विराटनगर । बैंकिङ भुक्तानीबाहेक विराटनगर क्षेत्रमा दैनिक ६ करोडभन्दा बढी भारतीय मुद्रा चाहिन्छ। विगतमा अभावले समस्यामा पर्ने गरेको विराटनगरमा अहिले भारु फालाफालको अवस्था छ।
अस्पतालले १०० भारुलाई सरकारी दरभन्दा कम अर्थात १५७ देखि १५९ नेपाली रुपैयाँमा बिक्री गरिरहेका छन्। दुई महिना अघिसम्म १०० भारुलाई नेरु १६२ मा बिक्री गरिरहेका सटही काउन्टरले अहिले १६० मै दिइरहेका छन्।
हुन्डी कारोबारीलाई नेपालभित्रका कुनै व्यापारिक सहरमा नेरु दिएर त्यसबापत नेपालकै अर्को व्यापारिक सहरबाट भारु लिनुपर्यो भने १०० भारुका लागि १६० नेरु तिर्नुपर्छ। तर, विराटनगरका हुन्डी कारोबारीलाई नेरु दिएर भारतको दिल्ली, कोलकाता, मुम्बई, चेन्नई, पटना लगायत ठूला सहरमा भारु लिनुपर्यो भने १०० भारुको १५८ रुपैयाँ तिरे पुग्छ।
स्रोतका अनुसार नेपाललाई ट्रान्जिट बनाएर दुबई र चीनबाट भारतमा अझै पनि ठूलो परिमाणमा सुन पुगिरहेको छ। यो अवैध धन्दामा नेपाली व्यवसायीभन्दा भारतीय र चिनियाँ बढी संलग्न छन्। साथै, सुन र हुन्डीको कारोबार अन्योन्याश्रित छ। यही कारण नेपालमा भारु सस्तो हुन पुगेको हो।
सुन र हुन्डी बाहेक गाँजा–कारोबारलाई पनि भारु सस्तो हुनुको कारण मानिएको छ। त्यसपछि प्लाइउड र तेस्रो नम्बरमा सीमावर्ती क्षेत्रका अस्पताल हुन्।
सुनसँग दुबईको सम्बन्ध
दुुबईमा हुन्डी व्यवसाय गर्नेहरूको संख्या उल्लेख्य छ। उनीहरू नेपाली युवाले पारिश्रमिकबापत पाएको त्यहाँको मुद्रा दिराम बैंकले तोकेको मूल्यभन्दा थोरै बढी दिएर संकलन गर्दछन्।
ती नेपालीको नेपालस्थित घरसम्म पारिश्रमिक रकम पुर्याउने जिम्मा पनि ती व्यवसायीकै हुन्छ। केही बढी मूल्य पाएका कारण नेपाली युवाले हुन्डी व्यवसायीलाई नै दिराम जिम्मा लगाउँछन्। यो दिराम दुबईमा सुन खरिद गर्न प्रयोग हुन्छ। यही सुन विभिन्न माध्यमबाट नयाँ दिल्ली लगायत भारतका विभिन्न बजारमा पुग्छ। भारतीय बजारमा सुन खरिद गर्नेले भारुमा भुक्तानी गर्छ।
दुबईमा दिराम तिरेर खरिद गरेको सुन भारतमा बिक्री गर्दा पाएको भारुलाई नेपाली रुपैयाँ बनाइन्छ दुबईमा कार्यरत नेपाली युवाको घरसम्म पुर्याउनका लागि। हुन्डी र सुनका ती व्यापारीका कारण नेपालमा भारु सस्तो हुन पुगेको जानकारहरु बताउँछन्।
