काठमाडौं। अफ सिजनले व्यवसाय नै प्रभावित भएपछि पोखरास्थित तीन तारे होटल क्राउन हिमालयजले फुड डेलिभरी सुरु गर्ने भएको छ।
होटलमा पर्यटक निकै कम भएपछि १२ थरी मःमः सँगै होटलमा तयार हुँदै आएको परिकार फुडमाण्डू र फुडमुडमार्फत डेलिभरी गर्ने तयारी गरेको संचालक आग्रह अर्यालले जानकारी दिए।
‘पोहोरको तुलनामा यो वर्ष पर्यटक निकै कम छन्। अकुपेन्सी २० प्रतिशतबाट तल झरेको छ,’ संचालक अर्यालले भने,’त्यही भएर हामीले केही महिना फुड डेलिभरी गर्ने योजना बनाएका हौं।’
होटलले मंगलबारबाट परिकार डेलिभरी सेवा सुरु गर्ने तयारी गरेको हो। अफ सिजनका कारण व्यापार खस्किएपछि होटलले कर्मचारीलाई आलोपालो काम गर्ने गरी तलबी विदामा राख्न सुरु गरिसकेको छ। अर्यालका अनुसार होटलमा हाल ३० जना कर्मचारी कार्यरत छन्।