BIZMANDU
www.bizmandu.com

विश्वभर हवाई सेवा लगायत व्यवसाय एकसाथ प्रभावित, माइक्रोसफ्टको एपमा समस्या मुख्य कारण

२०८१ साउन ४

विश्वभर हवाई सेवा लगायत व्यवसाय एकसाथ प्रभावित, माइक्रोसफ्टको एपमा समस्या मुख्य कारण
चीनको बेइजिङस्थित माइक्रोसफ्टको भवन। Photo: Bloomberg

विश्वव्यापी प्राविधिक अवरोध (ग्लोबल टेक आउटेज)का कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन पुगेको छ। खासगरी माइक्रोसफ्टको विन्डोज सर्भर प्रयोग गर्ने कम्पनीको काम रोकिंदा विश्व अर्थतन्त्र नै प्रभावित हुन पुगेको हो।

Tata
GBIME
Zonsen

धेरै एयरलाइन्स तथा व्यापार व्यवसाय प्रभावित भएका छन्। नेपालका केही बैंकमा पनि समस्या देखिएको छ। केही बैंकको अनलाइन सेवा प्रभावित भएको छ।

काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानमा भने अहिलेसम्म कुनै समस्या आएको छैन। विमानस्थल प्रमुख जगन्नाथ निरौलाले सेड्युल अनुसार नै अन्तर्राष्ट्रिय उडान भइरहेको जानकारी दिए।

अमाडसमार्फत हुँदै आएको टिकेटिङ सेवा भने माइक्रोसफ्टकै समस्याका कारण अवरुद्ध भएको जीडीएस सिस्टम अमाडसको नेपालस्थित कार्यालयले जनाएको छ। ‘अहिले हाम्रो चेक इन, टिकेटिङ सिस्टम नै प्रभावित भएको छ,’ अमाडसका नेपालस्थित एक कर्मचारीले भने।

यो कम्पनी अन्तर्गत नेपालमा सिंगापुर एयरलाइन्स, श्रीलंकन एयरलाइन्स, मलेसियन एयरलाइन्स, एयर इण्डिया, भिस्तारा एयर, कतार एयरवेज, क्याथे प्यासिफिक लगायत वायुसेवा कम्पनीले उडान सेवा दिँदै आएका छन्।

कम्पनीका ती कर्मचारीका अनुसार साँझ ६ बजेसम्म यो समस्या समाधान हुने जानकारी माइक्रोसफ्टबाट आएको छ।

अमेरिकाको संघीय उड्‍डयन प्रशासनका अनुसार डेल्टा, युनाइटेड र अमेरिकन एयरलाइन्स लगायतका प्रमुख अमेरिकी एयरलाइन्सका विमान ग्राउन्डेड भएका छन्। भर्जिन अस्ट्रेलिया र क्वान्टाससहित अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि अवरोधको सामना गरेका छन्।

मेलबर्न, ब्रिस्बेन र सिड्नीका एयरपोर्टहरूमा पनि उस्तै अवरोध देखा परेका छन्। यद्यपि, विमान उडान र अवतरण भने जारी रहेको छ।

एयरएसिया, सेबु पेसिफिक एयर र सिंगापुर एयरलाइन्स लगायत एसियाली एयरलाइन्सले जारी विश्वव्यापी प्राविधिक अवरोधको मार खेपिरहेको बताएका छन्। एयरलाइन्सले आफ्ना सोसल मिडिया प्लेटफर्ममार्फत यो जानकारी दिएका छन्।

एयरएसियाले माइक्रोसफ्टको क्लाउड सर्भिसमा समस्या आउँदा रिजर्भेसन र चेक-इन प्रणाली अवरुद्ध भएको जनाएको छ। सेबु पेसिफिक एयरले आउटेजका कारण सबै प्रक्रिया म्यानुअल्ली गर्न बाध्य भएको बताएको छ। सिंगापुर एयरलाइन्सले आफ्नो उडान प्रभावित नभएपनि प्राविधिक समस्या भोगिरहेको बताएको छ।

