BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, संसद्‍मा पाउन सकेनन् विश्वासको मत, १९४ सांसद विपक्षमा

२०८१ असार २८

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, संसद्‍मा पाउन सकेनन् विश्वासको मत, १९४ सांसद विपक्षमा
प्रधानमन्त्री प्रचण्ड पदमुक्त, संसद्‍मा पाउन सकेनन् विश्वासको मत, १९४ सांसद विपक्षमा


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन्। प्रतिनिधि सभामा बहुमत देखाउन नसकेपछि प्रचण्ड पदमुक्त भएका हुन्।

Tata
GBIME
NLIC

उनले शुक्रबार विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा जम्मा ६३ मत आएको छ। उनको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका सांसदले मात्र मत हालेका हुन्। बहुमतका लागि १३८ मत चाहिन्छ।

२७५ सदस्यीय प्रतिनिधि सभामा शुक्रबार २५८ सांसद उपस्थित भएकामा प्रस्तावको विपक्षमा भने १९४ मत खसेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रस्तावको विपक्षमा मत हालेका हुन्। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि प्रचण्डको विपक्षमा मतदान गरेका छन्।

एक सांसदले भने कसैलाई पनि मत दिएनन्। यसअघि चार पटक विश्वासको मतको प्रस्ताव राख्दा बहुमत पाएका प्रचण्ड पाँचौं पटक अल्पमतमा परेका हुन्।

विश्वासको मत पाउन नसकेपछि प्रचण्ड साढे १८ महिनामा पदमुक्त हुन पुगेका छन्। उनी २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

त्यतिखेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायत दलको समर्थनमा सिंहदरबार प्रवेश गरेका उनले २ महिनामै गठबन्धन फेरे। प्रधानमन्त्री नियुक्त हुनुअघि गरेको सहमति अनुसार उनी एमालेलाई राष्ट्रपति दिन तयार नभएपछि सत्ता गठबन्धन फेरियो।

राष्ट्रपति पाएपछि प्रचण्डलाई कांग्रेसले काँध थाप्यो। उनले कांग्रेससँगको सहकार्य २०८० फागुन २१ मा टुटाए। उनलाई फेरि एमालेले नै काँध थाप्यो। तर, एमालेले विश्वास गरिरहन सकेन।

संसद्‍मा जम्मा ३२ सिटसहित तेस्रो दलको हैसियतमा रहेको माओवादीका अध्यक्ष दाहालले पालैपालो खेलाएपछि अन्तत: कांग्रेस र एमाले मिल्न पुगे। असार १७ गते मध्यराति कांग्रेस र एमालेले मिलेर सरकार चलाउने सहमति गरेपछि प्रचण्ड आफ्नो पक्षमा बहुमत जुटाउन नसकेर कुर्सी छोड्न बाध्य भएका हुन्।