिक दबाब, कहाँबाट हुन्छ आकाश सुरक्षित?

२०८१ साउन ९

गम्भीर लापरबाहीमा आँखा चिम्लिन दिइन्छ राजनीतिक दबाब, कहाँबाट हुन्छ आकाश सुरक्षित?
गम्भीर लापरबाहीमा आँखा चिम्लिन दिइन्छ राजनीतिक दबाब, कहाँबाट हुन्छ आकाश सुरक्षित?

काठमाडौं। युरोपियन युनियन (ईयू)ले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (एनएसी)को जहाज उडानमा गम्भीर लापर्बाही भएको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गत मंसिरमा कारबाही प्रक्रिया अगाडि बढायो।

Tata
GBIME
Zonsen

क्यानले एनएसीका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै किन नहटाउने भन्दै सात दिने स्पष्टीकरण सोध्यो।

त्यसअघि भदौ अन्तिममा ईयूको प्राविधिक टोलीले एक साता लगाएर नेपालको हवाई अडिट गरेको थियो। त्यो बेलामा टोलीले एनएसीको स्थलगत अध्ययन गर्‍यो। अध्ययनका क्रममा टोलीले एनएसीको सुरक्षा व्यवस्थापन प्रणाली (सेफ्टी म्यानेजमेन्ट सिस्टम)मा गम्भीर लापर्बाही गरिएको देख्यो। ‘निगमको सुरक्षा व्यवस्थापन प्रणाली र अपरेसनल कम्प्लायन्समा अभाव देखिएको छ,’ ईयूले आफ्नो प्रतिवेदनमा भन्यो, ‘जोखिम पहिचान र व्यवस्थापन गर्न अपर्याप्त छ।’

ईयूले नै गम्भीर लापर्बाही औंल्याएपछि क्यानले स्पष्टीकरण सोधेका अध्यक्ष अधिकारीमाथि कारबाही नगर्न राजनीतिक दबाब आयो। तात्कालीन पर्यटनमन्त्री सुदन किरातीले अधिकारीलाई जोगाउन पहलकदमी लिए। क्यानको उच्च तहले उडान सुरक्षामा गरिएको गम्भीर लापर्बाहीमा कारबाही गर्नुपर्छ भन्दा किरातीले सुनेनन्। राजनीतिक दबाबमा अधिकारी कारबाहीबाट जोगिए।

राजनीतिक दबाबका भरमा जागिर जोगाएका अधिकारीले उडान सुरक्षामा अझै ध्यान दिएका छैनन्। उनले आफू जोगिन राजनीतिक शक्ति मात्रै होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत प्रयोग गरेका छन्। उडान सुरक्षामा जोखिम मोलेको बारेमा सूचना दिएको भन्दै कर्मचारीलाई छानीछानी अख्तियारमा १३ पाना भराउन लगाए।

क्यानले उडान सुरक्षामा सुधार गर्न एनएसीलाई पटक पटक निर्देशन दिंदा राजनीतिक दबाबमा पन्छाउने काम हुँदै आएको छ। ‘कुनै निर्देशन दिनेबित्तिकै अध्यक्ष अधिकारी पर्यटन मन्त्रालय धाएर हामीलाई अवगाल पार्ने काम गर्छन्,’ क्यान स्रोतले भन्यो, ‘सरकारी निकाय भएर सरकारी स्वामित्वको कम्पनीलाई धराशायी पार्न खोज्यो भनेर उल्टै हाम्रो आलोचना गर्ने काम हुने गरेको छ।’

एनएसीकै उच्च अधिकारीहरु एनएसीका जहाज भगवान भरोसामा चलिरहेको बताउँछन्। वाइडबडी जहाजको मर्मत तालिका समयमा हुन सकेको छैन। एउटा जहाज सि-चेकमा गएको र अर्को जहाज पनि सि-चेकमा जानुपर्ने भएकाले केही घण्टा उडान समय थप्न उनै अधिकारीले उच्च राजनीतिक तहमा दबाब थिए। राजनीतिक दबाबकै आधारमा क्यानले मंगलबार एनएसीको एउटा वाइड बडीको उडान अवधि ३०० घण्टा थपिदियो।

सरकारी कम्पनी चलाउनका लागि यति राजनीतिक दबाब छ भने निजीको नहुने कुरै भएन। ‘कुनै पाइलटले लापर्बाही गरेपछि हामी तत्कालै कारबाही गर्छौं। तर त्यसको केही मिनेटमै कारबाही फुकुवा गर्न राजनीतिक दबाब सुरु हुन्छ,’ क्यान स्रोतले भन्यो।

पछिल्लो समय क्यानले पाइलटको आचरण समेत हेरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ। विमानमा फोटो खिच्नेदेखि टिकटक बनाउनेलाई कारबाही गर्दा दलका नेतादेखि मन्त्रीसम्मले तत्कालै फुकुवा गर्न दबाब दिने गरेको क्यान स्रोतले बतायो।

‘हामी सुरक्षामा सम्झौता नगरौं भनेर कारकाही गर्छौं। तर, नेताहरुले सुरक्षाको विषयलाई गौण मानेर कारबाही फुकुवा गर्न दबाब दिइहाल्छन्,’ क्यानका एक कर्मचारीले भने, ‘हामीले त्यही जहाजमा चढ्नुपर्छ। हाम्रो सुरक्षाको कुरा पनि हो भन्ने कुरा बिर्सिएर नेताहरुले फेबर गर्ने गरेका छन्। यसले हवाइ सुरक्षामा गम्भीर असर गरिरहेको छ।’

नियुक्ति दिने राजनीतिक तहको शक्तिले गर्दा ऐन नियम कार्यान्वयन फितलो हुन पुगिरहेको छ। ‘हामीलाई स्वतन्त्ररुपमा काम गर्न दिने हो भने हवाइ सुरक्षामा चुक हुन दिँदैनौं। त्यसका लागि हाम्रो जनशक्ति काविल छ,’ ती कर्मचारीले भने, ‘तर यहाँ सानो स्वार्थ हेरेर क्यानलाई कमजोर बनाउने काम भएको छ। त्यसले ठूलो मानवीय क्षति बेहोरिरहनुपरेको छ।’