काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको व्यवहारबाट प्रहरी नै बेचैन हुन पुगेको छ। पक्राउ गरेको १२ दिन भइसक्दा पनि बयान लिन सकेको छैन।
हिरासतमा राख्नका लागि अदालतबाट दोस्रो पटक लिएको म्याद सकिँदा समेत प्रहरीले बेचनलाई बयान दिने बनाउन सकेको छैन। बोल्न नमानेका कारण प्रहरीले लिखित बयान गराउन नसकेको हो।
‘उसले अनेक बहाना बनाउने गरेको छ। अहिलेसम्म लिखित बयान नै लिन सकिएको छैन’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचनबाट थप प्रमाण जुट्ने आस गरेको प्रहरी उनले बयान नदिएपछि निराश बनेको छ। प्रहरीका लागि अनुसन्धान जटिल बनेको छ। बेचन स्वास्थ्यको कारण देखाएर बयानबाट पन्छिइरहेका छन्।
बयान लिन नसकेको प्रहरीले बेचनलाई हिरासतमा राख्न अदालतबाट मंगलबार तेस्रो पटक म्याद थप गराएको छ।
नेपाल प्रहरीको विशेष ब्युरोले बेचनलाई कञ्चनपुरबाट पक्राउ गरेर असार १४ गते साँझ काठमाडौं ल्याएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका उनलाई त्यही राति अस्पताल भर्ना गरियो। वीर अस्पतालमा एक दिन राखेपछि उनलाई पुनः काठमाडौं प्रहरी परिसरमा लगिएको छ। प्रहरीले परिवारका सदस्य र वकिल बाहेकलाई बेचनसँग भेट्न दिइएको छैन।
बयान दिन नमानेका बेचनको मोबाइल फोन प्रहरीले परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ। त्यो फोन उनले कहिलेदेखि प्रयोग गरिरहेका हुन् भन्ने खुलेको छैन। उनले मोबाइल फेरेको र भएका सूचना सबै फर्म्याट गरेको हुन सक्ने आशंकामा प्रहरी प्रमाण खुल्नेमा त्यति आशावादी छैन।
बेचनले प्रमाण लुकाउन खोजे पनि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए।
‘हामीसँग अनुसन्धानका लागि अझै पर्याप्त समय छ। त्यसैले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं,’ रजौरेले भने। प्रहरीले बेचनलाई पक्राउ गरेको मितिले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिज्ञदेखि उच्च तहका कर्मचारीसम्म सम्बन्ध रहेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनको कनेक्सन कांग्रेस नेतृ आरजु राणासम्म भएको भनिएको छ। आरजुसँगको कनेक्सनकै कारण सत्ता फेरबदलका लागि नयाँ राजनीतिक समीकरण भएको सम्मका अभिव्यक्ति सरकारमा रहेका माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले दिइरहेका छन्।
तर, कुन कुन राजनीतिज्ञ र कर्मचारीसँग कस्तो सम्बन्ध तथा यो प्रकरणमा उनको भूमिका के? भन्ने प्रमाण प्रहरीले जुटाउन सकेको छैन।
बेचनले गृह प्रशासनका कर्मचारीदेखि गृहमन्त्रीसम्म पुगेर बिचौलियाहरूलाई भेटाउने काम गरेको र त्यसबापत २ करोड रुपैयाँ लिएको बयान यो प्रकरणमा यसअघि नै पक्राउ परेका अभियुक्तले बयान दिएका थिए।
अभियुक्त रामशरण केसीले ‘मन्त्रिपरिषद् बैठकमा शरणार्थीसम्बन्धी हामीलाई काम लाग्ने निर्णय हुन लागेको छ। निर्णय गराउन बेचन झाले केही रकम मागेका छन्। उनलाई चेक काटी दिनु भनेर सानु भण्डारीले भनेपछि मैले दिएको हुँ’ भनी बयान दिएका थिए।
उनको बयान अनुसार बेचनलाई २०७८ मंसिर ८ गते राति बानेश्वरको ह्वाइट हाउस कलेज छेउमा हिमालयन बैंकको चेक दिइएको हो। तर, लेनदेन नगदमै भएको थियो। त्यसपछि चेक च्यातेको केसीको बयान छ। यसबारे बेचनले बोल्न मानेका छैनन्।
रामशरण २०८० वैशाख २५ मा पक्राउ परेका थिए। यो प्रकरणमा २०८० जेठ १० गते जिल्ला अदालत काठमाडौंमा सङ्गठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखत किर्तेमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझी, सरकारका सचिव टेकनारायण पाण्डे लगायत ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा अहिलेसम्म अन्तिम सुनुवाइ भएको छैन।