काठमाडौं। नेपाल राष्ट्र बैंकसँग अहिलेको राजनीतिक नेतृत्वको ट्युनिङ मिल्ने चर्चा भइरहेका बेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्यसलाई बल पुग्ने गरी अभिव्यक्ति दिएका छन्।
उनले सोमबार पदभार ग्रहणपछि आयोजित कार्यक्रममा राष्ट्र बैंकसँग स्वाभाविक रुपमा ट्युनिङ मिल्ने प्रतिक्रिया दिएका हुन्। कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि थिए।
एमाले समर्थित अधिकारीको यसअघिका अर्थमन्त्री वर्षमान पुनसँग पनि ट्युनिङ मिलेको देखिएको थियो। गभर्नर अधिकारीले सार्वजनिक रुपमै पुनको प्रशंसा गरेका थिए।
अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीसँग आफ्नो ट्युनिङ मिल्नु स्वाभाविक हुने बताए। ‘राम्रो उद्देश्यले काम गर्नेहरूलाई ट्युनिङ मिल्नेमा कुनै समस्या हुँदैन। राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्याको समाधान गर्न केही प्रभावकारी पहल पक्कै लिनेछ,’ पौडेलले भने।
मन्त्री पौडेलको दायाँतर्फ गभर्नर अधिकारी र डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिमिल्सिना तथा बायाँतर्फ अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव डा. रामप्रसाद घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंह थिए।
अर्थमन्त्रीका रूपमा चौथो पटक मन्त्रालय छिर्दा पौडेल कर्मचारीहरूसँग भने सन्तुष्ट देखिएनन्। त्यो उनको बडी ल्याङ्वेजमा मात्र होइन अभिव्यक्तिमै झल्कियो। उनले सुरुमै राजस्व परिचालनको सम्बन्धमा आफ्नो असन्तुष्टि राखे।
राजस्व परिचालनको सन्दर्भमा अर्थ मन्त्रालयको सामर्थ्य क्रमशः कमजोर बन्दै गएको भन्दै पौडेलले चुहावट बढ्दै गए पनि रोकथामको उपाय अवलम्बन नगरिएको भनेर रोष प्रकट गरे।
‘राजस्व परिचालनमा हामी दुरुस्त हुन सकेका छैनौं। हाम्रो सामर्थ्यमा प्रश्न उठ्न थालिसकेको चर्चा छ। यसमा साँच्चै समस्या छन् भने भन्नुस् समाधानतर्फ अघि बढ्ने हो। अहिलेको परिस्थितिमा अधिकतम राजस्व कसरी परिचालन गर्न सकिन्छ त्यसका उपायमा काम गर्नुपर्छ। अनियमिततालाई कसरी रोक्न सकिन्छ त्यो हाम्रो प्राथमिकताको विषय रहनेछ,’ पौडेलले भने।
उनले खर्च व्यवस्थापनमा पनि प्रश्न उठाए। चुनौतीको अवस्थाबाट गुज्रिरहेका बेला पुँजीगत खर्च अपेक्षित मात्रामा हुन नसक्ने समस्या समाधान हुनुको साटो झन् झन् बल्झिँदै गएको उनको भनाइ थियो। उनले समस्या समाधानतर्फ अग्रसर हुन कर्मचारीलाई निर्देशन दिए।
उनले कर्मचारीहरूलाई विकास साझेदारहरूको विश्वास जित्दै देशको विकासमा त्यसलाई उपयोग गर्ने गरी काम अघि बढाउन पनि भनेका छन्।
उनले पछिल्लो समय कर्मचारीहरूमा निर्णय गर्न नचाहने, नसक्ने वा भाग्ने प्रवृत्ति मौलाएको भन्दै त्यो कार्यशैली फेर्न निर्देशन दिए।
‘दुई वटा कुरालाई ख्याल गरिदिनुस्। कुनै मन्त्री वा आफूभन्दा माथिको अधिकारीले भने पनि तपाईंहरुले कानुन मिच्ने काम नगर्नुस्। कानुनको सीमालाई ख्याल गर्नुस्। अर्को भनेको असल मनसायले काम गर्नुस्। कानुन मानेर असल मनसाय लिएर काम गर्नु भयो भने निर्णय गर्न नसक्ने हुन्छ जस्तो लाग्दैन। यसरी गरिने काम राजनीतिक नेतृत्वले प्रतिरक्षा गर्छ। अनावश्यक डर मनमा नलिनुस्,’ पौडेलले भने।
उनले बैंकहरुमा थुप्रिंदै गएको निक्षेप उत्पादनशील क्षेत्रमा लगानी गर्न राष्ट्र बैंकसँगको सहकार्यमा नीति बनाउने बताएका छन्।
पौडेलले विनियोजन कौशलमा प्रश्न उठाए। ‘सम्भाव्यता अध्ययन नभएका, इआइए नभएका स-साना खुद्रा मसिना पालिका वा वडाले गर्ने ७५ हजार रुपैयाँसम्मका योजना पनि संघीय सरकारको योजनाको रूपमा रातो किताबमा छापिएको दु:खद् अवस्था छ। यो स्रोतको उपयोगभन्दा पनि दुरुपयोग हो। यसमा ध्यान दिनुपर्छ,’ उनले भने।
तर, उनैले विनियोजन विधेयक हुबहु पारित गर्न भूमिका निर्वाह गरेका थिए।
पौडेलले देशको आर्थिक अवस्था सग्लो नभएकोमा आफू सचेत रहेको भन्दै शिथिल, सुस्त र संकुचित अवस्थामा रहेको अर्थतन्त्र चलायमान बनाउनु अहिलेको आवश्यकता भएको बताए।
‘न्यून लगानी, न्यून उत्पादन, न्यून आर्थिक वृद्धि र न्यून रोजगारीको चक्र नै छ हामीसँग। यो चक्रलाई तोड्ने चुनौती छ। उच्च र तीव्र गतिको विकास रोज्ने हो,’ पौडेलले भने।
पदभार सम्हाल्ने क्रममा पौडेल निकै कन्फिडेन्ट देखिन्थे। तर, मन्त्रालयका कर्मचारीको स्वभाव भने खासै फरक थिएन। मन्त्री मन्त्रालय आइपुग्नुअघि मन्त्रालयका कर्मचारी अहिलेको सरकार पनि कति समय टिक्ने हो भन्दै गफिंदै थिए।
मन्त्रालय छिरेपछि पौडेलले त्यही विषयलाई आफ्नो सम्बोधनको पहिलो कन्टेन्ट बनाए। उनले संसद्का ठूला दल कांग्रेस र एमाले मिलेर सरकार गठन भएकाले अब राजनीतिक स्थायित्व हुने दाबी सुनाए।
‘यो तुलनात्मक रुपमा स्थायी सरकार हो। यो सरकारले आफ्नो कार्यकाल पूरा गर्छ,’ उनले भने। उनले बजेटमा भने हेरफेर नगर्ने बताए। ‘बजेट सरकारका सोच र कार्यक्रम अघि बढाउन बाधक हुँदैन,’ उनले भने।