स्थानीय हुन्डी कारोबारीले नेपालभित्रै एक ठाउँमा लिएको नेरु नेपालको अर्को ठाउँ भारुमा भुक्तानी गर्नुपर्दा १०० भारुका लागि १६० नेरु लिन्छन्। तर, नेपालमा नेरु दिएर भारतका मुख्य सहरमा भारु लिनुपर्यो भने बट्टा तिर्नुपर्दैन। बरु नेरु १५८ यहाँ दिएर भारतका सहरमा १०० भारु लिने सुविधा छ। किनकि हुन्डी कारोबारीलाई वैदेशिक रोजगारीमा रहेका नेपालीका घरमा तिनको पारिश्रमिकबापतको रकम पुर्याउन नेरु तथा भारतका मुख्य सहरमा सुनको भुक्तानीका लागि भारु चाहिएको छ।
भारुको अर्को स्रोत गाँजा
पूर्वी नेपालमा हुने गाँजाको अवैध कारोबार भारुको अर्को मुख्य स्रोत बन्न पुगेको छ। विशेषतः धनकुटा, भोजपुर, तेह्रथुम र खोटाङका जंगल गाँजाका मुख्य क्षेत्र हुन्।
पहाडका जंगलभित्रको गाँजालाई अम्मलीले तराईकोभन्दा राम्रो मान्छन्। पूर्वी पहाडको जंगली गाँजा नेपाली बजारमा किलोको ५ देखि ६ हजारमा बिक्री हुने गरेको छ। यही गाँजाले भारतीय बजारमा २५ देखि ३० हजार भारु पाउने गरेको छ। मूल्यको यही अन्तरका कारण पूर्वी नेपालबाट गाँजा ठूलो परिमाणमा भारततर्फ तस्करी भइ यसबाट प्रशस्त भारु आर्जन हुन पुगेको छ ।
प्लाइउड अर्को कारण
दुई वर्षयता भारततर्फ आक्रामक रूपमा निर्यात भइरहेको प्लाइउड नेपालमा भारु सस्तिने अर्को कारण बनेको छ। भारतमा १२ प्रतिशत जीएसटी तिर्नुपर्ने कारणले गर्दा प्लाइउडको निर्यात न्यून बिजकीकरणमा हुने गरेको छ।
जस्तै, १०० भारुको प्लाइउड भारतीय व्लेयवसायीले ५० भारुको इन्भ्वाइस मगाउने गरेका छन्। उनीहरूले बाँकी रकम नेपाली उद्योगीलाई हुन्डी गरेर भारुमै पठाउने गरेका छन्। एक प्लाइउड उद्योगीले आफूले यसरी पाएको भारु हाल १५८ का दरले बिक्री गरिरहेको बताए।
अस्पताल पनि भारुको स्रोत
मेडिकल हब बनेको विराटनगरमा उपचार गराउने बिरामीमध्ये भारतीयको संख्या अहिले ४५ प्रतिशत छ। गत आर्थिक वर्ष आफूकहाँ उपचार गराएकामध्ये ४५ प्रतिशत भारतीय भएको विराटनगर आँखा अस्पतालले जनाएको छ।
विराटनगरमा विराट र नोबेल गरी २ ठूला मेडिकल कलेज छन्। त्यस्तै विराट, न्युरो, गोल्डेन, आर्या न्युरोलगायत १० ठूला अस्पताल छन्। यसैगरी विराटनगर, विराट, रामलाल गोल्छा, तापडियालगायत १० वटै आँखा अस्पताल छन्। सबै अस्पतालले संकलन गर्ने रकममध्ये ४० देखि ४५ प्रतिशत भारु हो।
भारु सस्तो हुँदा अस्पताललाई मार परेको छ। विराट आँखा अस्पतालका सञ्चालक प्रकाश दाहालले अस्पतालले अहिले १०० भारु १५८.५० नेपाली रुपैयाँमा बिक्री गरिरहेको जानकारी दिए।
गोल्छा आँखा अस्पतालले त अझ सस्तोमा बिक्री गरिरहेको छ। अस्पतालका ट्रस्टी सुरेन्द्र गोल्छाले अस्पतालले १०० भारु १५७.५० नेरुमा बिक्री गरिरहेको बताए।
