BIZMANDU
www.bizmandu.com

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा एयर एसिया इच्छुक, नेपाल आउँदै फर्नान्डेज

२०८१ साउन २

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा एयर एसिया इच्छुक, नेपाल आउँदै फर्नान्डेज
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा एयर एसिया इच्छुक, नेपाल आउँदै फर्नान्डेज

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा मलेसियाको लो कस्ट एयरलाइन्स एयर एसियाले चासो देखाएको छ।

Tata
GBIME
Zonsen

भैरहवा बेस रहेर मलेसिया उडान गर्ने सम्भावना बोकेको एयर एसियाले विमानस्थलको व्यवस्थापन गर्न चासो देखाएको हो। स्रोतका अनुसार विमानस्थल व्यवस्थापन गर्ने प्रस्तावसहित कम्पनीका ग्रुप सीइओ टोनी फर्नान्डेज नेपाल आउन लागेका छन्। उनी पूर्वाधार सम्मेलनको अवसर पारेर काठमाडौं आउन लागेका हुन्।

नेपाल उद्योग परिसंघले आगामी भदौ २७ र २८ गते काठमाडौंमा नेपाल पूर्वाधार सम्मेलन गर्दैछ। त्यो सम्मेलनका लागि परिसंघले फर्नान्डेजलाई पनि निम्ता दिएको छ।

‘फर्नान्डेज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्न इच्छुक देखिएका छन्। त्यही कारण उनी सम्मेलनमा सहभागी हुँदैछन्। सम्मेलनका दौरान उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापनलाई भेटेर आफ्नो प्रस्तावबारे जानकारी गराउनेछन्,’ स्रोतले भन्यो।

एयर एसिया अन्तर्गतको थाइ एयर एसियाले ५ वर्षपछि नेपालमा पुन: उडान गर्दैछ। उसले उडानका लागि विमानस्थल शुल्क बापतको यसअघिको बक्यौता रकम अहिले किस्ताबन्दीमा तिरिरहेको छ।

‘एयर एसिया अन्तर्गतको थाइ एयर एसियाले अहिले थाइल्याण्ड-नेपाल उडान गर्नका लागि मासिक रुपमा किस्ता बुझाउँदै आएको छ,’ स्रोतले भन्यो, ‘एयर एसियाले भैरहवाबाट नियमित व्यावसायिक उडान गर्ने संकेत देखिएको छ। आधिकारिक पत्र भने आउन बाँकी नै छ।’

गौतम बुद्धको जन्मस्थल नजिकै पर्ने भएकाले एयर एसियाले भैरहवामा उडान गर्ने संकेत गरेको स्रोतको दाबी छ। मलेसियामा ५४ लाखभन्दा बढी बौद्ध धर्मावलम्बी छन्। यस्तै थाइल्याण्डमा पनि बौद्ध धर्मावलम्बी ठूलो संख्यामा छन्। ‘एयर एसिया धार्मिक पर्यटनबाट व्यापार गर्न सकिने निष्कर्षमा पुगेको देखिन्छ,’ स्रोतले भन्यो।

एयर एसिया अन्तर्गतको थाइ एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्कबापत १८ करोड रुपैयाँ बुझाउन बाँकी थियो। कम्पनीले उडान पुन: सुरु गर्नका लागि गत फेब्रुअरीबाट प्राधिकरणलाई मासिक १ करोड २५ लाख रुपैयाँ बुझाउँदै आएको छ।

क्वालालम्पुर-काठमाडौं रुटमा २०६९ मा उडान सुरु गरेको कम्पनीले २०७६ मा काठमाडौंमा उडान बन्द गरेको थियो। यो वायुसेवाले विश्वका विभिन्न २५ मुलुकका १६६ गन्तव्यमा नियमित व्यावसायिक उडान गर्दै आएको छ।

काठमाडौंमा फेरि उडान सुरु गर्न कम्पनीले युनिभर्सल ट्राभललाई नेपालका लागि जीएसए नियुक्त गरिसकेको छ। कम्पनीले काठमाडौं-बैंकक रुटमा साताको सातवटा उडान गर्न प्रस्ताव गरेको छ।

प्राधिकरणले भने यो वायुसेवालाई काठमाडौंको साटो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान गर्न आग्रह गर्दै आएको छ।   

सञ्चालनमा आएको २ वर्ष नाघ्दा पनि गौतम बुद्ध विमानस्थलमा नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान छैन। नेपाल वायुसेवा निगमले क्वालालाम्पुर-काठमाडौं उडान गर्ने क्रममा यात्रु झार्ने प्रयोजनका लागि सातामा एक दिन भैरहवामा जहाज अवतरण गर्दै आएको छ। कुवेतको जजिरा एयरवेजले विविध कारण देखाएर भैरहवामा आफ्नो उडान बन्द गरिसकेको छ।

विमानस्थल कार्यालयका अनुसार भैरहवामा अहिले साताको अधिकतम ५ वटा चार्टर्ड उडान हुने गरेको छ। 

एयर एसियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्न चासो देखाएपछि प्राधिकरण पनि उत्साही भएको छ। ‘सञ्चालनमा आएको २ वर्ष हुँदा पनि भैरहवामा अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा २५ देशमा नियमित उडान गर्न कम्पनीले चासो देखाएपछि उत्साही नहुने कुरै भएन नि,’ क्यानका एक उच्च अधिकृतले भने, ‘हामी प्रस्तावको प्रतीक्षामा छौं।’

को हुन् फर्नान्डेज?

एन्थोनी फ्रान्सिस फर्नान्डेज (टोनी) मलेसियाका प्रसिद्ध उद्योगपति हुन्। उनी ट्युन ग्रुपका संस्थापक हुन्। यो समूह अन्तर्गत मलेसियामा बजेट एयरलाइन्स संचालित छ। उनी संस्थापक रहेको अर्को समूह क्याटरहामले गाडी उत्पादन गर्दै आएको छ। फुटबल क्लब क्विन पार्क रेन्जर्समा पनि उनको अधिकतम स्वामित्व छ।

एयर एसिया मलेसिया सरकारको अनुदान सहयोगमा स्थापना भएको हो। ट्युन ग्रुपसँगको सहकार्यले एयर एसियालाई प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा चुस्त राख्न सहयोग पुगेको छ।