BIZMANDU
www.bizmandu.com

स्मार्ट लाइसेन्सः दुई महिनामा डेढ लाख वितरण, ब्याकलगका १७ लाखलाई अझै दुई वर्ष लाग्ने

२०८१ असार ३०

स्मार्ट लाइसेन्सः दुई महिनामा डेढ लाख वितरण, ब्याकलगका १७ लाखलाई अझै दुई वर्ष लाग्ने
स्मार्ट लाइसेन्सः दुई महिनामा डेढ लाख वितरण, ब्याकलगका १७ लाखलाई अझै दुई वर्ष लाग्ने

काठमाडौं। यातायात व्यवस्था विभागले ट्रायल पास भएर लाइसेन्स कुरेर बसेका १७ लाखमध्ये गत हप्तासम्म १ लाख ५२ हजार जनालाई स्मार्ट कार्ड वितरण गरेको छ। विभागले नयाँ कार्ड खरिद गरेपछि गत जेठबाट मात्रै कार्ड वितरण सुरु गरेको थियो।

Tata
GBIME
Nepal Life

विभागमा ट्रायल दिएर लाइसेन्सको स्मार्ट कार्ड कुर्नेको संख्या १७ लाखभन्दा माथि पुगिसकेको छ। तर विभागले दुई महिनामा जम्मा १ लाख ५२ हजार २०२ जनालाई मात्रै कार्ड वितरण गर्न सकेको छ। विभागले इमर्जेन्सीका लागि भने हरेक दिन ४०० जनालाई कार्ड प्रिन्ट गरेर वितरण गरिरहेको छ। विभागले पछिल्लो पटक गत वैशाख १ गतेदेखि कार्ड प्रिन्ट गर्न थालेको थियो। तर, वितरण भने जेठबाट मात्रै सुरु गरिएको थियो।

यसरी दुई महिनामा १ लाख ५० हजार कार्ड वितरण गर्ने विभागले प्रतीक्षासूचीमा रहेका १७ लाख जनालाई कार्ड वितरण गर्न अझै दुई वर्ष लाग्ने भएको छ। विभागले अहिले दैनिक २५०० देखि ३ हजारको दरमा कार्ड प्रिन्ट गर्न सकिरहेको छ।  

विभागका अनुसार अहिले यातायात व्यवस्था कार्यालय महाकालीमा १५ हजार १ सय ४५, सेतीमा ३१ हजार ७ सय ३९, डोटीमा १ हजार ३ सय १५, डढेलधुरामा ३ हजार १७ गरी सुदूरपश्चिमका लागि ५१ हजार २ सय १६ वटा कार्ड वितरण भइसकेको छ। यस्तै सुर्खेत कार्यालयमा ७ हजार ८ सय ८८, जुम्लामा १ हजार ६ सय ६२, चौरजहारीमा १ हजार ५ सय ११ गरी कर्णाली प्रदेशका कार्यालयहरुमा ११ हजार ६१ वटा कार्ड वितरण भएको विभागले जनाएको छ।

यसैगरी राप्ती कार्यालयमा ४८ हजार ९ सय ६६, नेपालगञ्जको भेरीमा ३५ हजार ४ सय ७० र पाल्पामा ४ हजार ७ सय ४९ गरी लुम्बिनीमा कुल ८९ हजार १ सय ८५ वटा स्मार्ट कार्ड वितरण कार्य सकिएको छ।

वाग्मतीमा भने ७ सय ४० युनिट मात्रै वितरण गरिएको छ। विभागले अहिले अन्य थोरै कार्ड पठाउनुपर्ने प्रदेशबाट वितरण सुरु गरेको थियो। त्यही अनुसार गण्डकी र वाग्मतीमा स्मार्ट कार्ड वितरण हुन समय लाग्ने भएको छ।