BIZMANDU
www.bizmandu.com

आन्तरिक उडानमा मंगलबार र शनिबार ३० प्रतिशतसम्म घट्छ यात्रु अकुपेन्सी, कारण के ?

२०८१ साउन ४

आन्तरिक उडानमा मंगलबार र शनिबार ३० प्रतिशतसम्म घट्छ यात्रु अकुपेन्सी, कारण के ?
आन्तरिक उडानमा मंगलबार र शनिबार ३० प्रतिशतसम्म घट्छ यात्रु अकुपेन्सी, कारण के ?

काठमाडौं। आन्तरिक उडानमा सातामा दुई दिन यात्रु अकुपेन्सी ३० प्रतिशतसम्म घट्ने गरेको पाइएको छ। मंगलबार र शनिबार यात्रुको संख्या घट्ने गरेको वायुसेवा कम्पनीले जनाएका छन्।

Tata
GBIME
Zonsen

बुद्ध एयरले आइतबार, बुधबार र शुक्रबार यात्रुको संख्या धेरै हुने तर मंगलबार र शनिबार अकुपेन्सी घट्ने गरेको जनाएको छ। कम्पनीका बिक्री तथा बजार प्रबन्धक रुपेश जोशीले यात्रुको संख्या आइतबार, बुधबार र शुक्रबार धेरै सोमबार र बिहिबार ठिकै तथा मंगलबार र शनिबार कम हुने गरेको बताए।

उनका अनुसार मंगलबार र शनिबार यात्रुको संख्या अरु दिनको तुलनामा ७०० हाराहारी कम हुन्छ। यात्रुको संख्या कम हुँदा कम्पनीले ती दिनमा फ्लाइट मर्ज गर्दै आएको उनले जानकारी दिए।

यती एयरलाइन्सले मंगलबार र शनिबार यात्रु अकुपेन्सी ३० प्रतिशतसम्मले घट्ने गरेको जनाएको छ। कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले मंगलबार र शनिबार यात्रुको संख्या करिब १ हजार हाराहारीमा कम हुने बताए।

यती एयरलाइन्सले काठमाडौंबाट दैनिक ३३ वटा उडान गर्दै आएको छ। दैनिक ३ हजार हाराहारी यात्रुलाई सेवा दिने गरेकामा मंगलबार र शनिबार भने त्यो संख्या २,१०० हाराहारीमा सीमित हुने बर्तौलाले बताए।

‘मंगलबार र शनिबार हाम्रोमा मात्र होइन, अरु कम्पनीको उडानमा पनि यात्रु कम हुन्छन्। सामान्यता मौसम अनुकूल हुँदा सबै कम्पनीमा गरेर दैनिक १४ हजार यात्रुले सेवा लिंदै आएका छन्। तर, मंगलबार र शनिबार यात्रु १० हजार हाराहारी मात्र हुन्छन्,’ बर्तौलाले भने, ‘विशेष गरी मारवाडी समुदायका मानिस यी दुई बारमा हतपत यात्रा गर्दैनन्।’

श्री एयरलाइन्सले मंगलबार र शनिबार खासगरी तराईतिरका यात्रुले हवाई यात्रा गर्न नरुचाउने बताए।

‘यी दुई दिनमा खासगरी तराई र पूर्व क्षेत्रका गन्तव्यमा यात्रुको संख्या कम हुन्छ,’ कम्पनीका प्रवक्ता अनिल मानन्धरले भने।

यस्तो छ ज्योतिष शास्त्रको मान्यता

ज्योतिष शास्त्रअनुसार मंगलबार र शनिबार यात्रा गर्नु त्यति उचित मानिंदैन। मंगलबारलाई खरो बारका रुपमा लिइन्छ।

भगवान गणेश र हनुमानको विशेष दिन मानिएको यो बारमा मधेशी मूलका अधिकांश सर्वसाधारण उपवास बस्ने गर्छन्।  अर्कातर्फ यो बारमा आफूभन्दा ठूलाबडासँग भेटका लागि यात्रा गर्दा मनमुटाव हुने ठानिन्छ।

शनिबारलाई भगवान शनीदेवको विशेष दिन मानिन्छ। यो दिन सकभर आफ्नो परिवारबाट छुट्टिनु हुँदैन भन्‍ने मान्यता छ। यो बार यात्रा गर्दा बिरामी हुनेदेखि मृत्युवाणसम्मको दोष लाग्ने ज्योतिषहरू बताउँछन्।