काठमाडौं। एयर इन्डियाको जीएसए (जेनरल सेल्स एजेन्ट) लिन ठूला घरानाबीच दौडधुप सुरु भएको छ। टिकट बिक्रीबाट राम्रै मुनाफा हुने भएकाले ठूला घरानाबीच जीएसए लिन दौडधुप सुरु भएको हो।
हाल एयर इन्डियाले नेपालका लागि हात्तिसारमा आफ्नै आधिकारिक कार्यालय राखेर सेवा दिँदै आएको छ। जीएसए नियुक्तिसँगै उक्त वायुसेवाका लागि नेपालको बजार व्यवस्थापन छुट्टै कम्पनीले गर्नेछ। टाटा समूहले स्वामित्व किनेपछि कम्पनी एग्रेसिभ बजार विस्तारमा लागेको छ। हवाई टिकटमा ३ प्रतिशतसम्म कमिसन हुन्छ।
‘६ वर्ष अगाडि टाटा समूहले स्वामित्व लिनुभन्दा अगाडि नै एयर इण्डियाले नेपालमा आफ्नो जीएसए नियुक्ति प्रक्रिया अगाडि बढाएको थियो। तर कारणवश उसको योजना अगाडि बढ्न सकेको थिएन,’ स्रोतले भन्यो, ‘टाटाले केही महिनायता जीएसए नियुक्तिको योजना सार्वजनिक गरेसँगै नेपालका विभिन्न ट्राभल एजेन्सीका प्रतिनिधिले लविङ गर्दैछन्।’
स्रोतका अनुसार जीएसए लिन केही व्यवसायी राजनीतिक दलका नेताको घरसम्म पुगेका छन्। ‘भारतसँग नजिक भएका नेतासम्म पुगेर जीएसए आफ्नो पक्षमा पार्न केही व्यवसायी लागेको पाइएको छ,’ स्रोतले भन्यो।
स्रोतका अनुसार एयर इन्डियाको जीएसए लिनका लागि शंकर ग्रुप, प्रेसिडेन्ट ट्राभल, अमरावती ट्राभल, विशाल ग्रुप, जेनिथ, युनिभर्सल ट्राभल, ट्राभल राइट लगायतका दौडमा छन्। शंकर ग्रुपले केही समयअघि एक्जोटिक ट्राभल किनेको छ। यो ट्राभल सुलभ अग्रवालले हेर्दै आएका छन्।
हाल इन्डिगो, मलेसियन एयरलाइन्स, एयर अरेबिया, एयर अरेबिया अबुधाबीको जीएसए प्रेसिडेन्ट ट्राभलले संचालन गर्दै आएको छ। उक्त एजेन्सी एयर इन्डियाको पनि जीएसएका लागि इच्छुक स्रोतले बतायो। तर, प्रेसिडेन्ट ट्राभलका निर्देशक सिद्धार्थ विक्रम थापाले एयर इन्डियाको जीएसए लिने दौडमा आफ्नो कम्पनी नरहेको जिकिर गरे। ‘हामीसँग भारतकै इन्डिगो छ। हामी एयर इन्डियाको जीएसए लिने दौडमा छैनौ,’ उनले बिजमाण्डूसँग भने।
क्याथे प्यासिफिकको जीएसए रहेको अमरावती ट्राभल यो दौडमा अगाडि छ। टाटा गाडीको अधिकृत बिक्रेता रहेको सिप्रदी ट्रेडिङको होल्डमा अमरावती ट्राभल छ।
टाटा समूह आउँदो अक्टोबरसम्ममा भिस्तारा एयरसँगको मर्जर पुरा गरिसकेपछि मात्र नेपालका लागि जीएसए निश्चित गर्ने तयारीमा छ।
‘टाटा समूहले एयर इन्डियाको स्वामित्व लिएसँगै सिंगापुरसँगको साझेदारीमा संचालित भिस्तारा एयरलाई पनि एयर इन्डियासँगै गाभ्ने तयारीमा छ,’ स्रोतले भन्यो, ‘अक्टोबरभित्रै मर्जर पूरा गरेर नेपालका लागि पनि जीएसए नियुक्तिको तयारी कम्पनीको छ।’
एयर इन्डियाको जीएसए पाउन विभिन्न ट्राभल एजेन्सी आआफ्नै तरिकाले लागिपरेका छन्। एयर इन्डियाले नेपालका लागि सातामा २१ दिल्ली र कोलकाता ४ गरि कुल २५ वटा दुईतर्फी व्यावसायिक उडान गर्दै आएको छ।
यसैगरी भिस्ताराले काठमाडौं-दिल्ली साताको १४ वटा उडान गर्दै आएको छ। नेपालका लागि भिस्तारा एयरलाइन्सको आधिकारिक जीएसए ट्राभल राइट हो।
करिब २ वर्षअघि टाटा र सिंगापुर एयरलाइन्सबीच मर्जरको सहमति भएको थियो। टाटाले एयर इन्डियाको स्वामित्व लिएसँगै आफ्नो ५१ प्रतिशत स्वामित्व रहेको भिस्तारा एयरलाइन्सलाई पनि मर्ज गर्ने योजना अगाडि बढाएको हो। सन् २०१३ मा स्थापना भएको भिस्तारामा सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत स्वामित्व छ।
भिस्तारा एयरलाइन्स र एयर इन्डियाको मर्जरमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय बजार हिस्सा थप विस्तार हुने प्रक्षेपण छ। टाटा समूहले व्यवस्थापनमा आफ्नो प्रवेशसँगै एयर इन्डियाका लागि १० वर्षमा क्षमता दोब्बर कायम गर्ने लक्ष्य राखेको छ।