डिजिटल भुक्तानीका कारण होटलले भने भारु सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता खेप्नुपरेको छैन। ‘हिजोआज धेरै भारतीयले डिजिटल भुक्तानी गर्न थालेका छन्। त्यसैले पहिलेजस्तो नगदै भारु त्यति धेरै जम्मा हुँदैन,’ होटल एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठले बिजमाण्डूसँग भने।
विराटनगरमा चाहिन्छ दैनिक ६ करोड भारु
उद्योगी व्यापारीहरुका अनुसार विराटनगर र आसपासको क्षेत्रलाई मात्र दैनिक ६ करोडभन्दा बढी भारु चाहिन्छ। सीमावर्ती भारतीय बजारमध्ये जोगबनीमा मात्र नेरुमा कारोबार हुन्छ। तर, काँकडभिट्टा पारिको पानीटंकी, भद्रपुर पारिको गलगलिया, भैरहवा पारिको सुनौली, वीरगंज पारिको रक्सौल, नेपालगंज पारिको रुपैडिया लगायत सीमावर्ती बजारमा किनमेल गर्न भारु नै बोकेर जानुपर्छ।
नेरुमा कारोबार हुने जोगबनीका व्यवसायीलाई दैनिक साढे दुई करोड भारु आवश्यक पर्दछ। किनकि उनीहरूले त्यहाँको बैंकमा भारु नै जम्मा गर्नुपर्छ। साथै बिक्री गर्ने मालसामान ल्याउन भारतका अन्य सहरमा उनीहरुले भारु नै पठाउनु पर्छ।
विराटनगरका व्यावसायिक संघसंस्थाले नेपालीले जोगबनीमा चाडबाडको समयमाबाहेक दैनिक ५ करोड नेरु बराबरको किनमेल गर्ने गरेको बताउँदै आएका छन्। नेपालीले किनमेल गर्दा तिरेको नेरुबाट जोगवनीका व्यापारीले विराटनगरका कारोबारीसँग भारु खरिद गर्ने गरेका छन्।
त्यस्तै विराटनगर र आसपासका क्षेत्रबाट दैनिक ५०० को हाराहारीमा भारत जाने गरेका छन्। एक यात्रुले २० हजार भारु लगे ५०० जनालाई १ करोड चाहिन्छ।
नेपाली व्यवसायीलाई भारतीय जोगबनी भन्सारमा दैनिक १ करोड भारु आवश्यक पर्छ। भारतबाट संगठित रूपमा चामल, चिनी, कपडा, बिस्कुट, भुजिया सहितका एफएमसीजीको अवैध आयात यतिबेला मौलाएको छ। यी वस्तुको अवैध आयात फारबिसगन्ज, कटिहार, गुलाबबाग लगायत बजारबाट हुने गर्दछ। र, यस्ता वस्तुका अवैध आयातकर्ताले ती सहरका व्यापारीलाई भारतीय मुद्रामै भुक्तानी गर्छन्। अवैध रुपमा हुने आयातका लागि विराटनगरबाट मात्र दैनिक १ करोड भारु भन्दा बढी रकम ती सहरमा पुग्ने गर्छ।
यसैगरी भारतका विभिन्न सहरबाट व्यापारिक मालसामान बोकेर दैनिक २०० सवारीसाधन विराटनगर आउँछन्। एउटा सवारीसाधनलाई ढुवानी भाडा ३० भारु हजार दिनुपर्छ। यस हिसाबले ढुवानीमा ६० लाख भारु खर्च हुन्छ।
विराटनगर र आसपासको क्षेत्रलाई दैनिक ६ करोड भारु चाहिनेमा आपूर्ति धेरै भएका कारण सरकारले तोकेको भन्दा कम मूल्यमा बिक्री भइरहेको छ।