काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)ले शक्तिशाली मन्त्रालयलाई बराबरी भागबण्डा गर्ने भएका छन्। ‘पावर सेयरिङ’लाई ५०/५० प्रतिशत कायम गर्दै स्रोत र प्रभावका आधारमा मन्त्रालयलाई बराबरी भाग लगाउने दुई दलबीच सहमति बनेको कांग्रेस- एमालेका नेताहरुले बताएका छन्।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृह कांग्रेसलाई र अर्थ मन्त्रालय एमालेलाई लिने सहमति जसरी नै अरु मन्त्रालयको भागबण्डा लगाउने ‘मोडालिटी’ बनेको बताए। तर, अन्तिम सम्ममा केही मन्त्रालयहरु हेरफेर गर्न सकिने गरि नै दुई दलले मन्त्रिपरिषद गठनको तयारी गरिरहेका छन्।
असार १७ गते भएको सहमति अनुसार पहिलो कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् भने त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन्। त्यसबेला एमालेले १० र कांग्रेसले ११ मन्त्रालय पाउने दुई दलबीच सहमति थियो।
साना दलहरुलाई सरकारमा सहभागी गराउने प्रयास पनि भइरहेकाले मन्त्रालयको संख्या हेरफेर हुनसक्ने बर्तौलाले बताए। साना दलहरुलाई समावेश गरिएको अवस्थामा एमालेले ८ र कांग्रेसले ९ मन्त्रालय पाउने मोटामोटी सहमति छ।
आइतवार ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन् भने सोमबार मात्रै उनको शपथ हुने छ। आइतबारनै सकेसम्म सबै मन्त्रीहरुको नाम टुंगो लगाएर सोमबार सपथ गराउने कांग्रेस-एमालेको तयारी छ।
कांग्रेसले पाउने मन्त्रालय
कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, सहरी विकास, स्वास्थ्य, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि मन्त्रालय पाउने तय भइसकेको छ। बाँकी मन्त्रालयबारे पनि टुंगो लगाउने गृहकार्य भइरहेको छ।
मन्त्रिपरिषद् गठनको विषयलाई लिएर शनिबार कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको थियो। बैठकमा मन्त्री चयनबारेमा समेत छलफल भएको छ। कांग्रेसले समावेशीता र प्रदेशको प्रतिनिधित्वलाई मापदण्ड बनाएर मन्त्री छान्न लागेको छ।
‘मन्त्री चयन गर्दा मुख्य गरि दुई आधार छन्। समावेशिता र प्रादेशिक सन्तुलनका आधारमा चयन गर्ने भन्ने भएको छ,’ कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने।
एमालेले पाउने मन्त्रालय
दुई दलबीचको ‘पावर सेयरिङ’ अनुसार एमालेले अर्थ, भौतिक, पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, उद्योग, कानुन र पर्यटन मन्त्रालय पाउने छ। बाँकी मन्त्रालयहरुबारे भने साना दलको सरकारमा सहभागिताका आधारमा बाँडफाँट हुने छ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा बोलाएर एमाले सचिवालय सदस्यसँग अबेरसम्म छलफल गरेका थिए। उक्त छलफल एमालेबाट क-कसलाई मन्त्री बनाउने भन्नेमा केन्द्रित रहेको ओलीको सचिवालयले जनाएको छ।
एमालेले यसअघि नै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको थियो। यसअघि कम अवसर पाएका, ‘पर्फमेन्स’ राम्रो गर्न सक्ने तथा समावेशीतालाई मापदण्ड मानेर एमालेले मन्त्री छान्न लागेको हो।
को को बन्दैछन् मन्त्री?
एमाले नेताहरुका अनुसार एमालेबाट विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, पदम गिरीलाई मन्त्री बनाउने गरि एमालेको सचिवालय बैठकमा छलफल भएको थियो। ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई दोहोर्याउने सम्भावना कम भएको बताएपछि एमालेभित्र मन्त्रीहरुको आकांक्षी संख्या बढेको हो।
कांग्रेसबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु देउवा, जीवन परियारलाई मन्त्री बनाउने तयारी भइरहेको छ। यद्यपि यी नामहरुबारे भने अन्तिम टुंगो लागि नसकेकाले हेरफेर हुनसक्ने दुवै दलका नेताहरुले बताएका छन्।