BIZMANDU
www.bizmandu.com

देउवालाई ‘गाली’ गर्दै बालकोट फर्किएको ३ वर्षपछि उनकै सहयोगमा बालुवाटार फर्किँदै ओली

२०८१ असार २९

देउवालाई ‘गाली’ गर्दै बालकोट फर्किएको ३ वर्षपछि उनकै सहयोगमा बालुवाटार फर्किँदै ओली
देउवालाई ‘गाली’ गर्दै बालकोट फर्किएको ३ वर्षपछि उनकै सहयोगमा बालुवाटार फर्किँदै ओली

काठमाडौं । २०७८ साल असार ३० गते । काठमाडौंमा दर्के झरी थियो। वर्षाबीच गाडीका लावालस्कर बालुवाटारबाट निस्कियो। झरीमा रुझ्दै नारा लाग्दै थियो – ‘केपी बा आइ लभ यू’।

Tata
GBIME
Zonsen

सर्वोच्च अदालतको आदेशले पदच्युत भएपछि प्रधानमन्त्रीको सरकारी निवासबाट केपी शर्मा ओली निजी निवास बालकोटमा फर्किएका थिए, समर्थकको ठूलो भीडसँगै।

त्यसबेला एमाले कार्यकर्ताको मुख्य तारो बनेका थिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि अन्तत: सर्वोच्चको आदेशले ओलीलाई बालकोट फर्किन बाध्य बनाउन प्रचण्डको भूमिका त्यसबेला अहम् भएको कार्यकर्ताको बुझाइ थियो।

त्यसपछि उनीहरुको निसानामा थिए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। ओलीका विपक्षमा निर्णय दिएको सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आदेश गरेको थियो। त्यसैले देउवा पनि त्यसबेला एमाले नेता कार्यकर्ताको गालीगलौजको सिकार बने।

२०७८ असार ३० गते ओलीको गाडीलाई स्कर्टिङ गर्दै बालकोट जाँदै एमाले कार्यकर्ता।

२०७८ साल असार २८ गते ओलीलाई सर्वोच्च अदालतले पदच्युत गरेपछिको दृश्य थियो यो।

त्यस बखत प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत हासिल गर्न नसकेपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घन्टा समयावधि तोकेर नयाँ सरकारका लागि आह्वान गरेकी थिइन्। विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री चयन गर्न १४९ जना सांसदको हस्ताक्षर सहित राष्ट्रपतिसामु दाबी पेस गरेका थिए। देउवाको समूह जानुअघि नै हतार हतार गरेर ओली आफैंले आफूलाई प्रस्ताव गर्दै दाबी पेस गरेका थिए।

दुवैको दाबीलाई खारेज गर्दै राष्ट्रपतिले कामचलाउ भइसकेका प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको प्रस्तावमा लालमोहर लगाएकी थिइन्। त्यसविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र एमालेका माधवकुमार नेपाल समूह सर्वोच्च पुगेको थियो।

सो मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले असार २८ गते दुई दिनभित्र कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालय र संसद्लाई परमादेश जारी गरेको थियो।

२०८१ साल असार २८ गते।

ठ्याक्कै ३ वर्षपछि ओली यही मनुसने झरीबीच फेरि प्रधानमन्त्री बन्ने तरखरमा छन्। कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका ओली सम्भवतः शनिबार नियुक्त हुनेछन्। ओली पुरानै रवाफ र नयाँ सारथिका साथ बालुवाटार फर्कदैछन्।

यसपटक उनलाई बालकोटबाट बालुवाटार पुर्‍याउने सहयात्री हुन् तिनै देउवा, जसका विरुद्ध ३ वर्षअघि एमाले कार्यकर्ताले छुद्र नारा लगाएका थिए।

देउवाको साथ पाइरहँदा ओलीलाई ३ वर्षअघि बालकोट पुर्‍याउने प्रचण्ड संसदबाट विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएसँगै निजी निवास खुमलटार फर्किएका छन्। ३ वर्षअघि जसरी ओलीलाई बालकोटमा स्वागत गरिएको थियो। अहिले त्यो भन्दा कम रवाफ देखिए पनि खुमलटारमा बाजागाजासहित प्रचण्डको स्वागत भयो।

माओवादी र एमाले एकीकरणपछि एउटा विमानका दुई पाइलट बनेका यी दुई पात्र पछि एकअर्कालाई ‘धोकेबाज’ भन्दै हिँडे। कहिले मिल्ने, कहिले जुध्ने। यो दृश्य सामान्य नै भयो प्रतिनिधिसभा निर्वाचनपछि पनि।

बालकोटको बार्दलीमा ओली र प्रचण्ड।

प्रतिनिधसभा निर्वाचनपछि तेस्रो दल भए पनि ओलीकै बलमा प्रधानमन्त्री बनेका थिए प्रचण्ड। बीचमा फेरि कांग्रेससँग मिलेका प्रचण्ड पछि फेरि ओलीकै भरमा सत्ता चलाउन पुगेका थिए ‘म्याजिकल नम्बर’का साथमा। तर, उनको जादुमय संख्याले शुक्रबार संसद्‍मा कुनै काम गरेन। पाँचौंपटक विश्वासको मत लिँदा उनी पदमुक्त हुन पुगे। र, अब उनका सदाबहार ‘धोकेबाज’ ओली प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन्।

३ वर्षअघि पदच्युत हुँदा ओलीमा कुनै ग्लानी थिएन। बालकोटको बार्दलीमा उभिएर उनले फेरि जनमत प्राप्त गरेर बालुवाटार फर्किने उद्घोष गरेका थिए। उनको त्यो भनाइ ठ्याक्कै ३ वर्षपछि पूरा भएको छ।

चुनावी सरकारको नेतृत्व देउवालाई दिने र संविधानमा संशोधन गर्ने सहमतिमा दुई ठूला दल दशकपछि एक साथ सरकार बनाउन आएका हुन्। के सहमति भएझैँ ओलीको अबको बालकोट फिर्ती सहजै होला? वा होला फेरि कुनै धोकेबाजको ‘इन्ट्री’?