BIZMANDU
www.bizmandu.com

निर्माण सामग्री बजारमा चरम शिथिलता, भाउ घटाउँदा पनि छैन व्यापार, इँटा उद्योग धमाधम बन्द

२०८१ साउन १

निर्माण सामग्री बजारमा चरम शिथिलता, भाउ घटाउँदा पनि छैन व्यापार, इँटा उद्योग धमाधम बन्द
निर्माण सामग्री बजारमा चरम शिथिलता, भाउ घटाउँदा पनि छैन व्यापार, इँटा उद्योग धमाधम बन्द

काठमाडौं। निर्माण सामग्री बजारमा चरम शिथिलता देखिएको छ। उद्योगीले भाउ घटाउँदा पनि सामान बिक्न छोडेको छ। बिक्रीमा उल्लेख्य कमीले सामान स्टक बसेपछि आर्थिक संकट थेग्न नसकेर केही इँटा उद्योग बन्द नै भएका छन्।

Tata
GBIME
Zonsen

खपत कम भएपछि निर्माण सामग्रीको भाउ घट्न थालेको हो। निर्माण सामग्री व्यापार महासंघका महासचिव शिवप्रसाद मानन्धरले डण्डीको भाउ ७ देखि १० प्रतिशतसम्म घटेको जानकारी दिए।

डण्डीको भाउ दुई महिनाअघि प्रति किलो १०० रुपैयाँभन्दा माथि रहेकामा अहिले ९२/९३ रुपैयाँमा पाइन्छ। सिमेन्टको मूल्य पनि बोरामा ३० देखि ५० रुपैयाँसम्म घटेको छ।

पीपीसी सिमेन्ट ५१० देखि ५१५ रुपैयाँ र ओपीसी ६०० देखि ६१० रुपैयाँमा पाइन थालेको छ। ‘एकातिर कम्पनीहरुलाई पैसा चाहिएको छ। अर्कातिर व्यापारमा प्रतिस्पर्धा छ। तर माग बढ्नुको साटो घटिरहेको छ। त्यही कारण भाउ सस्तिएको हो,’  मानन्धरले भने।

सरकारी विकासका काम सुस्त भएको र निजी आवास बनाउने क्रम पनि घटेका कारण निर्माण सामग्रीको खपत घट्न पुगेको हो।

बजारमा माग घटेकै कारण निर्माण सामग्रीका उद्योग ४० देखि ५० प्रतिशत क्षमतामा मात्र चलिरहेका छन्। अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले बजारमा माग घट्दो क्रममा रहेकाले उत्पादन अझै घटाउनुपर्ने अवस्था रहेको बताए।

‘माग कम भएकाले भाउ घटिरहेको छ। तर, घटेको भाउमा पनि सामान बिक्री हुन सकिरहेको छैन,’ न्यौपानेले बिजमाण्डूसँग भने, ‘उत्पादित सामान नै स्टकमा रहेका कारण उत्पादन अझै घटाउनुपर्ने अवस्था छ। तर लागत सस्तो नहुने भएकाले हामीले ४० प्रतिशतबाट घटाएका छैनौं।’

असार र साउन निर्माण क्षेत्रका लागि अफसिजन मानिन्छ। एकातिर पहिले देखि नै मागमा कमी र अहिले अफसिजनले गर्दा इँटा उद्योगीहरुले आफूहरु संकटमा परेको बताएका छन्। इँटा उत्पादक संघका पूर्वअध्यक्ष महेन्द्र चित्रकारले बिक्रीमा गिरावटका कारण उद्योगीहरु अहिले निकै अप्ठेरो अवस्थाबाट गुज्रिरहेको बताए।

पछिल्लो समय इँटा उद्योग संकटमा छ। चालु आर्थिक वर्षमा २० देखि ३० क्षमतामा मात्र इँटा उत्पादन गरेकामा त्यही पनि बिक्री भइरहेको छैन। बजारमा माग निकै कम हुँदा हाम्रो व्यापार घाटामा छ,’ चित्रकारले भने।

व्यापारमा गिरावटका कारण धाटा थेग्न नसकेर उद्योग धमाधम बन्द हुन थालेका छन्। ‘धेरै उद्योगको इँटा स्टकमा छ। त्यही कारण कतिपय उद्योग आर्थिक संकटले बन्द हुन थालेका छन्,’ उनले भने।

संघका अनुसार कुनै समय देशभर १३५० वटा इँटा उद्योग संचालनमा रहेकामा अहिले त्यो संख्या ३६० मा झरेको छ। व्यापारमा आएको गिरावटले उद्योगको संख्या संख्या अर्को वर्षसम्म २०० वटामा झर्ने अनुमान रहेको चित्रकारले बताए।

हाल इँटाको भाउ १५ देखि १६ रुपैयाँ रहेकामा स्टक धेरै हुने र संकट धेरै झेलिरहेका केही उद्योगीले १२ देखि १३ रुपैयाँमा बिक्री गरिरहेका छन्।