६ वटा भारतीय वायुसेवा कम्पनीहरूले अनलाइन सेवाहरूमा समस्या आएको बताएका छन्। इन्डिगो, स्पाइसजेट, एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, भिस्तारा र अकासा एयरको सेवा प्रभावित भएको हो।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार आफ्ना केही सेवाहरू अस्थायी रूपमा ठप्प भएको बताएको छ। विमानस्थलले यात्रुहरूलाई सम्बन्धित एयरलाइनसँग सम्पर्कमा रहन अनुरोध गरेको छ।

साइबर आउटेजको ट्र्याक गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार एएनजेड, वेस्टप्याक, भिजा, र ओप्टस जस्ता अस्ट्रेलियाली बैंकिङ र टेलिकम संस्थाहरू पनि प्रभावित भएका छन्।

ग्लोबल टेक आउटेजका कारण उडान प्रभावित भएका छन्। Photo: Stefanie Dazio/AP

ग्लोबल टेक आउटेजका कारण आइटी सिस्टम नै ठप्प हुन पुगेको बताइएको छ। यसका कारण युरोपेली एयरपोर्टहरूमा समस्या सिर्जना भएको छ भने सञ्‍चार माध्यम, सुपरमार्केट र लन्डन स्टक एक्सचेन्जको वेबसाइटमा पनि यसको असर परेको छ।

यो अवरोध साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकको समस्याबाट सुरु भएको देखिएको प्रविधि विशेषज्ञहरूले बताएका छन्। माइक्रोसफ्ट विन्डोज यसका ग्राहकहरूमध्येको एक हो।

माइक्रोसफ्टले आफ्ना एप तथा सेवाहरूमा के कारण समस्या आइरहेको छ भन्‍नेबारे अनुसन्धान गरिरहेको बताएको छ। माइक्रोसफ्टको ३६५ एप तथा सर्भिसहरूमा एक्सेस गर्न नसकिएको बताइएको छ।

यसअघि बिहीबार माइक्रोसफ्टले आफ्नो एज्युर स्टाटस रिपोर्ट साइटमा अमेरिकाका केही ग्राहकहरूका लागि सेवा प्रभावित भएको बताएको थियो। कम्पनीले यसको कारण पत्ता लागेको र त्यसलाई समाधान गर्न काम गरिरहेको पनि बताएको थियो।

जर्मनीको बर्लिन एयरपोर्टले ‘प्राविधिक गडबडी’का कारण चेक-इन गर्न ढिलाइ भइरहेको बताएको छ। स्कटल्याण्डको एडिनबर्ग एयरपोर्टले आइटी प्रणालीमा समस्या आउँदा ‘विमानस्थलका काम कारबाहीमा ढिलाइ भएको’ बताएको छ।

रायनएयरले पनि एयरलाइनको नेटवर्कमा अवरोध भएको पुष्टि गरेको छ। उसले यात्रुहरूलाई निर्धारित प्रस्थान समयभन्दा कम्तीमा ३ घण्टाअघि विमानस्थल आइपुग्न भनेको छ।

बेलायतको रेल प्रणाली पनि यसबाट प्रभावित भएको छ। आइटी टोलीहरूले समस्याको मूल कारण पत्ता लगाउन सक्रिय रूपमा अनुसन्धान गरिरहेको थेम्सलिंकले भनेको छ।

प्राविधिक गढबढीकै कारण बेलायतको प्रमुख टेलिभिजन समाचार च्यानल स्काई न्यूजले शुक्रबार बिहान प्रत्यक्ष प्रसारण गर्न सकेन। नेटवर्कका कार्यकारी अध्यक्ष डेभिड रोड्सले अवरोधका लागि दर्शकहरूसँग माफी मागेका छन्।

‘यो प्राविधिक गढबढीले इजरायलका अस्पतालहरू र अन्य स्वास्थ्य सेवाहरूलाई समेत असर गरिरहेको छ,’ इजरायलको स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमा भनेको छ।

यो साइबर आक्रमण नभएको भन्दै मन्त्रालयले एउटा सफ्टवेयरमा भएको खराबीले ‘सर्भर र कम्प्युटरहरूलाई असर गरेको’ जनाएको छ।

युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका प्रोफेसर जिल स्लेले यो विश्वव्यापी आउटेजको प्रभाव अत्यन्तै ठूलो भएको बताए।

‘तर यो के कारणले भयो भन्नेबारे निष्कर्ष निकाल्न धेरै हतार हुनेछ,’ उनले भने।