काठमाडौं। सुन त्यसै त अचाक्ली महँगो भएको छ। त्यसमाथि सुन किनेर गहना बनाउँदा सुनचाँदी व्यवसायीले १० देखि १५ प्रतिशतसम्म जर्तीवापत लिन्छन्। व्यवसायीले जर्तीसँगै ज्याला पनि प्रतिशतमा नै लिने गरेका छन्। कतिपय व्यवसायीले ग्राहकसँग ५ देखि १२ प्रतिशतसम्म ज्याला भनेर लिने गरेका छन्।
सरकारले सुनचाँदी सम्बन्धी ऐन, नियम र निर्देशिका हालसम्म जारी गरेको छैन। जसले गर्दा बजारमा व्यवसायीहरूले आफूखुसी सुनको ज्याला र जर्ती लिने गरिरहेका छन्। त्यसमा पनि गहना बनाएवापतको ज्याला प्रतिशतमा लिँदा ग्राहकलाई मार पर्ने गरेको छ।
सुनका गहना बनाउँदा ग्राहकसँग जर्तीमात्र प्रतिशतमा लिनु पर्ने एक सुनचाँदी व्यवसायीले बताए। सुन बिक्री गर्दा व्यवसायीले १० प्रतिशत जर्ती भनेर लिनुपर्छ।
‘ज्याला प्रतिशतमा लिनु उचित होइन,’ उनले भने, ‘ज्याला प्रतिशतमा तिर्दा ग्राहकलाई बढी पैसा पर्छ।’
अन्य ठाउँको भन्दा न्यूरोड क्षेत्रमा सुनका गहना बनाउँदा ज्याला र जर्तीनै प्रतिशतमा कारोबार हुन्छ। एक तोलाको सिक्री बनाउँदा एक हजार रुपैयाँदेखि १२ सय रुपैयाँ ज्याला पर्छ भने १० प्रतिशत जर्ती तिर्दा उपभोक्ताले १४ हजार ६ सय ७० रुपैयाँ तिर्नुपर्छ। जर्ती र ज्याला गरेर करिब १५ हजार ६ सय ७० रुपैयाँभन्दा बढी पर्न जान्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका एक पूर्व अध्यक्षले पनि सुनका गहना बिक्री गर्दा ग्राहकबाट जर्ती र ज्याला भनेर प्रतिशतमा लिने गरेको बताए। उनले जर्ती र ज्याला जे भने पनि गहनाका लागि लागत एउटै पर्ने बताए। तर उनको भनाइ अनुसार ग्राहकले ज्याला प्रतिशतमै तिर्ने गरेका छन्।
त्यस्तै, ३ तोला रानी हार बनाउदा ज्याला ४ हजार रुपैयाँसम्म पर्छ। डिजाइन अनुसार पनि ज्यालामा फरक पर्छ। ४ हजार रुपैयाँ ज्याला तिरेर बन्ने रानी हार प्रतिशतमा ज्याला जोड्दा झन्डै दोब्बर हुन पुग्छ।
उनका अनुसार व्यवसायीले सुन बनाउने ग्राहकलाई जर्ती, ज्याला र सुनको परिमाण प्रष्ट रुपमा खुलाउनु पर्छ। तर व्यवसायीहरूले यसो गरेको भने पाइदैन।
ज्याला र जर्ती भनेर एकैपटक व्यवसायीहरूले प्रतिशतलाई रकममा रुपान्तरण गरेर मूल्यमा जोड्छन्। यसो गर्दा ग्राहकले ज्याला र जर्ती कति लाग्यो भनेर थाहा पनि नपाउने उक्त व्यवसायीको भनाइ छ।
सुन पसलअनुसार गहना बनाउन ज्याला तथा जर्ती कति र कसरी लिने सबैको छुटाटुट्टै आफूखुसी व्यवस्था छ। यसमा सरकारी निकायले बजार अनुगमन नै नगर्दा मनोमानी छ। व्यवसायी भने ग्राहकलाई मर्का नपारेको दाबी गर्न छुटाउँदैनन्।
सुनचाँदी व्यवसायीले गहना बनाएवापत कालीगढलाई ५ देखि १२ प्रतिशतसम्म ज्याला दिने गरेको बताउँछन्। कालीगढले प्रतिशतविना काम गर्न नमान्ने भएकाले ज्याला उनीहरुले भनेजसरी दिनुपर्ने बाध्यता रहेको तर्क गर्छन्।
एउटै गहना बनाएको न्यूरोडका कालीगढले बढी र अन्य स्थानका कालीगढले कम ज्याला पाउने गरेका छन्। यसरी ठाउँअनुसार व्यवसायी र कालीगढको आफूखुसी हुँदा ग्राहक भने मारमा परेका हुन्।
एक व्यवसायीका अनुसार ती व्यवसायीहरूले व्यवस्थापन खर्च समेत जोड्ने गरेका छन्। यसो त उनीहरूले न्यूरोड क्षेत्रमा पसल भएकाले र पसल डेकोरेसन, स्टाफ व्यवस्थापन लगायतको खर्च समेत ग्राहकबाट लिने गरेको छन्। लहरै रहेका सुन पसलमध्ये पनि एउटै सामान बनाउँदा कतै सस्तो र कतै बढी ज्याला तिर्नुपर्ने देखिएको छ।
सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष माणिकरत्न शाक्यले पछिल्लो समय सुनचाँदी कारोबार ट्रयाकभन्दा बाहिर गइरहेको बताए। सरकारले सुनचाँदी व्यवसायसम्बन्धी कार्यविधि नबनाउँदा यस्तो भएको उनको दाबी छ।
‘धेरै पटक कार्यविधि बनाउनका लागि पहल भएको थियो। तर, सरकारले यसमा ध्यान दिएको छैन,’ उनले भने।